काठमाडौं- नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा धवल शमशेर राणाले राष्ट्रिय सभा उपनिर्वाचन बहिष्कार गरेका छन्। सोमबार जारी मतदानमा भाग नलिने उनले जानकारी दिएका हुन्।
सोमबार बिहान ट्विट गर्दै डा राणाले कोरोना महामारी नियन्त्रण आफ्नो प्राथमिकतामा परेकोकाले उपनिर्वाचनमा मतदान नगर्ने निर्णय गरेको उल्लेख गरेका छन्।
'आज हुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन। मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासँग जुध्ने रहेकोले कांग्रेस, एमाले र माओवादीको यो अवस्थामा भइरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,' उनको ट्विटमा लेखिएको छ।
आजहुने लुम्बिनी प्रदेशको राष्ट्रियसभा सदस्यको उपचुनाव मेरो प्राथमिकतामा परेन।मेरो अहिलेको पहिलो कर्तव्य कोरोनासंग जुध्ने रहेकोले काग्रेस,एमाले र माओवादीको यो अबस्थामा भईरहेको जुधाईलाई मैले मतदान गर्न नसक्ने निर्णय गरेको छु,धन्यवाद!!
— Dr.Dhawal Shumshere Rana (@ShumshereDhawal) May 31, 2021
मेयर राणा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट मेयरमा निर्वाचित भएका हुन्। लुम्बिनीको राष्ट्रियसभा उपनिर्वाचनका लागि राप्रपाका दुई मतदाता छन्। रुपन्देहीको रोहिणी गाउँपालिकाकी उपाध्यक्षमा राप्रपाबाट निर्वाचित शिवकान्ती चमारले भने मतदान गरेकी छन्।
यसअघि जेठ ६ गते भएको बागमतीको राष्ट्रिय सभा सदस्यका लागि भएको उपनिर्वाचनमा राप्रपाले केपी शर्मा ओली नेतृत्वको एमालेका उम्मेदवारलाई सघाएको थियो। तर पनि ओली पक्षबाट उम्मेदवार रामबहादुर थापा बादल उपनिर्वाचनमा पराजित भएका थिए।