काठमाडौं- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संबैधानिक व्यवस्था अनुसार सभामुख र उपसभामुख फरक फरक दलको हुनु पर्ने प्रावधानलाई कार्यान्वयन गर्न माग गरेको छ ।
कांग्रेस मुख्य सचेतक बालकृष्ण खाँडलगायतका कांग्रेस सांसदहरुले सभामुख र उपसभामुख एउटै दलको हुन नहुने सवैधानिक व्यवस्था कार्यान्वयन गर्न सभामुख र उपसभामुखमध्ये एकले पद छोड्नुपर्ने बताए ।
तत्कालीन नेकपा माओवादी केन्द्रका नेता कृष्णबहादुर महारा सभामुख बन्दा तत्कालीन नेकपा एमालेकी नेतृ डा शिवमाया तुम्बाहाम्फै उपसभामुख बनेकी थिइन् । दुवै पार्टीबीच एकताभएपछि बनेको नेपाल कम्युनिस्ट पार्टीबाटै सभामुख र उपसभामुख रहेको भन्दै कांग्रेसले संवैधानिक व्यवस्था अनुसार एकले पद छाड्न दबाब दिएको हो ।
प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर बोल्दै खाँडले नेपालको संविधानमा सभामुख र उपसभामुख फरक लिङ्ग र दलको हुनुपर्छ भन्ने स्पष्ट प्रावधान रहेकोले कार्यान्वयन गर्न माग गरे ।
'ससदीय लोकतन्त्रमा नयाँ दल जन्मने र एकीकरण हुने स्वाभाविक प्रक्रिया हो', खाँडले भने 'नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीच एकीकरण भई (नेकपा) गठन भएपछि ति दुवै दलबाट निर्वाचित सांसदलाई (नेकपा) बाटै निर्वाचित भएको मानिन्छ ।'
कांग्रेसका प्रमुख सचेतक खाँडले राखेको सो अभिब्यक्तिको प्रतिवाद गर्दै नेकपाका सचेतक खगराज अधिकारीले सभामुख र उपसभामुखले निर्वाचनलगत्तै दल त्याग गरिसकेको दाबी गरे । उनले दल त्याग गरिसकेको अवस्थामा सभामुख र उपसभामुख एउटै दलबाट हुनुहँदैन भन्ने ढंगले बारम्बार कुरा उठाइनु ठीक नभएको तर्क गरे ।
विनियोजित विधेयक २०७५ अन्तरगत सञ्चार, कानुन, कृषि र खानेपानी मन्त्रालय शीर्षकमा भाग लिँदै कांग्रेसका भरतकुमार शाह, प्रकाश स्नेही, पार्वती डीसी चौधरी लगायतले संविधान बमोजिम सभामुख र उपसभामुख फरक फकर दलको हुनु पर्ने व्यवस्थाको लागि सभामुखको ध्यानाकर्षण गराएका थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४