रामेछाप- रामेछापको सदरमुकाम मन्थलीमा प्रहरी र स्थानीय व्यवसायीबीच झडप हुँदा ४ जना घाइते भएका छन् ।
बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीमाथि प्रहरीले लाठी चार्ज गरेको हो ।
बुधबार राति मन्थलीको भैसेसुरमा प्रहरीले लाठीचार्ज गर्दा ३ जना व्यवसायी र समाचार संकलनमा गएका एकजना पत्रकार घाइते भएका हुन् । घाइतेहरुलाई राति नै तामाकोसी सहकारी अस्पतालमा ल्याएर उपचार गरिएको छ ।
बीपी राजमार्गमा १० टन माथिका मालबाहक र १८ सिट माथिका सवारी साधन तत्कालको लागि सञ्चालन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि गएको जेठ २५ गतेदेखि सिन्धुली प्रशासनले वीपीमार्ग हुँदै रामेछाप छिर्ने यातायातका साधन सञ्चालनमा रोक लगाएको छ । त्यसकै विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।
तराई तथा काठमाडौंबाट रामेछाप छिर्ने वैकल्पिक मार्ग नहुँदा रामेछापको बजारमा दैनिक उपभोग्य तथा निर्माण सामाग्रीको चरम अभाव भएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४