काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक गणतन्त्रको सफलताका लागि शासकको शैली र व्यवहारको निरन्तर समीक्षा विषय बन्ने बताएका छन्।
गणतन्त्र दिवसको अवसरमा आज जारी शुभकामना सन्देश जारी गर्दै उनले राज्य प्रणालीको सफलता त्यसको नेतृत्व गर्ने शासकको चरित्र र व्यवहारमा निर्भर हुने बताएका हुन्।
‘देशको राष्ट्रपति र प्रधानमन्त्रीकै संस्कार र व्यवहार तदनुकूलको बन्न नसक्दा त्यसको दुश्परिणाम देशले भोग्नुपर्ने हुन्छ र आज हामी त्यो भोगिरहेका छौं,’ उनले भनेका छन्, ‘अतः गणतन्त्र दिवसको यो मितिमा यसप्रति गम्भीरता राख्न र यो चुनौती पार गरेर अघि बढ्ने संकल्प गर्न म समस्त नेपालीमा अपिल गर्दछु।’
यस्तै उनले कोभिड-१९ को महामारीका कारण देश अहिले कठिन र संवेदनशील परिस्थितिको सामना गरिरहेको भए पनि जनताको जीवनप्रति सरकार सर्वथा उदासिन र संवेदनहीन देखिएको आरोपसमेत लगाएका छन्।
साथै उनले लोकतन्त्रको स्थापना र पुनर्स्थापनाका ऐतिहासिक जनआन्दोलनहरूमा आपनो जीवन उत्सर्ग गर्ने ज्ञात(अज्ञात सबै सहिदप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेका छन्। ‘नेपाली जनताको अभूतपूर्व त्याग र बलिदानबाट ऐतिहासिक जनआन्दोलन २०६२र६३ को सफलता पश्चात नेपाली कांग्रेसको नेतृत्वमा नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकका रुपमा स्थापित भएको हो।’
लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले सबैमा प्रेरणा प्रदान गर्ने उनले विश्वास पनि लिएका छन्।
यस्तै उपसभापति विमलेन्द्र निधिले पनि गणतन्त्र दिवसको अवसरमा शुभकामना दिएका छन्। उनले ट्वीटरमार्फत् शुभकामना दिँदै कोरोनाबाट सजग रहन आग्रह गरेका छन्। साथै उनले देशका सबै क्षेत्रमा भाँडभैलो भइरहेको आरोप पनि लगाएका छन्।
यस्तै कांग्रेस नेता डा. शेखर कोइरालाले राष्ट्रपति र प्रधानमन्त्रीका गतिविधिले गणतन्त्र, संविधान र संघीयता खतरामा परेको बताएका छन्। उनले यसको रक्षार्थ उभिनका लागि नेपाली जनता, प्रजातान्त्रिक शक्ति, बुद्धिजीवी र नागरिक समाजलाई आग्रहसमेत गरेका छन्।