बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • महामारीमा युवाहरूको मलहम : अक्सिजन जुटाउनेदेखि घाट सजाउनेसम्म

महामारीमा युवाहरूको मलहम : अक्सिजन जुटाउनेदेखि घाट सजाउनेसम्म

काेराेना महामारीका बेला कर्णालीका युवाहरू संक्रमितलाई अक्सिजन जुटाउनेदेखि मृत्युवरण गरेकाहरूका लागि घाट सजाउनेसम्मकाे काममा निःस्वार्थ खटिएका छन्।
 |  बुधबार, जेठ १२, २०७८

देव राना

देव राना

बुधबार, जेठ १२, २०७८

काेराेना महामारीका बेला कर्णालीका युवाहरू संक्रमितलाई अक्सिजन जुटाउनेदेखि मृत्युवरण गरेकाहरूका लागि घाट सजाउनेसम्मकाे काममा निःस्वार्थ खटिएका छन्। 

triton college

सुर्खेत - वैशाखको दोस्रो सातादेखि सुर्खेतमा अक्सिजनको हाहाकार भयो। अक्सिजन अभावमा कोरोना संक्रमितको मृत्यु हुन थाल्यो। 

अक्सिजन अभावले संक्रमितको मृत्यु भएको खबरले वीरेन्द्रनगर-९ का मिलन श्रेष्ठको मन पिरोलियो। महामारीमा केही गर्न सकिन्थ्यो कि भन्ने सोच बनाए। र, नजिकका साथीहरूसँग सरसल्लाह गरे। 

साथीहरूले सकारात्मक प्रतिक्रिया दिएपछि वैशाख २३ गते ‘सुर्खेती कोभिड–१९ सेल्फ हेल्फ समूह’ घोषणा गरे। ‘अक्सिजन सिलिन्डरका लागि मेरो १०००’ अभियान थाले। 

सहयोगका लागि सार्वजनिक अपिल गरे। केही दिनमै रकम जम्मा भयो। तर, बजारमा न भरी अक्सिजन सिलिन्डर किन्न पाइन्थ्यो न रित्ता नै। त्यसपछि फेरि ‘आइडिया’ फुराए– रित्तो सिलिन्डर माग्ने र भरेर फिर्ता गर्ने। 

corrent noodles
Metro Mart

रित्ता सिलिन्डरका लागि ‘तपाईंको घरमा भएको खाली अक्सिजन सिलिन्डर दिनोस्, हामी तपाईंलाई निःशुल्क रूपमा भरेर दिनेछौँ’ भन्दै उसैगरी सार्वजनिक अपिल गरे। हप्ता दिनमै २० वटा खाली सिलिन्डर जम्मा भए। सिलिन्डर भरेर २६ जना संक्रमितलाई उपब्ध गराए। 

अभियान जारी नै थियो। त्यतिकैमा प्रदेश अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्यायो। त्यसपछि अक्सिजन आपूर्ति केही सहज भयो। अनि भरेर फिर्ता गर्ने शर्तमा जम्मा भएका २० वटा सिलिन्डर हाल प्रदेश आयुर्वेद औषधालयलाई दिइएको छ र एम्बुलेन्स खरिद गर्ने अर्काे अभियान थाले।

‘अक्सिजनको आपूर्ति सहज भएपछि हाम्रो अभियान बदलियो,’ सुर्खेती कोभिड–१९ सेल्फ हेल्फ समूहका सदस्य मिलन श्रेष्ठ भन्छन्, ‘सुर्खेतमै अक्सिजन आपूर्ति भएपछि हामीले निःशुल्क एम्बुलेन्स सञ्चालन गर्‍याैं।’ 

समूहले हाल नेपाल अर्बुद रोग सेवा केन्द्रको एम्बुलेन्स भाडामा लिएर निःशुल्क सेवा दिने गरी प्रदेश आयुर्वेदलाई एम्बुलेन्स हस्तान्तरण गरेको छ। ‘अहिले त भाडामा लिएर एम्बुलेन्स सञ्चालनको व्यवस्था मिलाएका छौँ,’ श्रेष्ठले भने, ‘रकम जुट्दै गयो भने नयाँ एम्बुलेन्स खरिद गर्ने योजना छ।’ 

त्यस्तै कोरोना संक्रमितको राहत र उद्धारमा अर्काे युवा समूह पनि सक्रिय छ। विवेकशील साझा पार्टीका युवा कार्यकर्ताहरूको समूह कोरोना संक्रमतिको सहयोगमा सक्रिय बनेका छन्। 

उनीहरूले प्रदेश आयुर्वेद अस्पतालमा रहेका संक्रमित र कुरूवालाई पौष्टिक खाना खुवाउनेदेखि विपन्न परिवारका सदस्यको मृत्युपछि दाहसंस्कारमा समेत सघाउँदै आएका छन्।

सोमबार मात्रै उनीहरूले कोरोनाबाट मृत्यु भएका सल्यान छत्रेश्वरी गाउँपालिका–१ का ४० वर्षीय पुरुषको दाहसंस्कारको व्यवस्थापन गरेका थिए।

त्यस्तै कोरोना संक्रमित र कुरूवालाई निःशुल्क पौष्टिक खाना खुवाउँदै अर्काे समूह पनि वीरेन्द्रनगरमा सक्रिय छ। ‘विपद्का सारथि कर्णालीका युवाहरू’ अभियान सञ्चालन गरेर १५  युवाले प्रदेश अस्पताल सुर्खेतमा रहेका संक्रमित र कुरूवालाई पौष्टिक खाना खुवाउँदै आएका छन्। 

दैनिक ७० देखि ९५ संक्रमित र कुरूवालाई खाना खुवाउँदै आएको अभियन्ता गीता कटुवालले जानकारी दिइन्। जेठ ७ गतेबाट निःशुल्क पौष्टिक खाना खुवाउने अभियान थालेका उनीहरूले करिब तीन महिनासम्म अभियानलाई निरन्तरता दिने उद्देश्य राखेका छन्। खाद्यान्न र केही रकम संकलन गरेर अभियान सुरू गरेका हुन्।

सुर्खेतमा मात्रै होइन, कर्णालीका अन्य जिल्लामा पनि कोरोना महामारीमा मलहम लगाउन युवाहरू सक्रिय छन्। जाजरकोटको बारेकोटा गाउँपालिका युवाहरू कोरोना नियन्त्रण तथा रोकथाममा लागेका छन्। 

‘बारेकोट कोरोना नियन्त्रण समूह’ गठन गरेका उनीहरूले एक लाख बराबरको स्वास्थ्य सामग्री खरिद गरेर नगर स्वास्थ्य कार्यालयलाई दिएको अभियन्ता वीरेन्द्र बस्नेतले जानकारी दिए। 

त्यस्तै सल्यानमा पनि केही युवाहरूले ‘जीवन बचाउ अभियान’ सञ्चालन गरेका छन्। उनीहरूले कोरोना संक्रमितलाई निःशुल्क एम्बुलेन्स, संक्रमितलाई पानी तताउने गिजर, मास्क तथा स्यानिटाइजरलगायत सहयोग गर्दै आएको अभियन्ता मोहनकुमार वली बताउँछन्।

कोरोना महामारीमा युवापुस्ताले मलहम लगाउने गरेको प्रयासलाई पनि जिल्ला प्रशासन कार्यालयहरूले रोक लगाएका छन्। 

एकद्वार प्रणालीबाट कोरोना नियन्त्रणको अभियानलाई सहयोग पुर्‍याउन भन्दै सबै जिल्ला प्रशासनले व्यक्तिगत सहयोग नउठाउन तथा नदिन सबैलाई आग्रह गरेको छ।

प्रकाशित: May 26, 2021| 02:53 बुधबार, जेठ १२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।