काठमाडौं- भारी वर्षासँगै घट्टे खोलामा आएको बाढीले हिमालपारीको जिल्ला मनाङको चामे गाउँपालिका-४ स्थित नयाँ बजारमा ठूलो क्षति पुर्याएको छ। बर्खा नलाग्दै शनिबार आएको बाढीले ठूलो क्षति पुर्याएको सीडीओ बिष्णु लामिछानेले बताए।
उनले बाढीले एक घरमा पूर्ण क्षति पुगाउनुका साथै चार कटेरा बगाएको बताए। 'खहरे खोला हो। हिमालपारीको जिल्लामा खोलामा यति ठूलो बाढी आएको पहिलो घटना हो। १० घरमा पानीसँगै पसेको बालुवाले मोटरसाइकल पुरिएका थिए। हामीले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरीको सक्रियतामा घरबाट बालुवा लिकाल्ने काम गरिसकेका छौं', उनले भने।
सीडीओ लामिछानेले बाढीले १ किलोमिटरसम्म बाटोमा खाल्डाखुल्डी पारेको र त्यसको मर्मत कार्य भइरहेको बताए।
उनले शनिबार बेलुकीदेखि मौसममा सुधार आएसँगै खोलाको बाढी नियन्त्रणमा आएको जानकारी दिए।
यास् चक्रवातको प्रभावले नेपालमा मौसम सक्रिय रहेको छ। जसको प्रभावले भारी वर्षा भएकाले बर्खा नलाग्दै बाढी आएको बताइएको छ।