काठमाडौं- काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले भोकले मर्नै आँटे सामान किन्नका लागि १०३ मा फोन गरे आफूहरूले व्यवस्था गर्ने बताएका छन्। निषेध आदेश जारी गर्दै काठमाडौं उपत्यकामा खाद्यान्न पसलसमेत बन्द गरिएपछि व्यापक आलोचना भएपछि प्रजिअ पराजुलीले यस्तो बताएका हुन्।
'कोही भोकले मर्नै आँटे र खाद्यान्न किन्न नपाए १०३ मा फोन गर्नु भयो भने हामी त्यसको व्यवस्थापन गर्नेछौँ,' प्रजिअ पराजुलीले भनेका छन्। यस्तै अत्यावश्यक दैनिक उपभोग्य वस्तु किन्न समस्या भए नगरपालिकाका मेयर-उपमेयर र सम्बन्धित वडाध्यक्षसँग सम्पर्क गर्न सकिनेसमेत उनले सुझाएका छन्। दालचामल किन्न नपाए प्रशासन कार्यालयमा समेत खबर गर्न उनले आग्रह गरे। खाद्यान्नको पर्याप्त स्टक रहेकाले अभाव नहुने उनको भनाइ छ।
यी कुनै पनि उपायबाट समस्या समाधान हुन नसके खाद्यान्नका पसल खोल्ने विषयमा पुनर्विचार गर्न सकिने उनको भनाइ छ।