काठमाडौं- नेपाल वायु सेवा निगमले खाडी मुलुकका नाफाखोर विमान कम्पनीहरूसँग प्रतिस्पर्धा गर्ने तयारी थालेको छ । आगामी दुई महिनाभित्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसक्ने वाइड बडी विमानहरूबाट खाडी मुलुकमा 'मार्केट सेयर' बढाउने निगमको तयारी छ ।
निगम प्रवक्ता रविन्द्र श्रेष्ठका अनुसार तत्काललाई संयुक्त अरब इमिरेट्सको दुबई, साउदी अरेबियाको रियाद र कतारको दोहाका गन्तव्यमा ती विमान उड्नेछन् । दुई वटा वाइड बडी आइसकेपछिको व्यापारको आकार कत्रो हुनेछ भन्नेबारे निगम व्यवस्थापन 'क्याल्कुलेसन'मा लागेको छ ।
'अहिले नै व्यापारको आकारका बारेमा केही भनिहाल्ने अवस्था छैन,' श्रेष्ठ भन्छन् । उनका अनुसार हाल दुई वटा न्यारो बडी विमान उडिरहेका गन्तव्यमै वाइड बडीले पनि सेवा दिनेछन् । अर्थात्, नेपाली युवाको श्रम गन्तव्यमै निगमको सेवा केन्द्रित हुनेछ, केही समयका लागि ।
विस्तारै दक्षिणकोरिया र जापानसम्म वाइड बडी विमानबाट सेवा दिने निगमको योजना छ । तर, ती दुवै गन्तव्यका लागि आवश्यक प्रक्रिया पूरा भएको छैन । अमेरिका उड्नुपर्दा न्युयोर्कको गन्तव्यमा निगमको आँखा देखिन्छ ।
चुनौतीपूर्ण प्रतिस्पर्धा
खाडी मुलुकका विमान कम्पनीहरूले संसारभरको व्यापार कब्जा गर्दै लगेका छन् । सबैभन्दा लामो गन्तव्य मात्र होइन, नयाँ-नयाँ प्रविधि भित्र्याएर यात्रीलाई सेवा दिने कुरामा पनि पछिल्ला वर्षमा खाडी मुलुककै विमान कम्पनीहरू अगाडि छन् ।
इमिरेट्स, इत्तिहाद, कतार, कुवेत एयरवेजलगायत मध्यपूर्वका एयरलाइन्सहरूले व्यापारको यति ठूलो आकार तयार पारेका छन् कि एक दशक अघिसम्म त्यस्तै आकारको व्यापार गरिरहेका अन्तर्राष्ट्रिय वायु सेवा कम्पनीहरू धरासायी बन्ने अवस्थामा पुगेका छन् । खाडीका ती विमान कम्पनीहरूलाई सम्बन्धित मुलुकका सरकारले ठूलो परिमाणमा अनुदान दिने गरेका छन् ।
सिंगापुर, कोरियन तथा अमेरिकाका युनाइटेड र डेल्टा एयरलाइन्स मात्र होइन, ब्रिटिस र जर्मनीका सेवा प्रदायकहरूको बजार पनि खाडीका विमान कम्पनीहरूले खुम्च्याउँदै लगेका छन् ।
'ती कम्पनीसँग प्रतिस्पर्धा गर्न निगमलाई सहज छैन,' निगमका एक अवकाशप्राप्त अधिकारी भन्छन्, 'हाम्रो तुलनामा उनीहरूलाई इन्धनको खर्च नै कम पर्छ ।'
उनको भनाइमा क्षेत्रीयस्तरको 'क्यारियर'मा जमेर बस्न सकेको भए निगमको भविष्य राम्रो हुन सक्थ्यो । ठूला कम्पनीसँग प्रतिस्पर्धामा उत्रिन चुनौतीपूर्ण रहेको उनी बताउँछन् । नेपाली कामदार ओसार्नेबाहेकको बजार सिर्जना गर्न निगम असफल रहेको उनको ठम्याइ छ ।
'हामी सानो देशको सानो एयरलाइन्स हौं,' उनी भन्छन्, 'एयर इन्डियाजस्तो ठूलो कम्पनीलाई बिक्री गर्ने भारत सरकारको सोच पनि खरिदकर्ता नभेटेर सफल भएको छैन ।'
निगमसँग वाइड बडी उडाउने क्याप्टेनहरू नै छैनन्, अहिले । त्यसैले तत्कालका लागि विदेशी पाइलट 'हायर' गर्नैपर्ने बाध्यता छ । अर्थात्, वाइड बडी विमानको ककपिट कमान्ड केही समय विदेशी पाइलटले नै सम्हाल्नेछन् ।
विमान काठमाडौं उत्रिने मिति नजिकिँदै गर्दा निगमले पाइलटहरूको टुंगो लगाइसकेको छैन । 'हायर गर्ने प्रक्रियामै छौं,' प्रवक्ता श्रेष्ठ भन्छन् ।
तयार भएनन् नेपाली पाइलट, वाइड बडीको ककपिट कमान्डमा विदेशी नै हुने
फ्लिटको प्रकार घटाउँदै, संख्या बढाउँदै
एउटा बोइङ-७५७ निगमले बिक्री गरिसकेको छ, अर्को पनि बिक्रीको तयारीमा छ । बोइङको फ्लिटबाट त्यसपछि निगम बाहिरिनेछ । ती दुवैको साटो एयरबसका दुई वटा न्यारो बडी विमान ल्याउने योजना निगमले अगाडि सारेको हो ।
दुई वटा न्यारो बडी डेढ वर्षपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराइसकिने निगमका प्रवक्ता श्रेष्ठ बताउँछन् । त्यो भनेको सन् २०१९ को अन्तिम समय हो । नयाँ विमान नै ल्याउने निगमको तयारी छ । डेढ वर्षपछिको मूल्य पर्ने भएकाले अहिले नै कति खर्च हुने भन्ने यकिन भइसकेको छैन ।
हाल निगमसँग भएका विमान 'एयरबस ३२०-२०० ई' सिरिजका हुन् । नयाँ ल्याउन लागिएका विमान भने 'एयरबस ३२०-एनईओ' सिरिजका हुनेछन् । इन्धन खपतका हिसाबबाट एनईओ सिरिजका जहाज यसअघिका भन्दा मितव्ययी हुनेछन् । श्रेष्ठका अनुसार ती विमानमा जडित इन्जिन अत्याधुनिक भएकाले इन्धन खपत कम हुन्छ । र, माइलेज बढी दिन्छन् ।
दुई वटा वाइड बडी विमानमध्ये एउटाको मूल्य १० करोड ९० लाख डलर (१० अर्ब ९० करोड रुपैयाँ) पर्नेछ । दुवैको गरी २१ अर्ब ८० करोड रुपैयाँ निगमले ती विमानका लागि लगानी गर्दैछ ।
एउटा वाइड बडी असार दोस्रो या तेस्रो सातासम्ममा त्रिभुवन विमानस्थलमा अवतरण गरिसक्ने श्रेष्ठ बताउँछन् । त्यसको डेढ महिनापछि अर्को वाइड बडी अवतरण हुनेछ ।
थप दुई वटा न्यारो बडी पनि आइसकेपछि निगमको व्यापार ०४६/०४७ सालकै अवस्थामा पुग्नेछ । त्यतिबेला निगमसँग दुई वटा बोइङ-७२७, दुई वटा बोइङ-७५७, एक एयरबस-३१० र एक बोइङ-७४७ विमान थिए ।
त्यसयता निगम राजनीतिक हस्तक्षेपका कारण थिलथिलो बन्यो । काण्डै, काण्डको अखाडा बनाइयो, निगमलाई । आगामी दिनमा विगतको बजार ब्युँताउने र नयाँ मार्केट सेयर बढाउने दुवै रणनीतिमा देखिन्छ, निगम ।
६ वटै विमान नियमित सञ्चालनमा ल्याउन निगम सफल भयो भने अहिले बजारमा रहेको विदेशी विमान कम्पनीहरूको मनोमानी पनि घट्ने अपेक्षा छ । किनभने, निगमले लिने भाडा विदेशी कम्पनीको भन्दा सस्तो पर्नेछ ।
आन्तरिक उडानतर्फ अहिले दुई वटा ट्विनअटर सञ्चालनमा छन् । एउटा ट्विनअटर भने ग्राउन्डेड छ । चीनमा निर्मित् चार वटा वाई-१२ ई जहाज सञ्चालनमा छन् । र, चीनबाटै आएका दुई वटा एमए-६० जहाज पनि सञ्चालनमा छन् ।
यात्री र स्पेयर पार्ट्सको अभावमा चिनियाँ जहाजहरूबाट निगमले नाफाभन्दा बढी घाटा नै बेहोर्दै आएको छ ।
'फ्लिट'को प्रकार घटाउँदै 'मल्टी फ्लिट'बाट बाहिरिने निगमको योजना छ । एउटा फ्लिटका जनशक्ति अर्कोमा काम नलाग्ने भएकाले पनि निगमले प्रकार घटाउने योजना अगाडि सारेको हो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४