शुक्रबार, वैशाख ७, २०८१

कमलका सेता फूलले छोपेको पर्यटनोन्मुख बेहडाबाबा

धार्मिक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर। धनगढी उपमहानगरपालिका-१६, रामपुरस्थित यो मन्दिर सुदूरपश्चिमको मात्रै होइन देशकै धरोहर हो। 
 |  आइतबार, जेठ २३, २०७८

भीम चौधरी

भीम चौधरी

आइतबार, जेठ २३, २०७८

धनगढी - धार्मिक आस्थाको केन्द्र बेहडाबाबा मन्दिर। धनगढी उपमहानगरपालिका–१६, रामपुरस्थित यो मन्दिर सुदूरपश्चिमको मात्रै होइन देशकै धरोहर हो। 

triton college

यहाँ दर्शन गर्नाले मनोकामना पूरा हुने जनविश्वास छ। खासगरी पुत्रलाभदेखि संकटमोचन गर्ने शक्ति बेहडाबाबा मन्दिरमा रहेको विश्वासका साथ प्रत्येक वर्ष गंगा दशहरा मेला लाग्ने गर्दछ। 

मेला भर्न हरेक वर्ष भारतको उत्तर प्रदेशबाट समेत श्रद्धालुहरू आउने गर्छन्। उनीहरूले ‘बेहडाबाबा सच्चे है। मेरी मनोकामनाए पूर्ण हुई,’ लखेको प्रशस्त भेटिन्छ। 

यो मन्दिर रामपुर गाउँको जंगल किनारमा छ। यसको इतिहास निकै पुरानो मानिन्छ। 

बेहडाबाबा मन्दिर।

नयाँ मुलुक भनेर चिनिएको कैलाली, कञ्चनपुर, बाँके र बर्दियाको भूभाग उहिले भारतीयहरूको दबदबा थियो। जंगबहादुर राणाले ब्रिटिस कम्पनीलाई सघाएबापत् प्राप्त भएकाले सो क्षेत्रमा भारतीयहरू आफ्नो हक जमाउन खोज्थे। त्यस क्षेत्रमा घना जंगल भएकाले मानिसहरूको त्यति बसोबास थिएन। 

corrent noodles
Metro Mart

नेपाललाई इस्ट इन्डिया कम्पनीले बक्सिसको रुपमा सो क्षेत्र दिएपछि नेपाली मूलका आदिवासीहरूको बसोबास सुरु भएको बताइन्छ। 

परापूर्वकालमा त्यहाँ शिवलिंग उत्पत्ति भएपछि मन्दिर स्थापना गरिएको कथन छ। भारतीयहरू सो क्षेत्रमा घुम्न आएका बेला शिवलिंग फेला पारेका थिए। 

भारतीयहरू शिवलिंगलाई उखेल्न धेरै पटक प्रयास गरे तर सफल हुन नसकेको बताइन्छ। उखेल्न नसकेपछि भारतीयहरूले फलामको घनले हिर्काएर फुटाउन खोजेका थिए भनिन्छ। 

घनले हिर्काएको चिनो अहिले पनि शिवलिंगको माथिल्लो भागमा देख्न सकिन्छ। धेरै प्रयास गर्दा समेत शिव लिंग उखेलेर भारत लैजान नसकेपछि सोही ठाउँमा मन्दिर स्थापना गरिएको जनविश्वास छ। सुरुमा सानो रुपमा देखिएको शिव लिंगको आकार बढ्दै गएको छ। 

बेहडाबाबा मन्दिरकाे शिवलिंग।

भारतीय पत्रिका अमर उजालाले लेखेको छ, ‘सन् १९५० मा कान्हा नामका भारतीय युवकले पहिलो पल्ट शिव लिंगलाई देखे। उनले शिव लिंगलाई उखालेर आफ्नो घर लैजान खोजे। धेरै प्रयास गर्दा उखेल्न नसकेपछि रिसले उनले बञ्चरोले शिव लिंगमा प्रहार गरे। त्यसपछि शिवलिंग जमिनमा विलिन भयो। बिस्तारै श्रद्धालुको शिवलिंगप्रति आस्था बढ्दै गयो र शिव लिंग बाहिर आउँदै गयो।’ शिव लिंगको उचाइ अहिले करिब सात फिट छ। 

श्रद्धालुहरू मौनी अमवस्या, शिवरात्रि र गंगा दशहरामा बेहडाबाबाको दर्शन गर्न आउने गर्छन्। पहिले भारतीय पुजारी रहेकोमा पछिल्लो समय त्यहाँ आदिवासी थारु पुजारी छन्।

बजेटमा समेटिएपछि उत्साह

बेहडाबाबाको उत्तरतर्फ रहेको बेहडाबाबा ताललाई सौन्दर्यकरण गरी पर्यटकीय गन्तव्यका रूपमा विकास गरिने भएको छ। संघीय सरकारले आथिक वर्ष २०७८/०७९ को बजेटमा बेहडाबाबा ताललाई समेटेपछि यसको विकास अघि बढ्ने अपेक्षा गरिएको छ। 

बेहडाबाबा मन्दिरको ठीक पछाडि रामपुर गाउँको पश्चिमतर्फ रहेको बेहडाबाबा ताल छ। २० हेक्टर क्षेत्रफलमा फैलिएको ताल घनाजंगलले घेरिएको छ। 

जंगलको बीचमा रहेको तालको मध्य भागमा गंगा माताको मन्दिर छ। यसले तालको सुन्दरता अझ बढाएको छ। 

कमलका पातले छोपिएको तालमा जताततै कमलको फूल सेताम्मे देखिन्छन्। तालको छेउमा राखेको डुंगा चढेर कमलका फूलसँग खेल्दै गंगा माताको दर्शन गर्न सकिन्छ। 

मन्दिर दर्शन गर्न आउने दर्शनार्थी र सो क्षेत्र घुम्न आउने पर्यटकको रोजाइमा बेहडाबाबा (महादेवा ताल) पर्ने गरेको छ। केही वर्षअघिसम्म यहाँ माछापालन हुने गरेको थियो। पर्यटकीय सम्भावना बोकेको बेहडाबाबा मन्दिर क्षेत्रमा रहेको तालमा माछापालन गर्दा नकारात्मक प्रभाव पर्न थालेपछि २०७० देखि माछापालन बन्द गरिएको छ। 

मन्दिर व्यवस्थापन समिति अध्यक्ष खेमबहादुर चन्दले माछापालन बन्द गरेर ताललाई व्यवस्थित बनाउने काम सुरु गरेको बताए। अध्यक्ष चन्दले माछापालन बन्द गरेर कमलका पात बिक्री गर्दै आएको बताए। 

पहिले पात प्रतिकट्ठाको ५० रूपैयाँका दरले बिक्री गरिन्थ्यो। विगत तीन वर्षदेखि प्रतिपात ५० पैसामा बिक्री गरिरहेको चन्द बताउँछन्। 

‘ताल आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको छ,’ चन्दले भने, ‘सडकको पहुँच, विद्युत् सेवा, पर्यटकका लागि सुविधायुक्त आवास तथा प्रचारप्रसारको कमीका कारण बाह्य पर्यटक भित्र्याउन सकिएको छैन।’ 

गंगामाता मन्दिर।

धनगढी उप–महानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले बेहडाबाबा मन्दिर र ताललाई व्यवस्थित गर्न तालसम्म जोड्ने सडक निर्माणदेखि तटबन्ध निर्माण कार्य धमाधम भइरहेको बताए। उनले धनगढी–बेहडाबाबा–महादेवा तालसम्मको १५ किलोमिटर रिङरोड निर्माण कार्य भइरहेको जानकारी दिए।

ताल संरक्षक भुवनलाल चौधरीले ताल र मन्दिरमा विगतभन्दा निकै परिवर्तन आएको बताए। उनले सो क्षेत्रमा आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको प्रतिक्रिया सकारात्मक रहेको उनको भनाइ छ। 

उपमहानगरपालिका र मन्दिर व्यवस्थापन समितिले व्यवस्थापनको कामलाई तीव्रता दिइरहेको भए पनि अझै पूर्णरूपमा व्यवस्थित हुन समय लाग्ने उनी बताउँछन्। 

सघन सहरी विकास आयोजना र धनगढी उपमहानगरपालिकाको संयुक्त लगानीमा खानेपानी, सडकलगायतका कामलाई तीव्रता दिइएको छ।

यसरी पुग्ने बेहडाबाबा

बेहडाबाबा जाने बाटाे।

धनगढी सदरमुकामबाट करिब १० किलोमिटर उत्तरपूर्व र पूर्वपश्चिम राजमार्गको चौमालाबाट करिब ५ किलोमिटर दक्षिणमा बेहडाबाबा मन्दिर छ। 

धनगढीबाट बेहडाबाबा मन्दिर जाँदा बाटोमा दुईवटा नदी पर्छ। खुटिया नदीमा यो वर्ष पक्की पुल बनेको छ भने शिव गंगामा पुल नहुँदा श्रद्धालुहरूलाई मन्दिरसम्म पुग्न असहज छ। 

मन्दिर पुग्न करिब दुई किलोमिटर ग्राभेल र अरू कालोपत्रे सडक छ। शिव गंगा नदी तरेपछि करिब दुई किलोमिटर कच्ची सडक भएर त्यहाँ पुग्न सकिन्छ।

तर, यसपालि पनि गंगा दशहरा मेला नलाग्ने संकेत देखा परेको छ। महामारीको प्रभावका कारण यस वर्ष असार ६ गते परेको मेला लाग्ने सम्भावना नरहेको स्थानीय भोजबहादुर चौधरी बताउँछन्। ‘गत वर्ष पनि लागेन, यो वर्ष पनि सम्भावना कम छ,’ उनले भने। 

प्रकाशित: Jun 06, 2021| 05:36 आइतबार, जेठ २३, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।