शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • अर्थ
  • महामारीको चपेटामा भेरी-बबई आयोजना : मजदुर र निर्माण सामग्री पाउनै हम्मे

महामारीको चपेटामा भेरी-बबई आयोजना : मजदुर र निर्माण सामग्री पाउनै हम्मे

कोरोना महामारीका कारण मजदुर र निर्माण सामग्री अभावले तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आशंका उत्पन्न भएको छ। 
 |  बुधबार, जेठ १९, २०७८

देव राना

देव राना

बुधबार, जेठ १९, २०७८

सुर्खेत – राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा कोरोनाअघि झण्डै एक सय भन्दाबढी मजदुर कार्यरत थिए। तर, कोरोना संक्रमण फैलिएपछि आधा मजदुर मात्रै कार्यरत छन्। 

triton college

‘आयोजना वरिपरिका गाउँमा संक्रमण फैलिएको छ, यही कारण स्थानीय मजदुर काममा फर्कन मान्दैनन्,’ आयोजनाका इन्जिनियर एवम् सूचना अधिकारी ईश्वरीप्रसाद तिवारीले भने, ‘कोरोनापछि ६० जना मात्रै मजदुर कार्यरत छन्।’ 

मजदुर मात्रै होइन, निषेध आदेशका कारण आयोजनामा निर्माण सामग्रीको पनि अभाव हुन थालेको छ। आयोजनामा अहिले रड (सरिया) र सिमेन्टको अभाव छ। 

आयोजनाले ३२–३३ एमएमको सरियाहरू प्रयोग गर्दछ। तर, बजारमा उक्त साइजका सरियाहरू पाउँदैनन्।

सरियाका लागि आयोजनाले कम्पनीमै अर्डर दिनुपर्छ। प्रयोगशालामा गुणस्तर पास भएमात्रै सरियाहरू प्रयोगमा ल्याइन्छ। यदि गुणस्तर नभए आयोजनाले सरियाहरू कम्पनीमै फिर्ता पठाइदिने गरेको छ। तर, कोरोनाका कारण निर्माण कम्पनी हुनु र बजारमा ठूलो तथा गुणस्तरीय सरिया नपाएकै कारण आयोजनालाई सरियाहरू अभाव भएको हो। 

corrent noodles
Metro Mart

तिवारीले भन्छन्, ‘कोरोनाका कारण निर्माण कम्पनी नै बन्द हुँदा सरिया अभाव भएको हो।’ 

पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ। तर, अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। 

आयोजनाले सरिया प्रयोग हुने बाहेकका कामहरू जारी राखेको छ। त्यस्तै आयोजनासँग सिमेन्ट पनि पर्याप्त छैन।

कोरोनाकै कारण मजदुर र निर्माण सामग्री अभावले तोकिएकै समयमा आयोजना सम्पन्न हुनेमा आशंका उब्जिएको छ। ‘एक महिना निषेध आदेश हुँदा तीन महिना पछाडि धकेलिन्छ,’ तिवारी भन्छन्, ‘कोरोनाकै कारण आयोजना निर्माणमा ठूलो घाटा पुगेको छ।’

पूर्व निर्धारित समयअनुसार आर्थिक वर्ष २०७९/८० मा आयोजना सम्पन्न भइसक्नुपर्छ। तर, तोकिएको समयभित्र काम सम्पन्न हुनेमा भने आशंका थपिएको छ। किनकि पूर्व निर्धारित समयावधि सकिन अब दुई वर्ष मात्रै बाँकी छ। तर, अहिलेसम्म आयोजनाको कुल ४५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। 

पूर्व निर्धारित समयमा आयोजना सम्पन्न गर्न दुई वर्षमा ५३ प्रतिशत काम सम्पन्न हुनुपर्छ। 

यता आयोजनाले भने तोकिएकै समयमा निर्माण सम्पन्न हुने दाबी गरेको छ। ‘जटिल र मुख्य कामहरू सम्पन्न भइसकेका छन्,’ तिवारी भन्छन्, ‘हामी तोकिएकै समयमा आयोजना सम्पन्न गर्ने प्रयासमा छौँ।’ 

सुरुङ निर्माण जस्तो जटिल काम सम्पन्न भइसकेका कारण बाँकी काम पनि तोकिएकै समय हुने उनको दाबी छ। उसो त पहिलो चरणमा सुरुङ निर्माणको काम निर्धारित समयभन्दा एक वर्षअघि नै सम्पन्न गरेको थियो। 

तर, दोस्रो चरणको काम सुस्त छ। दोस्रो चरणअन्तर्गत आयोजनाको २५ प्रतिशत मात्रै काम सम्पन्न भएको छ। त्यसमा पनि महत्त्वपूर्ण मानिएको विद्युत् गृह निर्माणको काम झनै सुस्त छ। 

बाँधको कामसमेत अपेक्षित गतिमा हुन सकेको छैन। नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण गर्नुपर्ने छ। 

पानीको बहाव बढी हुने भएकाले वर्ष दिनमा चार महिनामात्रै बाँधको काम गर्न सकिन्छ। बाँध र पावर हाउस (विद्युत् गृह) निर्माणको जिम्मा चीनको ग्वाङ्डोन–युनाटियन र नेपालको रमण कन्स्ट्रक्सन जेभीले लिएका छन्।

भेरी नदीको पानी (भेरीगंगा नगरपालिका–९ चिप्लेबाट भेरीगंगा–१ को हात्तीखाल) बबईमा खसालिने छ। आयोजनाबाट बाँके र बर्दियाको ५२ हजार हेक्टर क्षेत्रफल सिँचाइ र हात्तीखालमा ४८ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ। मुख्य रुपमा सिँचाइका लागि बनाइएको आयोजनाबाट वार्षिक करिब चार अर्ब चार करोड बराबरको बिजुली उत्पादन हुने अनुमान गरिएको छ। आयोजना सम्पन्न गर्न कुल ३३ अर्ब १९ करोड खर्च हुने अनुमान छ।

प्रकाशित: Jun 02, 2021| 07:00 बुधबार, जेठ १९, २०७८
प्रतिक्रिया दिनुहोस्