काठमाडौं- अष्ट्रेलिया सरकारले नेपाली सेनालाई कोरोनाविरुद्ध प्रयोग हुने स्वास्थ्य सामग्री सहयोग गरेको छ।
अष्ट्रेलियाका राजदूत फैलीसिटी जेन भोल्कले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रममा शनिबार सरकारले दिएको स्वास्थ्य सामग्रीहरु सेनालाई हस्तान्तरण गरेकी छन्। नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्माले अस्ट्रेलिया सरकारले उपलब्ध गराएको स्वास्थ्य सामग्री बुझेका छन्।
सामग्री बुझ्दै शर्माले अष्ट्रेलियाले गरेको सहयोगप्रति आभार तथा धन्यवाद प्रकट गरे। कोभिड–१९ को प्रतिकार्यका लागि नेपाली सेनाबाट तैनाथ गरिने स्वास्थ्यकर्मीहरुको सुरक्षार्थ आवश्यक पर्ने उक्त स्वास्थ्य सामग्रीहरु अष्ट्रेलियन एयर फोर्सको जहाजमार्फत् शनिबार मात्रै नेपाल आइपुगेको हो।