बिहीबार, वैशाख १३, २०८१

रक्षात्मक खेल छोडेर आक्रमणमा उत्रिएको नेपाली फुटबल

कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार राति पहिलो जित निकाल्यो। त्यो जितलाई नेपालले आक्रामक फुटबल खेल्दा निस्किएको परिणामको रुपमा स्वीकार गरिएको छ।
 |  शनिबार, जेठ २२, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, जेठ २२, २०७८

काठमाडौं– कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपाली राष्ट्रिय फुटबल टिमले बिहीबार राति पहिलो जित निकाल्यो। त्यो जितलाई नेपालले आक्रामक फुटबल खेल्दा निस्किएको परिणामको रुपमा स्वीकार गरिएको छ।

triton college

बिहीबार राति प्रशिक्षक अलुमताइरीको घरेलु मुलुक कुवेतको जबर अल–अहमद रंगशालामा भएको खेलमा नेपालका तर्फबाट खेलको तेस्रो मिनेटमै फरवार्ड अञ्जन विष्टले पेनाल्टीमार्फत गोल गरेका थिए। विष्टको गोलसँगै पहिलो हाफमा नेपालले चाइनिज ताइपेइविरुद्ध १–० गोलको अग्रता बनाएको थियो।

दोस्रो हाफमा मैदान छिरेका नवयुग श्रेष्ठले गोल गरेपछि नेपालले २–० गोलको जित निकालेको हो। नेपाली टिमका कप्तान किरण कुमार लिम्बूले नयाँ प्रशिक्षक आएसँगै नेपाली टिमका खेलाडीमा आत्मविश्वास बढेको बताएका छन्। उनले राष्ट्रिय टिमको १३ वर्षे यात्रामा अहिले सबैभन्दा राम्रो फुटबल खेलेको दाबी गरे।

‘ताइपेइविरुद्ध पहिलो लेगको तुलनामा दोस्रो लेगमा नयाँ प्रशिक्षक र नयाँ टिमका साथ नवीन फुटबल खेलेको महसुस गरेको छु। अहिले सबै खेलाडीमा आत्मविश्वास भरिएको छ। प्रशिक्षकले प्रेरणा दिनुभएको छ,’ कप्तान लिम्बूले पहिलो लेग र रिटर्न लेगको खेल तुलना गर्दै भने।फुटबल त आखिर टिम गेम नै हो। एक जनाको इफोर्टभन्दा टिमको प्रेरणा र आत्मविश्वासले धेरै महत्व राख्छ फुटबलमा। आफ्नो टिममेट प्रतिको विश्वास नै जितको पहिलो खुड्किलो हो।

यी कुरालाई गमेका कप्तान लिम्बू अहिले नेपालले फाइटिङ फुटबल खेलेको बताउँछन्। भन्छन्, ‘हामीले फाइटिङ फुटबल खेलिरहेका छौं। मैले राष्ट्रिय टिमबाट खेलेको १३–१४ वर्ष भसक्यो। तर अहिलेको प्रशिक्षकले नेपाली खेलाडीको आत्मविश्वास लिएर आएको जस्तो लाग्छ।’
त्यसअघिका खेलमा नेपाली टिमले ठूला टिमविरुद्ध रक्षात्मक फुटबल खेल्दै आइरहेको थियो। त्यसको नतिजा थियो– अष्ट्रेलिया, जोर्डन, कुवेतलगायत टिमविरुद्ध गोल फर्काउन नसक्नु।

corrent noodles
Metro Mart

पहिलो लेगको खेलमा नेपालले अष्ट्रेलियासँग ५–० गोलको हार बेहोरेको थियो भने जोर्डनसँग ३–० गोलको। कुवेतसँग पहिलो लेगमा ७–० गोल र रिटर्न लेगमा १–० गोलको हार बेहोरेको नेपाली टिम अहिले ठूला देशसँग पनि आक्रामक फुटबल खेल्ने रणनीति लिएको छ।

कप्तान लिम्बू भन्छन्, ‘नेपाली खेलाडीले ठूलो देशविरुद्ध पनि अट्याकिङ फुटबल खेल्न सक्छ भन्ने कन्सेप्ट अहिलेको प्रशिक्षकको छ। अट्याकिङमा पनि राम्रोे फुटबल खेल्न सक्छौं भन्ने भावना  खेलाडीको दिमागमा जागृत छ। त्यो फुटबलको सुन्दर कुरा हो। र, त्यसले अहिलेको फुटबलमा छोटो समयको अभ्यासले नै राम्रो सफलता हात पारेको छ।’

उनले थपे, ‘मेलै राष्ट्रिय टिमबाट १३ वर्षपछि राम्रो फुटबल खेल्न पाएँ। पहिलेको फुटबलभन्दा धेरै राम्रो देखियो यो शैली। सबै खलाडीको मनमा आइसकेको छ– हामी ठूलो टिमलाई पनि अट्याक गर्न सक्छौं। एन्ड, वि क्यान स्कोर।’

तर आक्रामक खेल्दा खेल्दै पनि इराकविरुद्धको खेलमा नेपालले ६ गोलको सामना गरेको थियो। जहाँ नेपालले धेरै गोल आफ्नै गल्तीले खायो। त्यसलाई मैत्रीपूर्ण खेलको एक हिस्सा भन्न कप्तान लिम्बू रुचाउँछन्।

भन्छन्, ‘इराकविरुद्धको खेलभन्दा ताइपेइविरुद्धको खेल महत्वपूर्ण थियो। जसको हामीले सदुपयोग गर्यौँ। मैत्रीपूर्णमा टिमको अवस्था जाँच गर्न खेलिन्छ। त्यसलाई हेरेर सुधार गर्नुपर्छ।’

टिममा सम्भावना बोकेका नयाँ खलाडी

प्रशिक्षक अलमुताइरीले अहिलेको स्क्वाडमा ६ नयाँ खेलाडी लिएका थिए। जसलाई सम्भावना बोकेका नयाँ खेलाडी भन्न रुचाउँछन् कप्तान लिम्बू। भन्छन्, ‘नयाँ खेलाडीहरु पोटेन्सियल भएका छन्। उनीहरु टिममा आउन योग्य छन्।’

अहिले राष्ट्रिय टिममा प्रवेश गर्न निकै फाइट बढेको कप्तानको ठम्याइ छ। उनी राष्ट्रिय टिमका सबै पोजिसनका लागि अहिले धेरै फाइट भइरहेको बताउँछन्।

‘प्रतिस्पर्धा हुनु धेरै राम्रो हो। यसले आउँदा दिनमा नेपाली फुटबललाई प्रभाव पार्छ। एकदमै कम्पिटिसन बढ्नु भनेको राष्ट्रिय टिम भविष्यमा अझै राम्रो हुनु हो,’ उनले भने। खेलाडीका लागि सधैं राम्रो दिन नहुने भन्दै कप्तान लिम्बु गल्ती हुँदैमा आलोचना नगर्न अनुरोध गर्छन्।

लिम्बू भन्छन्, ‘हामी धेरै आलोचना गर्छौं। नेपाली फुटबलको आलोचनामात्र नगर्न अनुरोध गर्न चाहन्छु। हामी हरेक क्षणमा देशका लागि राम्रो गर्ने उद्देश्यले खेलिरहेका हुन्छौं। तर कोही–कोही बेला सबैबाट गल्ती हुन्छ। खेलाडीलाई ब्लेम गर्दा कति खेलाडीले त्यस्तो कुरालाई विषेश रुपमा लिन्छन्, सहन सक्दैनन्। जसले राम्रो खेलाडी डिमोटिभेट हुने सम्भावना हुन्छ। कहिलेकाहिँ मिस्टेक हुन्छ। प्लिज! खेलाडीलाई ब्लेम नगर्नुस्।’

सबैलाई आशावादी बन्न अनुरोध गर्दै कप्तानले नेपाली फुटबल अर्को श्रेणीमा पुग्ने विश्वास व्यक्त गरेका छन्। भन्छन्, ‘नेपाली फुटबललाई माया गर्नुहोस्। एक परिवार भएर अघि बढ्यौँ भने नेपाली फुटबल अर्को स्तरमा जान्छ। समर्थकको माया, प्रेमले खेलाडीलाई प्रेरणा मिल्छ। मलाई विश्वास छ, अब समर्थकले सकारात्मक र उर्जावान सन्देश दिनेछन्। तर अझै धेरै गर्नु छ। दुई ठूलो खेल बाँकी नै छ। आउँदा खेलमा पनि जित निकाल्ने कोसिस गर्नेछौं।’

आफ्नो गोलभन्दा देशको जित ठूलो : अञ्जन

बिहीबारको खेलमा नेपालका लागि सुरुआती गोल गर्न सफल विष्ट आफ्नो गोलभन्दा टिमको जित महत्वपूर्ण रहेको बताउँछन्। फरवार्ड विष्ट भन्छन्, ‘आफूले गोल गर्ने भन्दा पनि टिमले जित निकाल्ने लक्ष्य थियो। त्यसका लागि प्रशिक्षकलले बनाएको रणनीति अनुसार हामी खेल्न सफल भयौँ। जितको मानसिकता लिएर मैदानमा गएपछि जित्नका लागि खेल्छौं। गोल त्यसको बाइप्रोडक्ट हो। जित्नै छ भने गोल हान्नैपर्छ। हिजो मैले गरेँ, अरुबेला अन्य खेलाडीले गर्छन्।’

गोल गर्नकै लागि मैदानमा जाने भएकालै खेलमा प्रेसर नलिने फरवार्ड विष्ट बताउँछन्। उनी भन्छन्, ‘खेल्दा प्रेसर लाग्दैन। पोजिसन नै त्यही छ। हिजो भनेअनुसार गोल निस्कियो। सजिलो भयो।’

तुलनात्मक रुपमा पहिलो र दोस्रो लेगमा के फरक छ? विष्ट भन्छन्, ‘कोचले सिकाउने शैली र हामीले खेल्ने फर्म्याट फरक छ।’ विष्टले चाइनिज ताइपेइविरुद्ध पहिलो लेगको खेलमा पनि दुई गोल गरेर नेपाललाई जित दिलाएका थिए।

खेलाडीलाई दबाब नदिन प्रशिक्षकको अनुरोध

चाइनिज ताइपेइ तुलनात्मक रुपमा केही कमजोर प्रतिद्वन्दी भए पनि अब नेपालले जुन ७ र ११ तारिखमा जोर्डन र अष्ट्रेलियासँग खेल्दैछ। ती खेलमा नेपालले निकै बलिया प्रतिस्पर्धीको सामना गर्नुपर्नेछ। त्यसका लागि थप तयारी गर्ने खेलाडीदेखि प्रशिक्षकसम्मको अठोट छ। त्यसका लागि मानसिक रुपमा तयार रहनुपर्ने प्रशिक्षक अलमुताइरी बताउँछन्।

प्रशिक्षक अलमुताइरीले फेसबुकमा स्टाटस लेख्दै खेलाडीलाई दबाब नदिन अनुरोध गरेका छन्। ‘हामीले पछिल्लो खेलको नतिजा पाइसकेका छौं। अब म तपाईंलाई के अनुरोध गर्छु भने कृपया खेलाडीलाई दबाब नदिनु होला,’ उनले लेखेका छन्, ‘हामीले एक खेल खेलेका छौँ। र, बाँकी दुई खेलको तयारीमा छौं।’

उनले जोर्डनसँगको खेल नयाँ रणनीतिका साथ खेल्ने बताएका छन्। ‘दबाबरहित भएर काम गर्ने अवसर दिनुहोला,’ उनले लेखेका छन्, ‘हामी जोर्डनसँग नयाँ रणनीतिका साथ खेल्नेछौं।’

उनले अन्तिममा लेखेका छन्, ‘मलाई बोस र सर नभन्नु, म मात्र प्रशिक्षक हुँ।’
 

प्रकाशित: Jun 05, 2021| 03:19 शनिबार, जेठ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।