काठमाडौं - भेरी अस्पतालमा भएको घटनाप्रति आपत्ति जनाउँदै नेपाल चिकित्सक संघ भेरीले माग पूरा नभए सामूहिक राजीनामा दिने जनाएको छ।
बिहीबार बेलुका कोरोना संक्रमित दाङका ५४ वर्षीय व्यक्तिको उपचारका क्रममा निधन भएको थियो।
उनको निधनसँगै मृतकका आफन्तले चिकित्सक तथा नर्सहरूमाथि सांघातिक आक्रमण गरेका थिए। सो घटनाको विरोध गर्दै चिकित्सक संघले दोषीलाई कानुनी कारबाही हुनुपर्ने र आफूहरूको ज्यानको भरपर्दो सुरुक्षा ग्यारेन्टी नभए सामूहिक राजीनामा दिने जनाएको छ।
चिकित्सक संघ भेरीका अध्यक्ष डा. विनोद कर्णका अनुसार बिरामीको मृत्यु भएपछि केही मानिसहरू ‘हामी शंकर पोखरेलकाे मान्छे हौं’ भन्दै अस्पताल प्रवेश गरी कुटपिट गर्न थालेका थिए।
कोभिड कक्षमा तोडफोड गर्दै ज्यान मार्ने शैलीमा आक्रमण गर्न थालेपछि चिकित्सक तथा नर्ससहित चार जनाले दुई तला माथिबाट हामफालेर ज्यान बचाएका थिए। उनका अनुसार घटनाको एक घण्टासम्म पनि प्रहरीले समेत दोषी समात्न आनाकानी गरेकाे थियाे।
डा. कर्णले भने, ‘अहिले हामी सबै आन्दोलित छौं, मृतकका भाइ मन रावतले फेसबुकमा लेख्दै धम्की दिएका छन्। दोषीलाई कानुनी कारबाही भएन र स्वास्थ्यकर्मी ज्यानको भरपर्दो सुरक्षा ग्यारेन्टी हुनुपर्ने माग राखेर भेरीका चिकित्सक तथा स्वास्थ्यकर्मी सबै आन्दोलनमा छौं।’