बिहीबार, वैशाख १३, २०८१

गाउँमा न क्वारेन्टिन, न आइसोलेसन

जिल्ला जनस्वास्थ्य सेवा कार्यालय मुगुका अनुसार मुगूम कार्मारोङमा हालसम्म ९ जनामात्रै कोरोना संक्रमित छन्। तर पनि गाउँमा ठूलो त्रास छाएको छ। कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको परीक्षण गर्न सकिएको छैन।
 |  मंगलबार, जेठ ११, २०७८

देव राना

देव राना

मंगलबार, जेठ ११, २०७८

सुर्खेत- मुगूम कार्मारोङ गाउँपालिका मुगुको सबैभन्दा विकट क्षेत्र हो। छिमेकी देश चीन र डोल्पासँग सीमा जोडिएको कार्मारोङमा १६ वटा गाउँ छन्। 

triton college

सरदमुकाम गमगढीदेखि २६ देखि २८ कोश टाढा रहेका ती गाउँमा पुग्न करिब तीन दिनको पैदल यात्रा गर्नुपर्छ। जिल्ला जनस्वास्थ्य सेवा कार्यालय मुगुका अनुसार मुगूम कार्मारोङमा हालसम्म ९ जनामात्रै कोरोना संक्रमित छन्। तर पनि गाउँमा ठूलो त्रास छाएको छ। कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामीको परीक्षण गर्न सकिएको छैन। त्यहाँ कोरोना फैलिनुको मुख्य कारण भने क्वारेन्टिन नहुनु र सहरबाट आउनेहरु आइसोलेसनमा नबस्नु हो।

‘गत वर्ष सहरबाट आउनेहरु पालिकाको मुकाम र जिल्लाकै क्वारेन्टिनमा बस्थे, गाउँ–गाउँमा संक्रमण पुग्थेन,’ मुगुका कोरोना फोकल पर्सन ज्ञानसिंह बुढाले भने, ‘यो वर्ष क्वारेन्टिन बनेनन्, सहरबाट आउनेहरु होम आइसोलेसन बसेनन्।’ भारतबाट मजदुर र सहरबाट विद्यार्थीहरु फर्किएपछि गाउँमा कोरोना फैलिएको हो।

संक्रमण फैलिएपछि मुगूम कार्मारोङ गाउँपालिकाले करारमा स्वास्थ्यकर्मी भर्ना लिन लागेको छ। कोरोना नियन्त्रणका लागि मेडिकल अधिकृत, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स र ल्याव असिस्टेन्ट एक–एक जना, अहेव र अनमी दुई–दुई जना भर्ना लिन थालेको प्रमुख प्रशासकीय अधिकृत तीर्थबहादुर कठायतले बताए। मुगूम कार्मारोङमा मात्रै होइन, जिल्लाका अधिकांश गाउँमा कोरोना फैलिसकेको छ। ‘सबै गाउँमा कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका विरामीहरु छन्,’ उनी भन्छन्, ‘भौगोलिक विकटता र जनशक्ति अभावका कारण सबै क्षेत्रमा परीक्षण गर्न भ्याएका छैनौँ।’

मुगु सदरमुकाम गमगढी

गाउँगाउँमा संक्रमण फैलिएपछि नियन्त्रणमा चुनौति थपिएको जिल्ला अस्पताल मुगुका डाक्टर कविराज पौडेल बताउँछन्। ‘जिल्लाभर नै कोरोना संक्रमण फैलिएको छ तर परीक्षण गर्नै भ्याएका छैनौँ,’ उनी भन्छन्, ‘जटिल प्रकृतिका लागि जिल्लामा उपचार सम्भव छैन,  अक्सिजन र जनशक्ति अभावका कारण जटिल प्रकृतिका संक्रमितलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाउने गरेका छौँ। त्यहाँ मिनी अक्सिजन प्लान्ट सञ्चालनको तयारी गरिएको छ।’

corrent noodles
Metro Mart

उता हुम्लामा पनि कोरोना संक्रमण उसैगरी फैलिएको छ। गत वर्ष लामो समयसम्म कोरोनामुक्त भएको हुम्लामा यो वर्ष गाउँगाउँमा संक्रमण पुगिसकेको छ। नाम्खा गाउँपालिका बाहेक सबै स्थानीय तह (सिमकोट, खार्पुनाथ, सर्केगाड, चंखेली, अदानचुली र ताजाकोट)मा संक्रमण फैलिसकेको छ। संक्रमण फैलिएका स्थानीय तहमध्ये ताजाकोटमा ३ दिन र अन्य स्थानीय तहमा पुग्न २ दिन पैदल हिँड्नुपर्छ सदरमुकामबाट। त्यहाँ पनि संक्रमण फैलिनुको मुख्य कारण क्वारेन्टिन नहुनु र बाहिरबाट आउनेहरु होम आइसोलेसन नबस्नु हो।

‘गत वर्ष जिल्ला प्रवेशमै कडाइ गरिएको थियो, सहरबाट आउनेहरु अनिवार्य क्वोन्टिनमा बस्थे, कोरोना परीक्षणपछि मात्रै गाउँ पुग्थे,’ जिल्ला जनस्वास्थ्य सेवा कार्यालय मुगुका प्रमुख प्रेमबहादुर सिंहले भने, ‘यो वर्ष त क्वारेन्टिन नभएकै कारण गाउँ–गाउँमा कोरोना फैलियो।’ सरकारले जारी गरेका स्वास्थ्य मापदण्ड पालन नगर्दा हुम्लाको गाउँभरी नै संक्रमण फैलिएको उनको तर्क छ।

‘हामीले नियम अनुसार गाउँ आएकालाई होम आइसोलेसनमा बस्न भन्यौं तर भनेकै मानेनन्,’ उनी भन्छिन्, ‘सहरबाट आउनेले नै गाउँभरी कोरोना फैलाए।’ केही व्यक्तिहरु लुकेर गाउँ पसेका र तोकिएको अवधिसम्म होम आइसोलेसनमा नबसेकै कारण गाउँ–गाउँमा कोरोना फैलिएको छ। राष्ट्रिय राजमार्गमा नजोडिएको हुम्लामा कोरोना नियन्त्रणमा चुनौति छ। त्यहाँका जटिल प्रकृतिका संक्रमितलाई पनि उपचारका लागि जुम्ला नै पठाउने गरिएको छ। एक हप्तामा मात्रै हुम्लाका दुई जना संक्रमितलाई उपचारका लागि जुम्ला रिफर गरिएको स्वास्थ्य कार्यालयले जनाएको छ।

सल्यानमा कोरोना परीक्षणका लागि स्वाब संकलन गरिँदै

उता डोल्पाको अवस्था पनि उस्तै छ। गत वर्ष सदरमुकाम दुनै आसपासमा मात्रै संक्रमण फैलिएको डोल्पामा यो वर्ष गाउँ–गाउँमा संक्रमण पुगेको छ। त्यहाँ जिल्ला बाहिरबाट आएका संक्रमितहरु क्वारेन्टिन नबस्दा नै संक्रमण फैलिएको हो। ‘यसपालि क्वारेन्टिन बनेनन्, अधिकांश व्यक्तिहरु परीक्षण नगरेरै गाउँ पुगे,’ डोल्पाका कोरोना फोकल पर्सन टेकबहादुर गुरुङले भने, ‘बाहिरबाट आउनेलाई बस्ने क्वारेन्टिन नहुँदा गाउँभरी संक्रमण फैलिएको छ।’ त्यहाँ पनि सबैको स्थानमा परीक्षण गर्न भ्याइएकै भएको छैन। जटिल प्रकृतिका संक्रमितलाई उपचारका लागि जिल्ला बाहिर लिनुपर्ने बाध्यता छ।

हिमाली जिल्लाहरु डोल्पा, हुम्ला र मुगु मात्रै होइन, कर्णालीका प्रायः गाउँमा कोरोना संक्रमण फैलिसकेको छ। कोरोना नियन्त्रणमा प्रभावकारी योजना नहुँदा गाउँ–गाउँमा संक्रमण फैलिएको हो। गत वर्ष मुगु, हुम्ला र जुम्ला लामो समयसम्म संक्रमण मुक्त थिए। ती जिल्लाहरुमा थोरै मात्र संक्रमण फैलिएको थियो। गत वर्ष पनि रोजीरोटीका लागि गाउँ छोडेका अधिकांश नागरिकहरु गाउँ फर्किए। तर संक्रमण अहिलेको जस्तो थिएन। गाउँमा बलियो पूर्वतयारी थियो। त्रासले भए पनि बाहिरबाट फर्किएकालाई कम्तीमा १४ दिनसम्म क्वारेन्टिनमा राखिन्थ्यो। सबैको कोरोना परीक्षण गरिन्थ्यो। संक्रमित भए त्यहीँबाट आइसोलेसन तथा अस्पतालमा पुर्‍याइन्थ्यो। यही कारण गत वर्ष धेरैपछि मात्रै गाउँमा कोरोना पुगेको थियो।

तर यो वर्ष पनि कर्णालीका कुनै पनि जिल्लामा क्वारेन्टिन छैनन्। विदेश तथा सहरबाट आउनेहरु सिधै गाउँ पुग्छन्। घरपरिवार र आफन्तसँग घुलमिल भएका छन्। गाउँवासीको गुनासो छ– भारत र सहरबाट आउनेहरुले गाउँमा कोरोना फैलाए।
 

प्रकाशित: May 25, 2021| 07:05 मंगलबार, जेठ ११, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।