काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट देखा परेकाे भन्ने समाचार भ्रामक रहेको जनाएको छ। बेलायती पत्रिका ‘डेली मेल’ ले बिहीबार ‘हाम्रो बिदालाई नेपाल भेरियन्टको खतरा’ भन्दै समाचार प्रकाशित गरेको थियो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपाल समयसँग भने, 'नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) मात्र देखिएको छ। डेली मेलमा प्रकाशित समाचार भ्रामक हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूचओ) ले पनि त्यही भनेको छ।’
पाैडेलले यसबारे बेलायती अखबारमा प्रकाशित समाचारको आधिकारिक धारणा मागिने बताए। मन्त्रालयले यसको खण्डन गर्दै केही बेरमा आफ्नो धारणा सार्वजनिक गर्ने भएको छ।डब्ल्यूएचओले पनि नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट पुष्टि नभएको जनाएको छ। ‘डेली मेल’मा प्रकाशित समाचारपछि डब्ल्यूएचओले ट्विट गर्दै नेपालमा कुनै नयाँ भेरिएन्ट नभएको जनाएको हो।
डब्लूएचओ नेपाल कार्यालयले ट्विटमा लेखेको छ, ‘नेपालमा सार्स–कोभ–२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन। नेपालमा रहेका भेरियन्टहरु अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र काप्पा (बी.१.६१७.१) हुन्। यी तीनमध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) हो।’
नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्नेकुरामा विश्व स्वास्थ्य संगठन अवगत छैन । नेपालमा रहेका भेरियन्टहरु Alpha (B.1.1.7), Delta (B.1.617.2) र Kappa (B.1.617.1) हुन् । यी तीन मध्ये नेपालमा हाल सक्रिय रहेको भेरियन्ट Delta (B.1.617.2) हो । @mohpnep@PandavRajeshhttps://t.co/SPib5Tqc8a
— WHO Nepal (@WHONepal) June 3, 2021