सुर्खेत– कर्णाली प्रदेश सरकारमा दुई जना मन्त्रीहरुले शपथ लिएका छन्। सामाजिक विकास मन्त्रीमा यज्ञबहादुर विसी र उर्जा तथा जलस्रोत मन्त्रीमा दीनबन्धु श्रेष्ठले शपथ लिएका हुन्।
प्रदेश प्रमुख गोविन्द्रप्रसाद कलौनीले पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। दुबै जना नेपाली कांग्रेसबाट मन्त्री बनेका हुन् । वैशाख ३ गते मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएको कांग्रेस झण्डै दुई महिनापछि सरकारमा सहभागी भएको हो।
२०७४ सालयता नेपाली कांग्रेसले कर्णालीबाट सत्तारोहण सुरु गरेको छ। संघीयतापछि प्रदेशमा कांग्रेस पहिलो पटक सरकारमा सहभागी भएको हो। सरकारमा सहभागी मन्त्रीहरुलाई कांग्रेसले विभिन्न १३ बुँदे आचारसंहिताले बाँधेको छ ।
जसमा आर्थिक अनुशासन कायम गर्नुपर्ने, स्वच्छता, मितव्ययितता, सादा जीवनशैली अपनाउनुपर्ने, दान, उपहार, पुरस्कार, चन्दा वा निजी सेवासुविधा, लाभ र अस्वभाविक निमन्त्रणालाई स्वीकार गर्न नपाइने आदि आचारसंहितामा उल्लेख छ।