कोलम्बो- श्रीलंकामा भइरहेको अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिइरहेका एक नेपाली माउन्टेन बाइक राइडरको नदीमा डुबेर बुधबार मृत्यु भएको छ ।
नेपाली राइडर नारायणगोपाल महर्जनको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राजधानी कोलम्बोबाट दुई सय ३० किलोमिटर दक्षिण–पूर्वस्थित कुडा ओयाको रहाबेली नदीमा उनी डुबेका हुन् । ‘नजिकको रिजर्भवायरबाट उनको शव निकालेका छौं,’ एक प्रहरी अधिकृतले भने ।
श्रीलंकाको राष्ट्रिय ध्वजावाहक श्रीलंकन एयरलाइन्सले उक्त प्रतियोगिताको आयोजना गरेको हो, जसको नाम दिइएको थियो ‘रम्बल इन दी जंगल’ । उक्त घटनापछि प्रतियोगिता रद्द गरिएको एयरलाइन्सले घोषणा गरेको छ ।
उक्त प्रतियोगितामा नेपालका महर्जन, अजय पण्डित क्षत्री र बुद्धिबहादुर तामाङ सहभागी थिए । बेलायत, जर्मनी, इटाली, स्विट्जरल्यान्डलगायत मुलुकका ३९ जना प्रतिस्पर्धी थिए । एएफपी
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४