शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ओलीका कृपापात्र महासेठ : एक दशकभित्रै सांसददेखि उपप्रधानमन्त्रीसम्म

ओलीका कृपापात्र महासेठ : एक दशकभित्रै सांसददेखि उपप्रधानमन्त्रीसम्म

उदयपुर सिमेन्टको जीएम पदबाट हटेसँगै महासेठले एमालेको सक्रिय राजनीतिलाई तीव्रता दिए। सक्रिय राजनीतिमा लागेपछि महासेठको गुट परिवर्तनको खेल सुरु भयो।
 |  शनिबार, जेठ २२, २०७८

जयन्त ठाकुर

जयन्त ठाकुर

शनिबार, जेठ २२, २०७८

जनकपुरधाम- प्रधानमन्त्री केपी शर्मा ओलीले जनता समाजवादी पार्टीको ठाकुर-महतो पक्षका नेताहरुलाई सहभागी गराएर कामचलाउ सरकारको मन्त्रीमण्डल विस्तार गरेका छन्। विस्तार गरिएको मन्त्रीमण्डलमा धनुषाले ३ मन्त्री पाएको छ। धनुषा निर्वाचन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभामा विजयी भएका राजेन्द्र महतो र क्षेत्र नम्बर ४ बाट विजयी भएका रघुवीर महासेठले उपप्रधानमन्त्री पद पाएका छन्। यी दुईलाई उपप्रधानमन्त्रीसहित सहरी विकास मन्त्रालय र परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै धनुषा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी भएका उमाशंकर अरगरियालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बनाइएको छ।

triton college

तर तीनैजना मन्त्रीमध्ये सबैभन्दा बढी चर्चा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाएका रघुवीर महासेठको भइरहेको छ। ओली मन्त्रिपरिषदमा कोही अटाओस् वा नअटाओस् रघुवीर वा उनकी श्रीमती जुली महासेठ अटाएकै कारण महासेठको चर्चा सबैभन्दा बढी भइरहेको छ। नयाँ विस्तारित विस्तारका क्रममा जुली महतोको बहिर्गमन भएपछि महासेठले परराष्ट्र मन्त्रालयजस्तो महत्वपूर्ण मन्त्रालयका साथै उपप्रधानमन्त्रीको पद पाएका छन्।  

महासेठको राजनीतिक पारी त्यति प्रभावशाली नरहे पनि एक दशकभित्रै सांसद हुँदै उपप्रधानमन्त्रीसम्मको यात्रा देखेर कयौँ चकित छन्। नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुबाटै राजनीति सुरु गरे पनि राजनीतिमा महासेठको खासै सक्रियता भने थिएन। 

सक्रिय राजनीतिमा लागेपछि महासेठको गुट परिवर्तनको खेल सुरु भयो। केही समय उनी उनी माधव नेपालको साटो वामदेव गौतमको विश्वास पात्रको रुपमा एमालेभित्र आफ्नो स्थान बनाए।

भारतको राँचीस्थित बीआईटी कलेजबाट इन्जिनियरिङको अध्ययन सकेर जागिरको शिलशिलामा इलाम पुगेपछि उनको राजनीतिले केही गति लिएको थियो। महासेठले इलाममा एमालेको सक्रिय राजनीति गरेको एमाले धनुषाका नेताहरु बताउँछन्। इलाममा नेता झलनाथ खनालसँग महासेठको घनिष्ठता बढ्दै गयो। यद्यपि त्यो समयमा उनको माधवकुमार नेपालसँग पनि सामिप्यता बढ्दै गएको थियो। राजनीतिमा सक्रियता बढ्दै जान थालेपछि महासेठको जागिर नै धरापमा पर्न थाल्यो। पछि माधव नेपालको सक्रियतामा महासेठ उदयपुर सिमेन्टको निर्देशक बने।

उदयपुर सिमेन्टको जीएम बनेपछि नेपालको ठूलै धनाढ्य व्यापारीमध्येका एक उपेन्द्र महतोको बहिनी जुलीकुमारी महतोसँग उनको विवाह भयो। विवाहसँगै महासेठको राजनीतिक करियरले उडान लिन सुरु गरिसकेको थियो। उदयपुर सिमेन्टको जीएम पदबाट हटेसँगै महासेठले एमालेको सक्रिय राजनीतिलाई तीव्रता दिए। सक्रिय राजनीतिमा लागेपछि महासेठको गुट परिवर्तनको खेल सुरु भयो। केही समय उनी उनी माधव नेपालको साटो वामदेव गौतमको विश्वास पात्रको रुपमा एमालेभित्र आफ्नो स्थान बनाए।

corrent noodles
Metro Mart

महासेठ वि.सं. २०५४ सालमा एमाले विभाजन हुँदा मालेको केन्द्रीय सदस्यसमेत बनेका थिए। एमालेको २०५९ सालको सातौं महाधिवेशनबाट महासेठ केन्द्रीय सदस्य बने। आठौं महाधिवेशनमा भने उनी केन्द्रीय सदस्य पदमा पराजित भएका थिए। त्यो समयमा उनी ओली इतरको समूहमा थिए।

लामो समयसम्म एमालेभित्र वामदेव गौतमको विश्वास पात्रको रुपमा रहेका महासेठ २०७१ मा सम्पन्न एमालेको नवौँ महाधिवेशनमा सचिव पदको उम्मेदवार बने तर पराजित भए। सचिव लडेका महासेठ केन्द्रीय सदस्य पदमासमेत पराजित भए।

एमालेमा पदाधिकारीको उम्मेदवार हुनेले केन्द्रीय सदस्यमा समेत उम्मेदवार बन्न पाउने व्यवस्था छ। पदाधिकारी पराजित भए केन्द्रीय कमिटीबाट नबाहिरिउन् भन्ने उद्देश्यसहित दोहोरो उम्मेदवारीको व्यवस्था गरिएको थियो। तर महासेठ दुवै पदबाट पराजित भएका थिए।

महासेठले ओलीसँग निकटता बढाएपछि लाभ लिन थालेका हुन्। २०६४ सालमा भएको संविधानसभा निर्वाचनमा धनुषा निर्वाचन-४ बाट चुनाव लडे। तर उनलाई तत्कालीन फाेरमका नेता संजय साहले पराजित गरेका थिए। पछि धनुषा-५ बाट निर्वाचित भएका डा. रामवरण यादव नेपालको प्रथम राष्ट्रपति भएपछि त्यो निर्वाचन क्षेत्रमा उपनिर्वाचन भयो। महासेठ पहिलो पटक निर्वाचित भएर संसदसम्मको यात्रा तय गरे।

महासेठ राजनीतिमा त्यति प्रभावी नेता नभए पनि ओलीको विश्वास पात्रको रुपमा स्थान बनाउन सकेकै कारण पटकपटक मन्त्रीमण्डलमा उनलाई वा उनकी श्रीमतीलाई स्थान दिईदै आएको एमालेभित्रकै केही नेताहरु बताउँछन्।

सांसद बनेलगत्तै महासेठ झलनाथ खनाल नेतृत्वको सरकारमा २०६७ साल फागुन १ गते पहिलो पटक नेपाल सरकारको मन्त्रीमण्डलमा स्थान पाए। उनलाई सिँचाइ मन्त्रीको जिम्मेवारी दिइएको थियो। महासेठको सिँचाइ मन्त्रालयको कार्यकाल ६ महिनाससम्म मात्रै टिक्यो। संविधान जारी भएपछि २०७४ सालमा भएको निर्वाचनमा धनुषा-५ बाटै नेपाली कांग्रेसका नेता आनन्द ढुंगानालाई पराजित गर्दै उनी विजयी भए। निर्वाचनपछि ओली नेतृत्वको सरकार गठन हुँदा महासेठलाई २०७४ चैत २ गते भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी दिइएको थियो।

प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ पुस ५ गते प्रतिनिधिसभा विघटन गरेपछि गरेको मन्त्रीपरिषद फेरबदलमा महासेठले स्थान पाएनन्। तर उनकी श्रीमती जुली महासेठलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइयो। अहिले आएर फेरि ओलीले महासेठलाई परराष्ट्र मन्त्रालय जस्तो महत्वपूर्ण मन्त्रालयका साथै उपप्रधानमन्त्रीको जिम्मेवारी दिएका छन्। ओली सरकारमा श्रीमानश्रीमती नै ओलोपालो मन्त्री बनाइपछि सीमित व्यक्ति र परिवारलाई मात्र स्थान दिइएको भन्दै पार्टीभित्र ओलीसँगै महासेठको पनि आलोचना भइरहेको छ।

महासेठ राजनीतिमा त्यति प्रभावी नेता नभए पनि ओलीको विश्वास पात्रको रुपमा स्थान बनाउन सकेकै कारण पटकपटक मन्त्रीमण्डलमा उनलाई वा उनकी श्रीमतीलाई स्थान दिईदै आएको एमालेभित्रकै केही नेताहरु बताउँछन्। जुली जति पनि क्षमता नभए रघुवीरले पटकपटक मन्त्री पद हत्याएका छन्। 

यता ओली क्याबिनेटमा सबैभन्दा धनाढ्य मन्त्रीको रुपमा महासेठ नै हुन्। उनी एमाले पार्टीको दाताको रुपमासमेत रहेकाले सोही ऋण उतार्नका लागि ओलीले मन्त्रीमण्डल जतिपटक फेरबदल गरेपनि श्रीमान वा श्रीमतीमध्ये कुनै एकजनालाई मन्त्रीमण्डलमा स्थान दिनुपर्ने बाध्यतामा ओली रहेको कतिपयको एमाले नेताहरूकै भनाइ छ। 

प्रकाशित: Jun 05, 2021| 09:01 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।