संवाद

समुन्नत समाजवादी प्रणाली नै अबको वैचारिक विकल्प : डा. भट्टराई [अन्तर्वार्ता]

1624462381.baburam.jpg

 डा.बाबुराम भट्टराईले मार्क्सवादप्रति आलोचनात्मक तथा फरक विचार प्रस्तुत गरेका छन्। हालै उनले ‘२१ औं शताब्दीमा कार्ल मार्क्स’ भन्ने आलेखमार्फत मार्क्सवादी चिन्तन पद्धतिलाई ‘मार्क्सवाद’ भन्नु वैज्ञानिक विषय नभएको बताएका हुन्। डा. भट्टराईले मार्क्सको दर्शन, अर्थ–राजनीति र वैज्ञानिक समाजवादप्रति नयाँ कालचिन्तनको वकालत गरेका छन्। कस्तो छ त उनको समाजवादप्रति नयाँ चिन्तन?
डा. भट्टराईसँग नेपाल समयका तर्फबाट मुमाराम खनालनारायण अमृतले गरेको अन्तर्वार्ताको सम्पादित अंश :  

कोरोना महामारीका कारण राज्य बलियो र शासक असल हुनुको फरक नागरिकले अत्यन्तै नजिकबाट अनुभव गरेको छ। र, कोरोनाका कारणले निकट भविष्यमा विश्वका राज्य व्यवस्थामा कुनै उल्लेख्य फेरबदल आउने सम्भावनामाथि पनि टिप्पणी हुन थालेका छन्? यसमा तपाईंको धारणा के छ?   

हाम्रो समाज व्यवस्था र अर्थतन्त्रका सम्बन्धमा रहेको बहसलाई संघन छलफलपछि नै संविधानमा ‘समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने’ भनेर लेखिएको हो। कुन कुरा खुला बजारलाई छोड्ने र कुन कुरा राज्यको सामाजिक दायित्वअन्तर्गत राख्ने भन्ने विषयमा भएको बहसले शिक्षा, स्वास्थ्य, खाद्य सम्प्रभुता, रोजगारी जस्ता महत्त्वपूर्ण विषय राज्यको जिम्मेवारीमा राखिएको हो।

अहिले कोभिडले देखायो– महामारीमा स्वास्थ्यलाई निजी र मुनाफाको क्षेत्र बनाएर हुँदो रहेनछ। शिक्षा क्षेत्रमा भएको भताभुंगले पनि यो राज्यको दायित्वभित्र हुनुपर्ने विषय रहेछ भन्ने बोध गरायो। अर्कोतिर महामारीको अन्तर्राष्ट्रिय स्वरूपले अन्तर्राष्ट्रिय सहकार्य विना एउटा कुनै देश वा संस्थाले मात्र हल गर्न सक्ने विषय रहेनछ भन्ने पनि बोध गरायो। जसले मानिसको चिन्तनमा ठूलो फरक ल्याउँछ जस्तो मलाई लाग्छ।

अन्तर्वार्तालाई अब अलिकति फरक प्रसंगबाट पनि सुरुवात गरौं। केही समयअघि ‘एक्काईसौं शताब्दीमा कार्ल मार्क्स’ बारे एउटा बहस सुरु गर्नुभएको छ। र, मार्क्सको योगदानलाई ‘मार्क्सवाद’ भन्नु हुँदैनथ्यो भन्ने तपाईंको कथनलाई आधार मान्ने हो भने तपाईं स्वयं मार्क्सवादी हो कि होइन? तपाईंले आफ्नै सिंगो जीवन समर्पण गरेको मार्क्सवाद केही होइन रहेछ?

त्यस्तो पटक्कै होइन। मैले भन्न खोजेको कुराको आशय अर्कै हो। मार्क्सवादलाई मैले खराब कहिल्यै भनेको छैन। ज्ञान र विज्ञान भनेका प्रत्येक चरणमा आविष्कार हुँदै र पत्ता लाग्दै जाने विषय हुन्। प्राचीन युगमा तत्कालीन समयका चिन्तक बुद्ध, क्राइस्ट महमद आदिले विचार र दर्शनको प्रारम्भिक प्रस्तावना आविष्कार गरेका थिए। तर त्यसमा समयानुकूल विकास नगर्दा धर्ममा परिणत भयो। र, त्यसबाट उत्पन्न भयंकर रूढिवादले मध्ययुगीन अन्धकारमा संसार जकड्यो। त्यसविरुद्धमा विद्रोह गर्नेहरूले पन्ध्रौं, सोह्रौं र सत्रौं शताब्दीपछि वैज्ञानिक र प्रबोधन युगसँगसँगै समाज अगाडि बढेको थियो। त्यसकारण गल्ती ज्ञान र विज्ञानको समयानुकूल विकास नगर्नु हो। 

कार्ल मार्क्स एक महान् चिन्तक थिए। अहिलेसम्म मानवजातिका सर्वश्रेष्ठ चिन्तक मार्क्स नै हुन् भन्ने मेरो बुझाइ छ। समाज विज्ञानका क्षेत्रमा मार्क्स र भौतिक विज्ञानको क्षेत्रमा आइन्स्टाइन सर्वश्रेष्ठ व्यक्ति हुन्। तर प्रयोग गर्ने क्रममा वैज्ञानिकहरूका विचारलाई समयानुकूल विकास गर्दै लैजानुपर्छ। आधुनिक युगको पछिल्लो चरणमा आएको समाज र भौतिक विज्ञानको विकासलाई समयानुकूल विकास गरेर प्रयोग गर्न नसक्दा केही मठाधीश तथा राजनीतिक दलका कथित नेताहरुले निजी स्वार्थका निम्ति त्यसलाई भजाउने, नारामा सीमित गरिदिने र कुनै प्रणालीभित्र बन्द गरिदिने जस्ता प्रयोगले समाजको विकास अवरुद्ध भयो। त्यसैले सामाजिक विज्ञानको क्षेत्रमा कुनै विचार पद्धतिलाई ‘वाद’ भन्नु उपयुक्त होइन। 

मार्क्सको विचार पद्धतिलाई प्रणालीका रुपमा नलिएर एउटा पद्धतिका रुपमा लिनुपर्छ। मार्क्सले दुनियाँलाई बुझ्ने र बदल्ने विचार पद्धतिको विकास गरेका थिए। यसलाई नयाँ र समयानुकूल विश्लेषण गर्न र बदल्नतिर जानपर्छ भन्ने मेरो भनाइ हो।

१९ औं शताब्दीको समाज विकासमा टेकेर कार्ल मार्क्सले भौतिकवादी द्वन्द्ववादी चिन्तन प्रणाली संश्लेषण गरेका थिए। २० र २१ औं शताब्दीसम्म आइपुग्दा संसार धेरै परिवर्तन भएको छ। ज्ञान र विज्ञानका क्षेत्रमा धेरै नयाँ कुरा आविष्कार भएका छन्। त्यसलाई समयानुकूल विकास गर्दै लैजानुपर्नेमा मार्क्सका चेला दाबी गर्नेहरूले त्यसलाई एउटा पूर्ण प्रणालीका रुपमा ग्रहण गरेकाले अवरोध आयो। त्यसैले मार्क्सको विचार पद्धतिलाई प्रणालीका रुपमा नलिएर एउटा पद्धतिका रुपमा लिनुपर्छ। मार्क्सले दुनियाँलाई बुझ्ने र बदल्ने विचार पद्धतिको विकास गरेका थिए। यसलाई नयाँ र समयानुकूल विश्लेषण गर्न र बदल्नतिर जानपर्छ भन्ने मेरो भनाइ हो।

धेरै वर्षअघिदेखि नै मार्क्सवादलाई एउटा अध्ययन विधि मात्र मानेर व्याख्या विश्लेषण हुने गरेको छ। तपाईं आफैं मार्क्स, लेनिन र माओका योगदानलाई मार्क्सवाद, लेनिनवाद र माओवादका रुपमा संश्लेषण गर्नुपर्छ भन्ने वैचारिक पाठशालाबाट दीक्षित हुनुभयो। तर अहिले मार्क्सको विचार पद्धतिलाई ‘वाद’ भन्नु गलत हो भन्ने नयाँ निष्कर्षमा पुग्नुपर्ने तपाईंको आधार के हो?

कुनै पनि वैज्ञानिक चिन्तकका विचारको सारलाई ग्रहण गर्ने हो।  कुनै खास समयमा ग्रहण गरिएका विचार अर्को समयमा परित्याग गर्ने होइन, विकास गर्ने हो। कुनै समयमा न्यूटनले भनेका थिए, ‘महामानवका काँधमा चढेको हुनाले मैले अलिकति परसम्म देख्न सक्छु।’ त्यसैले मार्क्सको काँधमा चढेर अझ परसम्म देख्ने हो। त्यो ढंगले यो पूर्ण छ भनेर जानु भएन। 

मार्क्सले विकास गरेको उनको समयको ज्ञानमा आधारित रहँदै र त्यसका सकारात्मक पक्षमा टेकेर विकसित गर्ने हो। माओवादी जनयुद्धका क्रममा नेपालमा पनि हामीले मार्क्सवाद, लेनिनवाद र माओवादको सिर्जनशील ढंगले लागू गर्नुपर्छ भन्थ्यौं। त्यसैले हाम्रो जस्तो पिछडिएको र अनपढ समाजमा जनताका बीचमा त्यसलाई लैजाँदा सूत्रबद्ध र सहज भाषामा राख्नुपर्थ्याे। त्यसैले माओका भनाइलाई पनि ‘यो गर, त्यो नगर, यो गर्न हुन्न, त्यो गर्न हुन्छ।’ सूत्रबद्ध गरियो। त्यसले व्यावहारिक परिणाम पनि ल्यायो। 

तर नेतृत्वले चाहिँ त्यस्तै भनेर पुग्दैन। विद्रोहलाई संगठित गर्नुपर्ने बेलामा माओवाद भनेर गल्ती गरियो भन्ने म ठान्दिन्नँ। माओका गाउँले सहर घेर्ने, किसानलाई संगठित गर्ने र दीर्घकालीन जनयुद्धको तरिकाले सानो शक्तिले ठूलो शक्तिविरुद्ध लडाइँ लड्ने रणनीतिको प्रयोग गरेर नै पुरानो राज्य सत्तालाई घुँडा टेकाएर बृहत् शान्तिसम्झौतासम्म पुर्‍याइएको हो। उक्त समयको सापेक्षतामा ती कुराहरूको प्रयोग भयो। 

त्यतिबेला पुरानो संरचना भत्काउन माओको फौजी रणनीति प्रयोग गरिएको थियो। पुरानो सत्ताको ध्वंसका लागि त्यो ठिकै थियो। अहिलेको आवश्यकता र नयाँ निर्माणका लागि मार्क्स, लेनिन र माओका शिक्षालाई परिमार्जन र विकास गरौं भन्ने मेरो आग्रह हो।

२१ औं शताब्दीसम्म आउँदा इन्टरनेटको प्रयोगले ज्ञानविज्ञानका क्षेत्रमा अभूतपूर्व विकास भएको छ। मानिसको चेतना विस्तारित भएको छ। अर्थतन्त्र चलायमान भएको छ। गाउँले चेतना भत्किएर रोजगारीका लागि मानिस सहरतिर पसेको छ। विदेशतिर गएको छ। परिणामस्वरुप उत्पादक शक्ति र प्रणालीमा परिवर्तन पनि आएको छ। त्यतिबेला पुरानो संरचना भत्काउन माओको फौजी रणनीति प्रयोग गरिएको थियो। पुरानो सत्ताको ध्वंसका लागि त्यो ठिकै थियो। अहिलेको आवश्यकता र नयाँ निर्माणका लागि मार्क्स, लेनिन र माओका शिक्षालाई परिमार्जन र विकास गरौं भन्ने मेरो आग्रह हो।

अहिले पनि संसारमा बीबीसी लगायत संस्थाहरूले गर्ने सर्वेक्षणमा मार्क्सवादी चिन्तकका रुपमा मार्क्स सबैभन्दा लोकप्रिय छन्। तर राजनीतिक र सांगठनिक पद्धतिका रुपमा मार्क्सवाद संसारभरि असफल भयो। यस्तो विरोधाभास किन भयो होला? मार्क्सवादी राज्य व्यवस्था असफल अनि मार्क्सको विचार पद्धति भने लोकप्रिय कसरी हुन्छ? 

मार्क्सले समाज र भौतिक जगत्लाई बुझ्न केही नियम प्रक्षेपण गरेका थिए। जस्तै– द्वन्द्ववादी र भौतिकवादी प्रणाली। मार्क्सको दर्शनमा आधारित आर्थिक प्रणालीभित्रको उत्पादक शक्ति र सम्बन्धको अन्तरविरोधले नयाँ नयाँ प्रणाली बन्दै जान्छ। र, पुँजीवादी प्रणाली आफ्नैभित्रको अन्तरविरोधले लामो समय टिक्न सक्दैन। पुँजीवादी प्रणालीपछि नयाँ प्रणाली आउनुपर्छ भन्ने अर्थमा उनले समाजवाद हुँदै साम्यवादतिर जाने बताएका थिए।  

१९औं शताब्दीको पहिलो औद्योगिक क्रान्तिसम्मको उत्पादन प्रणाली हेर्दा मार्क्सको प्रक्षेपण ठिकै देखिन्छ। तर २० र २१ औं शताब्दीसम्म प्रणालीका नयाँनयाँ रुप पनि आए। यस्तो अवस्थामा चाहिँ हामीले विकास गरेरै जानुपर्थ्याे भन्ने हो। न्यूटनको ज्ञान मात्र आविष्कार भएका बेलामा मार्क्सले द्वन्द्ववादी विकासको नियम भने। वस्तुको विकास एउटा सरल रेखामा अगाडि बढ्छ भन्ने बुझाइ वास्तवमा गलत थियो। आइन्स्टाइनले दिक/कालको निरन्तरताको सिद्धान्त विकास गरे। क्वान्टम मेकानिक्सको विकाससँगै कण तथा तरंगको द्वैधताको नियम आयो। फेरि अनिश्चयको सिद्धान्त पनि आयो। यसले विकासका नियम सरल रेखीय मात्र हुँदो रहेनछ, बहुरेखीय पनि हुँदो रहेछ भन्ने पत्ता लाग्यो। त्यस्तै स्टेफन हकिङले बहुब्रह्माण्डको अवधारणा ल्याए। 

कम्युनिस्ट राज्य त विलोपीकरण हुँदै गएर जनतामा अन्तरघुलन हुनुपर्ने हो। नागरिक आफैंले राज्य सञ्चालन गर्दै राज्य विलोपीकरण र राज्य विहीनतातिर जानुपर्ने हो। अन्तिम संरचनाको हकमा समाजवादको परिकल्पना यही थियो। यहाँ त कम्युनिस्ट भन्ने तर निरंकुश शासन गर्ने उल्टो प्रयोग भइरहेको छ। यसलाई सच्याउनुपर्छ। 

लेनिन, स्तालिन, माओ आदिमा समाज विकासको एकल रेखीय सूत्रानुसार समाजवाद र साम्यवादतिर जाने बुझाइ रह्यो। तर ज्ञानको पछिल्लो विकासले त्यसलाई पुष्टि गरेन। त्यसैले उक्त बुझाइको ढाँचामा बनेका पार्टीहरू अगाडि जान सकेनन्। अन्तरविरोधको नियमानुसार समाजको असमानतालाई अन्त्य गर्न पुरानालाई नयाँले निषेध गरेर जानुपर्छ भन्नु सही हो। तर हाम्रो आफ्नै सान्दर्भिकतामा विकास गर्नुपर्‍यो। यान्त्रिक ढंगले नक्कल गर्न खोजेर हुँदैन। 

नेपालमा कम्युनिस्ट धेरै पछि आएको हुनाले कम्युनिस्ट पार्टी सत्तामा छ। बलियो जस्तो देखिन्छ तर गल्ती भने दोहोर्‍याइरहेको छ। अहिले आफूलाई कम्युनिस्ट भन्ने केपी ओलीको सरकार छ। कम्युनिस्ट राज्य त विलोपीकरण हुँदै गएर जनतामा अन्तरघुलन हुनुपर्ने हो। नागरिक आफैंले राज्य सञ्चालन गर्दै राज्य विलोपीकरण र राज्य विहीनतातिर जानुपर्ने हो। अन्तिम संरचनाको हकमा समाजवादको परिकल्पना यही थियो। यहाँ त कम्युनिस्ट भन्ने तर निरंकुश शासन गर्ने उल्टो प्रयोग भइरहेको छ। यसलाई सच्याउनुपर्छ। 

पुँजीवादी संरचना आफैंभित्रको अन्तरविरोधले पतन हुने र त्यसको ठाउँ समाजवादले लिने मार्क्सको दाबी सही साबित भएन। अर्थशास्त्री जोसेफ सुम्पेटरको सिर्जनशील विनिर्माणको अवधारणाअनुसार पुँजीवादको ‘आर्थिक असफलता’ ले होइन, बरु पुँजीवादको ‘सिर्जनशील सफलता’ ले पो पुँजीवादको संरचना भत्कायो। होइन र? 

युरोपको प्रबोधन तीनवटा मुख्य प्रवर्ग स्वतन्त्रता, समानता र  भ्रातृत्वलाई लिएर फ्रान्सेली र युरोपेली क्रान्ति भएका थिए। पुँजीवादले व्यक्तिको स्वतन्त्रतालाई सबै थोक मानेर बजारलाई स्वतन्त्र छोडिदिएपछि बजारले स्वतः सन्तुलन ल्याउँछ, माग र आपूर्तिको शृंखलाले अर्थतन्त्रको व्यवस्थापन गर्दै जान्छ भनियो।  तर पुँजीवादले चरम असमानता पनि ल्यायो। त्यसैलाई अर्थशास्त्री थोमस पिकेटीले सर्वेक्षण गरेर ‘क्यापिटल इन द ट्वान्टी फस्ट सेन्चुरी’ भनेर निकालेका छन्। पुँजीवादमा सामाजिक र आर्थिक असमानता अन्तरनिहित हुँदो रहेछ भन्ने त स्पष्टै छ। 

पुँजीवादले वस्तु र सेवाको उत्पादन प्रचुर मात्रामा गर्दो रहेछ, वितरणमा चाहिँ असन्तुलन ल्याउँदो रहेछ। केही समयअगाडि अक्सफार्मको तथ्यांकअनुसार ८ जना धनाढ्यका हातमा विश्वको आधा अर्थतन्त्र रहेको छ। पुँजीवादको अन्तरनिहित प्रणालीले नै यस्तो असमानता ल्यायो। निजी मुनाफाको उत्प्रेरणाका लागि बजारलाई छोडिदिँदा केही हदसम्म उत्पादक शक्तिको विकास गर्दो रहेछ। तर वितरण र सामाजिक न्यायमा ध्यान नपुर्‍याउँदा समाजमा ठूलो असमानता पैदा हुँदोरहेछ। त्यसैले उत्पादक शक्तिको विकास समन्यायिक वितरण हुने ढंगको प्रणाली पनि चाहियो। 

सामाजवादका नाउँमा राज्यको दोहन गर्ने र आसेपासेले मात्रै फाइदा लिने अहिले नेपालमा पनि प्रयोग भएको प्रणालीलाई नै आसेपासे पुँजीवाद भनिएको हो। यो बेठिक हो।  

अर्कोतिर, प्रारम्भमा समाजवादको परिकल्पना उत्पादक शक्तिलाई नरोक्ने गरी वितरणलाई न्यायिक बनाउने थियो। पुँजीवादका राम्रा गुणलाई लिँदै समाजवादका राम्रा गुण थपेर अगाडि बढ्नुपर्ने थियो। तर त्यसको प्रयोग न पुँजीवाद न समाजवाद भयो। सामाजवादका नाउँमा राज्यको दोहन गर्ने र आसेपासेले मात्रै फाइदा लिने अहिले नेपालमा पनि प्रयोग भएको प्रणालीलाई नै आसेपासे पुँजीवाद भनिएको हो। यो बेठिक हो।  

जहाँसम्म जोसेफ सुम्पेटरसम्बन्धी तपाईंको प्रश्न छ, मुनाफाका निम्ति उद्यमशीलहरूलाई स्वतन्त्र छोडिदियो भने उनीहरूले पुरानो प्रविधि नष्ट गरेर पुनः नयाँ चिजको सिर्जना गर्छन् र पुँजीवादी प्रणालीलाई झन् विकसित गरेर लैजान्छन् भन्ने सुम्पेटरको भनाइ हो। सुम्पेटरले पुँजीवादी प्रणालीभित्र निजी उद्यम व्यवसायको मुनाफाको उत्प्रेरणाले स्वतः पुरानालाई भत्काउँदै नयाँको निर्माण हुँदै जान्छ भन्न खोजेका हुन्। 

मानवीय विकासका निम्ति शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता विषयमा राज्यले दायित्व लिनुपर्छ। र, उत्पादनका क्षेत्रहरू बजारलाई छोडिदिँदा हुन्छ। यस्तो समन्वय मिलाएर मात्र अगाडि जान सकिन्छ।

एक हदसम्म सुम्पेटरको कुरा सही हो तर त्यसले असमानता कसरी ल्याउँछ र कसरी रोक्ने भन्ने कुरा भन्न सक्दैन। सुम्पेटरकै समकालीन अर्थशास्त्री जोन मेनार्ड किन्सले बजार सँगसँगै राज्यको पनि भूमिका र हस्तक्षेप हुनुपर्छ भन्ने विचार अगाडि सारे। त्यसले पुँजीवादलाई केही स्थायित्व दिन मद्दत गर्‍यो। तर पुँजीवादभित्र निहित असमान विकासलाई हल गरेन। त्यसैले समाजवाद चाहिएको हो।

त्यसकारण पुँजीवाद सधैं रहन्छ भन्नु सत्य होइन। किनकि पुँजीवादले असमानता कम गरेको छैन। पुँजीवादका राम्रा गुणहरू जस्तै– उत्पादक शक्तिको विकास, विज्ञान-प्रविधिको आविष्कार, सिर्जनशीलता आदिको उत्प्रेरणा कायम राख्नुपर्‍याे। निजी क्षेत्र कायम राख्न पर्‍याे। पहिला सरकारको पनि भूमिका हुनुपर्‍याे। सँगसँगै राज्यको पनि नियमनकारी भूमिका हुनुपर्‍याे। मानवीय विकासका निम्ति शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा जस्ता विषयमा राज्यले दायित्व लिनुपर्छ। र, उत्पादनका क्षेत्रहरू बजारलाई छोडिदिँदा हुन्छ। यस्तो समन्वय मिलाएर मात्र अगाडि जान सकिन्छ। मेरो भनाइ के हो भने पुरानो राज्य नियन्त्रित समाजवादका सकारात्मक पक्षलाई लिने र नकारात्मक पक्षलाई छोडेर समुन्नत समाजवादको प्रणालीतिर जानुपर्छ।

तपाईंले प्रस्ताव गरेको समुन्नत समाजवादी प्रणाली भन्नाले कस्तो प्रणाली हो?

नेपालको संविधानमा समाजवाद उन्मुख पुँजीवादको कुरा गरिएको छ। र, हामी विश्वको अनुभवबाट सिकेर नै अगाडि बढ्ने हो। न त हिजोको पुँजीवादी प्रणाली पूर्ण रुपमा ठिक छ न राज्य नियन्त्रित समाजवाद। यी दुवै बेठिक बुझाइबाट सिकेर अगाडि बढ्न सकिन्छ। र, एउटा नयाँ मोडल विकास गर्नुपर्छ भन्ने मेरो भनाइ हो। यसैलाई मैले सम्मुन्नत समाजवाद भन्न खोजेको हुँ। यसका निम्ति वैचारिक, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक आदि प्रणालीको विकास गर्दै जानुपर्छ। 

यस विषयमा बहस र छलफल होस् भनेर मैले ‘एक्काईसौं शताब्दीमा कार्ल मार्क्स’ लेखेको हुँ। दुर्भाग्यवश कोभिड–१९ का कारण व्यापक छलफल आयोजना गर्न सकिएन। अहिले मुलुकको राजनीतिमा एउटा प्रतिक्रान्ति आएको छ। वैचारिक र दीर्घकालीन संरचनात्मक प्रश्नमा मान्छेको रुचि छैन। मैले उठान गरेको विषयतिर बहस गइदिए हुन्थ्यो भन्ने मेरो आग्रह छ। नेपालको कम्युनिस्ट आन्दोलनको विरोधाभासलाई सैद्धान्तिक रुपले बुझ्न यो विषय एकदम जरुरी छ भन्ने मलाई लाग्छ। 

उन्नाईसौं शताब्दीको मध्यतिर मार्क्सले व्याख्या गरेको परम्परागत आर्थिक क्षेत्रभन्दा बाहिर आजको बौद्धिक उत्पादन, मनोरञ्जन र कलाजस्ता नयाँ क्षेत्रहरुको विकास र भूमिकाले समाज परिवर्तन, त्यसको बाटो र शैलीलाई कसरी प्रभावित पार्लान् भन्ने ठान्नुहुन्छ? 

पुँजीवादले निजी स्वतन्त्रताको पहल र प्रवर्धन गर्ने प्राकृतिक कारण पनि छ। पशुजगतबाट नै मान्छे जन्मेर विकसित भएको हुनाले उसको सोच अथवा गुण भनौं, त्यसलाई पूरै मार्न हुँदो रहेनछ। पुँजीवाद सबथोक नभए पनि व्यक्तिको निजत्व महत्त्वपूर्ण कुरा थियो। अर्कोतिर मार्क्स अथवा कम्युनिस्ट प्रणालीले वर्ग सबथोक हो, मान्छे केही होइन भन्यो। आखिर वर्ग मात्र होइन, मान्छे पनि हुँदो रहेछ। 

त्यसकारण मान्छेको निजत्व र सामाजिक वर्गीय सम्बध सँगसँगै जाँदो रहेछ। अहिले मान्छेका जातीय, क्षेत्रीय, लैंगिक आदि अनेक पहिचान पनि छन्। यस्ता पहिचानलाई पनि प्रवर्धन गरेर विविधतालाई सम्बोधन गर्दै अगाडि जानु पर्दो रहेछ। समाजमा रहेको असमानता अन्त्य गर्ने हो, विविधता र विभिन्नताको अन्त्य गर्ने होइन। हिजोको कम्युनिस्ट प्रणालीमा यहींनेर त्रुटि भएको हो। 

एकमनावादी पार्टी, राज्य र अर्थतन्त्र रहने प्रणाली त त्रुटिपूर्ण रहेछ। त्यसलाई सच्याउनैपर्छ। अर्को, राज्यविहीन साम्यवादमा पुग्ने भनेको कम्युनिस्ट प्रणालीमा निजी सम्पत्तिको उन्मूलन भनेर कम्युनिस्ट घोषणापत्रमा लेखियो। त्यतिबेलाको युरोपमा निजी सम्पत्ति भनेको जमिन र कलकारखाना आदिको अर्थमा मात्र थियो। त्यसैमा एकाधिकार जमाएर पुँजीपतिहरूले शोषण गर्थे। त्यसैले त्यस बेला उक्त कुरा सही थियो। 

आज सम्पत्तिका विविध रुप पनि देखिएका छन्। एउटा राम्रो संगीतकार, कलाकार, साहित्यकार, खेलाडी आदिले आफ्नो कौशलबाट करोडौं रुपैयाँ कमाउन सक्छन्। यसरी मनोरञ्जन, खेलकुद, कला, बौद्धिक आदि जस्ता क्षेत्रहरू पनि सम्पत्तिका रुपमा आउने अवधारणा विकास भयो। यसलाई उन्मूलन गर्न आवश्यक हुँदैन। त्यसैले सबै निजी सम्पत्तिको उन्मूलन भन्ने हुँदैन। यदि व्यक्तिले आफ्नो श्रमको प्रयोग गरेर वस्तु वा सेवाको सिर्जना गर्छ भने त्यसको स्वामित्व उसले पाउनुपर्छ। 

विकासको यस्तो अवधारणा नबुझ्दा सबै चिज नियन्त्रण गरेर साम्यवादमा पुगिन्छ भनियो। हामीले त्यस प्रकारको गलत बुझाइ त्याग्नुपर्छ। त्यसैले कम्युनिस्ट साम्यवादको परिकल्पना राम्रो भए पनि व्यवहारमा लागू नहुँदो रहेछ। अतः कम्युनिस्ट भन्नुभन्दा समाजवादी भन्नु उपयुक्त हुन्छ।

तर प्राकृतिक स्रोत र साधनको भने सीमितता हुन्छ। त्यसको चाहिँ निजी स्वामित्वमा राख्ने भन्ने हुँदैन। जमिन, पानी, हावाजस्ता चिज सामूहिकताभित्र राख्नुपर्छ। विकासको यस्तो अवधारणा नबुझ्दा सबै चिज नियन्त्रण गरेर साम्यवादमा पुगिन्छ भनियो। हामीले त्यस प्रकारको गलत बुझाइ त्याग्नुपर्छ। त्यसैले कम्युनिस्ट साम्यवादको परिकल्पना राम्रो भए पनि व्यवहारमा लागू नहुँदो रहेछ। अतः कम्युनिस्ट भन्नुभन्दा समाजवादी भन्नु उपयुक्त हुन्छ। 

समाजवाद भनेको सामूहिक ढंगले राज्यको व्यवस्थापन गर्ने विधि हो। सबै वर्ग र जातिको उन्मूलन गरेर राजकीय समाजको निर्माण सहज नभएको कुरा पुष्टि भइसक्यो। त्यसैले कम्युनिस्ट भनिराख्नु आवश्यक छैन र पदावली पनि ठिक छैन। र, त्यसलाई ‘वाद’को सानो घेराभित्र बाँधिराख्नु पनि हुन्न। त्यसैले लेनिन, माओ, गान्धी आदिका राम्रा कुरालाई ग्रहण गरेर विचारलाई नयाँ ढंगले समृद्ध गर्ने र राज्यले सबैथोक नियन्त्रण गर्ने प्रणाली त्यागेर पुँजीवादभन्दा माथि उठेको आर्थिक प्रणालीलाई अवलम्बन कुरा समाजवादी प्रणाली हो।

यस्तो समाजवादलाई उन्नतिशील वा प्रगतिशील समाजवाद भन्न सकिन्छ। अथवा सहभागितामूलक र समावेशीमूलक समाजवाद पनि भन्न सकिन्छ। कतिपयले यसलाई प्रगतिशील लोकतन्त्र पनि भन्छन्। नाम जेसुकै भए तापनि मानवजातिको व्यक्तिगत स्वतन्त्रताको सम्मान गर्दै विभेदको अन्त्य र साधनस्रोतको सामूहिक ढंगले व्यवस्थापन गरेर जाने यसको सारतत्त्व हुनुपर्छ। 

नेपालको सन्दर्भमा औद्योगिक पुँजीवादको विकास नभइसकेको हुनाले विभिन्न मुलुकको अनुभवबाट सिकेर यहाँको सापेक्षतामा पुँजीवादी भारत र कम्युनिस्ट चीनको बीचमा भएको नेपाललाई सन्तुलनमा राख्न पनि पुँजीवाद र साम्यवादमा आधारित नभई समावेशी र सहभागितामूलक लोकतन्त्रमा आधारित उन्नत खालको समाजवाद भन्नु नै सही हुन्छ।

पछिल्लो समयमा तपाईंले नेपालका कम्युनिस्ट पार्टीहरु वा वामपन्थी आन्दोलनमा मार्क्स सीधै प्रवेश नगरेर स्तालिन र माओको ढोकाबाट पसेकाले यसको योगदान गहिरो नभएर मूलतः उपरी संरचनामा मात्र सीमित रहेको कुरा गर्नुभएको छ, यसको अर्थ नेपालमा मार्क्सवाद नबुझीकनै कम्युनिस्ट भए भन्ने हो?

नेपालको समग्र आन्दोलनलाई राम्रोसँग चिरफार गरेर समीक्षा गर्नुपर्छ जस्तो मलाई लाग्छ। मार्क्सले भनेको समाज विकासको चरण नेपाली समाज कहाँ छ भन्ने आधारमा नै नीति तथा कार्यक्रम बनाउने हो। हामीले युरोपमा विकसित भइसकेको पुँजीवादको व्याख्या गरेर समाजवादपछिको उत्तर पुँजीवादको प्रक्षेपण र विश्लेषण गरेका थियौं। तर यहाँ पुँजीवादको विकास भएको थिएन। औद्योगिक पुँजीवादी राजनीतिक चेतना भएको कुनै शक्ति आवश्यक हुन्थ्यो। 

दुर्भाग्यवश, नेपाली कांग्रेसले आफूलाई पुँजीवादी पार्टीका रुपमा अगाडि सारे पनि पुँजीवादी कार्यक्रम राम्रोसँग अगाडि बढाउन सकेन। सामन्तवादी जमिनदारको संरक्षणमा केन्द्रित भयो। राजतन्त्रको निरंकुशतालाई अन्त्य गर्ने कार्यक्रम पनि लिएन। पुँजीवादको नेतृत्व पुँजीवादी पार्टीले गर्नुपर्ने ठाउँमा नेपाली कांग्रेसले गर्न नसकेपछि कम्युनिस्टहरूले पुँजीवादी क्रान्ति गर्नुपर्‍याे। जसको कारणले यहाँ न त पुँजीवाद आयो न समाजवाद। 

यहाँ चुनाव जितेर पार्टीको आकार त ठूलो भयो। चुनावमा झण्डै दुई तिहाइ बहुमत पनि ल्याए। तर उनीहरू सत्तामा गएपछि तल कुनै आधार नै छैन। त्यसैले उनीहरूको मुख्य काम राज्यको दोहन गर्ने मात्र बन्यो। र, राज्यदोहनले सीमित मान्छे सम्पन्न हुने खालको  ढाँचा बन्यो।

यस्तो हुनुका मुख्य दुईटा कारण थिए। पहिलो, दोस्रो विश्वयुद्धलगत्तै नेपालमा कम्युनिस्ट पार्टीको स्थापना भयो जतिबेला स्तालिनको विश्वयुद्ध विजयपछि अन्तर्राष्ट्रिय प्राधिकार स्थापित भएको थियो। दोस्रो, सन् १९४९ मा माओको नेतृत्वमा चिनियाँ क्रान्तिपछि उनको प्राधिकार स्थापित भएको थियो। नेपालजस्तो पिछडिएको देशमा समान र सूत्रबद्ध खालका स्तालिन र माओका रचनाहरू अनुवाद भएर यहाँ आए। त्यही सरल कुरा पढेर उनीहरूले सिके। यसरी नेपाली कांग्रेसले आफ्नो ऐतिहासिक भूमिका निर्वाह गर्न नसकेको कारण र कम्युनिस्टले विशेष परिस्थितिमा स्तालिन र माओका सूत्रबद्ध रचनालाई नेपालमा लागू गर्न खोज्दा नेपालको आन्दोलन न हाँसको न कौवाको चालमा पुग्यो।

सबैले न्याय पाउँछन्, समानता पाउँछन् र बराबर हुन्छन् भनेर कम्युनिस्ट पार्टीको आकर्षणमा पुगे। तर आर्थिक अवस्था उकासेर उन्नत समाजवादको विकास गर्ने अवस्था थिएन। यहाँ सामन्तवादको अन्त्य गरेर पुँजीवादको निर्माण गर्ने बेला थियो। त्यसकारण यहाँ चुनाव जितेर पार्टीको आकार त ठूलो भयो। चुनावमा झण्डै दुई तिहाइ बहुमत पनि ल्याए। तर उनीहरू सत्तामा गएपछि तल कुनै आधार नै छैन। त्यसैले उनीहरूको मुख्य काम राज्यको दोहन गर्ने मात्र बन्यो। र, राज्यदोहनले सीमित मान्छे सम्पन्न हुने खालको ढाँचा बन्यो। कम्युनिस्टलगायत सबै दलहरूले देशका लागि ऐतिहासिक भूमिका निर्वाह गर्न नसकेको हुनाले नै यो समस्या आएको हो।

अन्तर्वार्ताकाे अघिल्लाे भाग- 
ओलीको उदय र ठूला शक्तिको स्वार्थ टकरावले अस्थिरता उत्पन्न भएको हो : डा. भट्टराई 

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट