काठमाडौं- अर्थशास्त्री डा. गोविन्दबहादुर थापाको मृत्यु भएको छ। कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत थापाको आज मंगलबार बिहान मृत्यु भएको हो। उनी झन्डै एक महिनादेखि अस्पतालमा थिए।
थापाको आज नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।
थापा नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन्। उनले एसियाली विकास बैंकको नेपाल प्रतिनिधि भएर मनिलामा पनि काम गरेका थिए।
यसैबीच, नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले डा. थापाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। 'मेरा अत्यन्त नजिकका मित्र, विद्वान अर्थशास्त्री डा. गोविन्द थापाको निधनको खबरले स्तब्ध बनायो। कमरेड थापाप्रति भावपूर्ण श्रद्धान्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना। हामी तपाईंको विद्वता र योगदानलाई सधै सम्झिरहने छौं,' नेपालले भनेका छन्।