काठमाडौं- विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा उल्लंघन गर्ने १ लाखभन्दा बढी सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीले दिएको जानकारी अनुसार हालसम्म १ लाख १ हजार २६४ वटा सवारी साधनलाई नियन्त्रणमा लिइएको हो। यीमध्ये ३३ हजार ३ सय ७८ वटा गाडी र ६७ हजार ८ सय ८६ वटा मोटरसाइकल छन्। नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पछि छोड्ने गरिएको छ।
नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत हालसम्म ४ लाख ४२ हजार ३ सय १ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ।
स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने २२ हजार ५ सय ३७ जनाबाट २२ लाख १५ हजार ५ सय २९ रुपैयाँ जरिवाना संकलन गरिएको समेत प्रहरीले जनाएको छ। साथै ३ लाख ६ हजार २ सय ६८ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ।
देशभर गरिएका ८ हजार ९ सय ११ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत हालसम्म १३ लाख ७३ हजार ६० जनालाई सचेत गराइएको छ। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि हालसम्म ४८ हजार ३९ जना प्रहरी कर्मचारीहरु परिचालित भएका छन्।