शनिबार, वैशाख ८, २०८१

सन्दीप लामिछाने : लामो रेसका घोडा

स्याङ्जाको आरुचौर तालपोखरीबाट बालखैमा बुबा चन्द्रनारायण लामिछानेसँग भारत पुगेका सन्दीपमा त्यहीँबाट क्रिकेटको रस बस्यो। कक्षा ४ मा पढ्दाबाटै क्रिकेटमा चासो लिएका सन्दीपले प्रशिक्षणचाहिँ नेपाल पर्किएपछि मात्रै सुरु गरे। सानो टिममा ‘गल्ली क्रिकेट’बाट बानी लागेका सन्दीपले चितवन क्रिकेट एकेडेमीमा आफूलाई तिखार्ने मौका पाए।
 |  शनिबार, जेठ १५, २०७८

विनय सापकोटा

विनय सापकोटा

शनिबार, जेठ १५, २०७८

काठमाडौं– क्रिकेट मन पराउने मात्र होइन, यसबारे सामान्य जानकारी राख्नेका लागि पनि परिचित नाम हो सन्दीप लामिछाने। नेपाली मिडियामा अक्सर सन्दीपको प्रगतिबारेका समाचार आइरहन्छन्। 

triton college

पछिल्लो समाचार हो– ट्रिनबागो र ट्रिनिडाडमा आयोजना गरिने क्यारेबियन प्रिमियर लिग (सीपीएल)को फ्रेन्चाइज क्लब ट्रिनबागो नाइट राइडर्समा आबद्ध भए सन्दीप। एक सिजन जमैका तलाबाजबाट खेलेका सन्दीप यो सिजनमा भने साविक विजेता टिममा आबद्ध भएका हुन्। तलाबाजले आउँदो सिजनका लागि रिलिज गरेको दुई दिन नबित्दै बलिउडका बादशाह शाहरुख खानको टिमले लिएपछि सन्दीपले चौथो पटक सीपीएल खेल्ने पक्का भयो।

गएको वर्ष तलाबाजबाट एक करोड ५६ लाख आम्दानी गरेका सन्दीपको यो सिजनको मूल्य भने खुलाइएको छैन। शाहरुखको टिममा पुग्न उनी अक्सनमै गएनन्। ड्राफ्टको एक दिनअघि नै उनले सीपीएल खेल्ने पक्का भयो।

पछिल्लो सिजनमा सन्दीपको ५.२७ को इकोनामी र ११ खेलमा १२ विकेटको प्रदर्शनले डिफेन्डिङ च्याम्पियनलाई लोभ्यायो कि! 

सन्दीपको पछिल्लो चार वर्षको यात्रा निकै प्रेरक छ। सन् २०१८ को अक्सनमा एसोसिएट राष्ट्रबाट प्रतिनिधित्व गर्दै आईपीएलमा छानिने खेलाडी भएर होस् वा लेग स्पिनको चमत्कार देखाएर, सन्दीपको चर्चा चुलिएकै छ। विश्वका महँगा लिग खेलेर होस् वा राष्ट्रिय टिमबाट दिगो प्रदर्शन गरेर होस्, उनको खेल ग्राफ उकालो लागेकै छ। 

corrent noodles
Metro Mart

पछिल्लोपल्ट आईपीएल र सीपीएललाई लिएर भएको आलोचनाले अन्य अन्तर्राष्ट्रिय लिगमा सन्दीपलाई के प्रभाव पर्ला भन्ने धेरैको चासो थियो। तर, उनी आउँदै गरेको द हन्ड्रेड, भाइटालिटी ट्वान्टी–२० ब्लास्ट र सीपीएलमा अनुबन्ध भइसकेका छन् उनी। यसले उनको भविष्य अझै उज्यालोतर्फ जाने संकेत गरेको छ। ‘नाइट राइडर्स, च्याम्पियन टिममा अनुबन्ध हुन पाउँदा रोमाञ्चित भएको छु। र, खेल्नका लागि आतुर छु। पछिल्लो सिजनका लागि तलाबाजप्रति कृतज्ञ छु,’ उनले नाइट राइडर्समा अनुबन्ध भएपछि सामाजिक सञ्जालमा लेखेका छन्।

स्याङ्जाको आरुचौर तालपोखरीबाट बालखैमा बुबा चन्द्रनारायण लामिछानेसँग भारत पुगेका सन्दीपमा त्यहीँबाट क्रिकेटको रस बस्यो। कक्षा चारमा पढ्दाबाटै क्रिकेटमा चासो लिएका सन्दीपले प्रशिक्षणचाहिँ नेपाल पर्किएपछि मात्रै सुरु गरे। सानो टिममा ‘गल्ली क्रिकेट’बाट बानी लागेका सन्दीपले चितवन क्रिकेट एकेडेमीमा आफूलाई तिखार्ने मौका पाए। पूर्व राष्ट्रिय क्रिकेटर राजु खड्काले उनलाई क्रिकेट सिकाउँथे।

खेल परिपक्व भइनसक्दै उनको बल घुमाइ निकै लोभलाग्दो देखिन्थ्यो। राजुपछि सन्दीपको क्रिकेट करिअरमा ‘चारचाँद’ लगाउन आइपुगे श्रीलंकाका प्रशिक्षक पुबुदु दासानायके। उनी एक दिने प्रशिक्षणको क्रममा चितवन पुगेका थिए। उनको बलिङ पुबुदुको नजरमा पर्‍यो। त्यसपछि त सन्दीप आईसीसी विश्व क्रिकेट लिगको यूएईमा हुने प्रतियोगिताको लागि छनोटमा परिहाले। त्यो अन्तर्राष्ट्रिय प्रतियोगिताअघि भएको सुपर लिगमा पनि सन्दीपले निकै लोभलाग्दो प्रदर्शन गरेका थिए।

यूएई जाने टिममा परेपछिको प्रदर्शनले उनलाई यू–१९ को राष्ट्रि टिमसम्म पुर्‍यायो। त्यसपछि नेपाली क्रिकेटको बलिङलाई अहिलेसम्म सन्दीपले नै डोर्‍याइरहेका छन्।

कसरी?

बंगलादेशमा भएको आईसीसी यू–१९ विश्वकप २०१६ मा १४ विकेट लिँदै सर्वाधिक विकेट लिने खेलाडीको दोस्रो नम्बरमा पर्न सफल भए सन्दीप। ‘ह्वाट अ पर्फमेन्स!’ उनको प्रदर्शन हेरेपछि सबैको मुखबाट यही निस्केको थियो। आयरल्यान्डविरुद्ध ह्याट्रिक विकेटसहित पाँच विकेट लिँदा होस् वा उनलाई शेन वार्टसनसँग तुलना गरिएको टिभीमा सुन्दा होस्, सन्दीप नेपाली क्रिकेटप्रेमीको मनमा बसिसकेका थिए।

२०१६ को यु–१९ विश्वकपपछि विश्वका उत्कृष्ट ११ खेलाडीमा सन्दीप पनि परे र पहिलो पटक टी–२०आई खेल्ने अवसर पाए। विश्वकपले उनको करिअरको अर्को ढोका खोलिदियो। त्यो थियो– नेपाली राष्ट्रिय टिममा पुग्ने ढोका। त्यही वर्ष नामिबियाविरुद्ध खेल्न सिनियर टिमको क्याप जिते उनले। त्यो खेलपछि आफूले भनेका कुराहरु उनी त्यसपछि पनि दोहोर्‍याइरहेका हुन्छन्। उनले भनेका थिए, ‘प्रयास गर्न छोड्नु हुँदैन, अवसरहरु आउँदै जान्छन्। ढोकाहरु खुल्दैखुल्दै जान्छन्।’

खेल्नका लागि प्रेरित गरिरहने तत्व नै ‘सेल्फ कन्फिडेन्स’ रहेको बताउने सन्दीपको व्यावसायिक क्रिकेटको ढोका भने हङकङको एक घरेलु टी–२० क्रिकेटले खोलेको हो। त्यहाँ उनले भेट्न पाए अष्ट्रेलियाका पूर्वकप्तान माइकल क्लार्कलाई। र, क्लार्कले चिन्न सके नेपाली क्रिकेटका एक सम्भावना बोकेका खेलाडी।
युवा बलर सन्दीपको ‘फर्स्ट क्लास’ क्रिकेटको ढोका क्लार्कले नै खोलेका हुन् भन्दै फरक पर्दैन। त्यही ढोका हुँदै उनी अष्ट्रेलियाको न्यू साउथ वेल्स प्रिमियर खेल्न पुगे। त्यो पनि २०१६ मै।

क्लार्कले फेबुकमार्फत सन्दीपको प्रशंसा गरेपछि एउटा युवा खेलाडीलाई के चाहियो र? उनी विश्वभर नै छाए। वर्ष दिन नबित्दै हिरो बने। ग्लोबल स्टार बने।
त्यसको दुई वर्षपछि सन्दीप विश्वकै सर्वाधिक ठूलो र महँगो लिग इन्डियन प्रिमियर लिग (आईपीएल)मा आबद्ध भइसकेका थिए। दिल्ली क्यापिटल्ससँग सम्झौता भएपछि सन्दीपले क्लार्कको योगदानलाई सम्झिएका थिए। ‘क्रिकेटरको नाताले माइकल क्लार्कको ममाथि ठूलो प्रभाव छ। हङकङ सिक्सेजमा जब उनले मलाई ध्यानमा राख्न थाले, उनले ममाथि ध्यान दिइरहे। उनी दयालु र नम्र स्वभावका छन्। उनले गर्दा म क्रिकेटरको रुपमा अघि बढ्न सकेँ,’ दिल्लीसँगको सम्झौतापछि सन्दीपले पीटीआईसँग भनेका थिए।

२०१६ मै आफ्नो क्रिकेट करिअरलाई ‘लिफ्ट’ गरिसकेका सन्दीपले त्यही सालको डिसेम्बरमा भएको यू–१९ एसिया कपमा कप्तानी नै गरे। अर्को वर्ष यू–१९ विश्वकपको एसिया छनोटमा पनि राष्ट्रिय टिमको नेतृत्व गर्ने अवसर पाए। कप्तानीसँगै उनको खेलमा कमी आएन। ६ खेलमा २४ विकेट लिएका सन्दीप प्रतियोगिताकै उत्कष्ट खेलाडी बने। एकै प्रतियोगितामा सबैभन्दा धेरै विकेट लिने नेपाली खेलाडीको त्यो रेकर्ड अझै पनि सन्दीपकै नाममा छ।

यस्तै प्रदर्शनका कारण २०७४ को एनएसजेएफ स्पोर्टस् अवार्डको तीन विधामा मनोनित भएका थिए सन्दीप। यो नेपालको सबैभन्दा माथिल्लो श्रेणीको खेल अवार्डसमेत हो। त्यसमा पनि उनी तीन विधामा मनोनित बने।

दिल्ली क्यापिटल्सका सीईओ हेमन्त डुआले पछिल्लो एक वर्षदेखि फलो गरेको बताइरहेका सन्दीपले अक्सनअघि दिल्लीमा ट्रायल दिएका थिए। मुस्किलबीच सम्पन्न भएको थियो ट्रायल पनि। उनले बलिङ गर्ने दिन पानी प¥यो। दिल्लीमा इनडोर सुविधा नभएकाले प्राइभेट गेमिङ सेन्टरमा ट्रायल गरेका थिए। उनको भिडियो रिकी पोन्टिङ र गौतम गम्भीरले ओके गरेपछि सन्दीप अक्सनमा बिक्ने पक्कापक्की भयो। सन् २०१८ मा २० लाख आधार मूल्यमा सन्दीप आईपीएलमा आबद्ध बने।

त्यो पल नेपाली क्रिकेट समर्थकका लागि निकै हर्षको थियो। नेपाली क्रिकेट समर्थकले कहिलेबाट देखेको सपना थियो थियो। नेपाली मात्र होइन, सबै एसोसिएट देशका क्रिकेटरको सपना हुन्छ आईपीएल खेल्ने। त्यो सपना देख्नेमा नेपाली खेलाडी पनि कम छैनन्। पहिलो अवसर पाए सन्दीपले। उनको करिअरमा अर्को ढोका त्यो थियो। ‘अब यात्रा सुरु हुन्छ,’ दिल्ली क्यापिटलले उनीमाथि बोली लगाएपछि सन्दीपले ट्वीटरमा लेखेका थिए। २०७४ माघ १४ गतेको जाडोमा नेपाली क्रिकेटप्रेमीले टेलिभिजन र मोबाइलमा खेलाडीको लिलामी हेर्नुको सार्थकता पाएको महसुस गरेका थिए।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले पनि ट्वीटरमा सन्दीपलाई बधाई दिएका थिए– ‘बधाई सन्दीप! ममात्र होइन, सारा नेपालीको तिमीमाथि गौरव छ। तिम्रो आगामी यात्रा अझै रोचक बनोस्।’

सन्दीप आईपीएलमा आबद्ध भएको बेला नेपाल क्रिकेट संघ (क्यान) भने आईसीसीको प्रतिबन्धमा थियो। सन्दीप कसरी आईपीएलसम्म पुगे त भन्ने प्रश्नको उत्तर पछि दिल्लीका सीईओ डुआले सन्दीपको एक नम्बरको जर्सी सार्वजनिक गर्ने कार्यक्रममा बताएका थिए। सन्दीपको ट्रायलबारे प्रसंग उनले निकै रोचक ढंगले सुनाएका थिए।

छिमेकी देशकै भए पनि नेपाली खेलाडीका लागि आईपीएल ‘फलामको ढोका’ सरह थियो। त्यो खुलेपछि त अष्ट्रेलिया, क्यानाडा, बंगलादेश, पाकिस्तान, इंग्ल्यान्डका लिगका ढोकाहरु पनि धमाधम खुल्दै जान थाले।

सन्दीप आईपीएलमा त परे। तर सन्देह थियो– प्लेइङ सेटमा पर्ने हुन् कि होइनन्? तर उनले त जादूयी प्रदर्शन गरिदिए प्लेइङ–११ मा परे। पहिलो सिजनमा तीन खेलबाट पाँच र दोस्रो सिजनमा ६ खेलबाट ८ विकेट लिए। दुई सिजनमा १३ विकेट गिराए। यद्यपि, तेस्रो सिजनमा भने बेञ्चमै बिताउनुपर्‍यो।

आईपीएलमा नपरे पनि अहिले सन्दीप शाहरुख खानको सीपीएल टिममा छन्। यसको अर्थ उनी शाहरुखकै कोलकाता नाइट राइडर्समा पुग्ने आशा पनि छ। २०२२ को सिजनअघि हुने मेगा अक्सन उनको अझै राम्रो अवसर बन्न सक्छ कि!

फेरि २०१८ कै कुरा। आईपीएलमा अनुबन्ध भएको खुसी त थियो नै। यता राष्ट्रिय टिमबाट नामिबियामा आयोजित वर्ल्ड क्रिकेट लिग डिभिजन–२ को प्रतियोगिता खेल्न पुगेका सन्दीप सर्वाधिक १७ विकेट लिएर फर्किएका थिए। प्रतियोगितामा कुनै ब्याट्सम्यानलाई पनि खुलेर खेल्न नदिएका सन्दीप प्लेयर अफ दि सिरिज बनेका थिए।

यी सबै उपलब्धि एकैपटक हात पर्दा पनि मात्तिएका थिएनन् यी युवा खेलाडी। नामिबियापछि विश्वकप छनोटका लागि जिम्बाब्वे पुगेका उनले भनेका थिए, ‘खेलयात्रा निकै लामो छ। त्यसैले आफूलाई शान्त राख्ने कोसिस गर्छु।’

जिम्बाब्वेको प्रतियोगिताअघि सम्झिनैपर्ने कुरा अर्को पनि छ– ‘भ्यालेन्टाइन ब्वाइ’ विनिङ पार्टनरसिप। नेपाली क्रिकेट वृत्तमा करण केसीलाई ‘भ्यालेन्टाइन ब्वाइ’का रुपमा चिनिन्छ। करणले २०१८ को भ्यालेन्टाइन डेको दिन क्यानडाविरुद्ध जुन अविश्वसनीय प्रदर्शन गरे, त्यही कारण नेपालले विश्वकप छनोट खेल्न पायो र एक दिवसीयको मान्यता पनि पायो। तीन जित र एक हारका साथ चौथो स्थानमा थियो नेपाल। त्यो नेपालको अन्तिम खेल थियो। र, जित अत्यावश्यक थियो।

९ विकेट गइसकेपछिका बाँकी केही ओभरमा करणसँग सन्दीपले विनिङ रनको साझेदारी गरेका थिए। त्यो खेलमा सन्दीपले विकेट टिकाए भने करणले छक्का प्रहार गरे। अन्तिम ओभरमा चार बल डट खाएको नेपालले त्यसपछिका दुई बलमा ८ रन बनाउँदा क्रिकेट हेरेर बसिरेका सबै नेपाली हर्षविभोर बनेका थिए। त्यसपछि त हो नेपालले एकदिवसीय मान्यता पाएको।

एक दिवसीय यात्रा

२०१८ अगस्ट १ नेपाली क्रिकेट खेलाडीका लागि स्वर्णीम दिन थियो। यो त्यही दिन थियो, जुन दिन नेपाली ११ जना खेलाडीले एकैसाथ एकदिवसीय क्रिकेटमा डेब्यू गरेका थिए। त्यही टोलीमा थिए सन्दीप पनि। त्यसपछि सन्दीपले अन्तिम एक दिवसीय खेल अमेरिकासँग खेलेका छन्। यसबीच उनले १० एकदिवसीय खेलिसकेका छन्। एकदिवसीयको यात्रामा उनले २३ विकेट आफ्नो नाम गरिसकेका छन्। ८९ ओभर एक बल गरेका सन्दीपले सो विकेट लिएका हुन्।

२०२० को सुरुमै सन्दीपले अर्को रेकर्ड राखे। खेल नेपाल र अमेरिकाबीच थियो। कीर्तिपुरस्थित त्रिविको रंगशालामा नेपालले ओमानसँग दुवै खेल हा¥यो। अमेरिकासँग पहिलो खेल जितेको थियो भने दोस्रो खेल जारी थियो। पहिले बलिङ गरेको नेपालले अमेरिकालाई ३६ रनमै अलआउट गरेको थियो। त्यही खेलमा सन्दीपले ६ विकेट लिएर रेकर्ड राखेका थिए।

‘लिस्ट ए’ को केन्याविरुद्धको एक खेल पनि सम्झनलायक छ। १० ओभर बलिङ गरेका सन्दीपले दुईको इकोनामी राख्दै पाँच विकेट गिराएका थिए। सो खेलमा उनले ५० बल त डटमात्र फालेका थिए। सायद नेपाली इतिहासमै यो सर्वोत्कृष्ट बलिङ हो।

टी–२० मा सय विकेट लिने पहिलो नेपाली खेलाडी

विरलै पाउने सफलतामध्येको एक हो यो। सय विकेटको कोशेढुंगा, जुन सन्दीपले डेढ वर्षअघि पार गरे। नेपाल २०७६ सालको अन्तिम प्रतियोगिता खेल्न थाइल्यान्ड पुगेको थियो। थाइल्यान्डको बैंककस्थित टेडथाई मैदानमा सन्दीप लामिछानेले तीन विकेट लिएसँगै टी–२० क्रिकेटमा सय विकेट पूरा गरे।

उनले सय विकेट पूरा गर्दा आईपीएलमा १३, सीपीएलमा १५, अफगान प्रिमियर लिगमा दुई, बीबीएलमा २६, बीपएएलमा चार, पीएसएलमा ११ र नेपाली टिमबाट ३१ विकेट लिएका थिए। तर अहिले यो आँकडा १२३ विकेटमा पुगिसकेको छ।

युवा अवस्थामै कर्पोरेट हाउससँग जोडिए

सन्दीप उमेर समूहमा खेल्दाबाटै कर्पोरेट सेक्टरसँग जोडिए। कर्पोरेटसँग जोडिनु भनेको खेलाडीको भविष्य सुनिश्चित हुनु हो। पहिला नेपाली क्रिकेटको एउटा उद्देश्य थियो कि जसरी हुन्छ चर्चा कमाउने। त्यही चर्चा कमाउने समयमा सन्दीप राष्ट्रिय टिममा थिए। उमेर समूहको खेलमै ह्याट्रिक विकेट लिँदा उनको नाम देशभरि छायो। सँगसँगै कर्पोरेट सेक्टरमा जोडिए सन्दीप। त्यसपछिका विदेशी फ्रेन्चाइज लिगले सन्दीपलाई आर्थिक हिसाबले त सुरक्षित बनाए नै, सफल खेलाडी पनि बनायो।

आईपीएलमा २० लाख भारुमा अनुबन्धित भएपछि उनी सीपीएल, अफगानिस्तान प्रिमियर लिग, बीबीएल, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिगजस्ता विश्वप्रतिष्ठित लिग खेले। अहिले उनी सर्वाधिक कमाउने नेपाली खेलाडी बनिसकेका छन्।

संगीत र फोटोग्राफी

सन्दीप आफ्नो युट्युब च्यालनमा भ्लग पनि गर्छन्। गीत पनि गाएर पोस्ट गर्छन्। कोभिड–१९ महामारीको समयमा लामो समयसम्म क्वारेन्टिन र आइसोलेसनमा बस्नुपर्दा गीतार नै उनको साथी बन्यो। उनले आफ्नै संगीतमा ‘उदास’ बोलको गीत गाएका छन्। सन्दीपको ‘तिमी र म’ नामको एल्बम नै छ। 
रुचि त उनको फोटाग्राफीमा पनि छ। भर्खरैमात्र उनले फोटोग्राफीका लागि सोसल मिडियामा अकाउन्ट बनाएका छन्। 

तस्बिरहरु सन्दीपकै ट्विटर अकाउन्टबाट

प्रकाशित: May 29, 2021| 02:25 शनिबार, जेठ १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।