संवाद

निधि, शशांक र मबीच सहमतिको सम्भावना छ : प्रकाशमान सिंह [अन्तर्वार्ता]

1624444760.prakashman sing (1).jpg
कांग्रेस नेता प्रकाशमान सिंह। भदौ १६ मा सुरु हुने कांग्रेस महाधिवेशनमा सिंहले सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। तस्बिर : दिनेश श्रेष्ठ

नेपाली कांग्रेसले भदौ १६ गतेदेखि महाधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको छ। यसअघि पनि पटकपटक सरेको कांग्रेसलाई महाधिवशेन यसपटक भने सार्ने सुविधा कांग्रेसलाई छैन। संविधानको धारा २६९ को उपधार ४ (ख) मा प्रत्येक  राजनीतिक दलले बढीमा ५ वर्षमा एकपटक महाधिवेशन गर्नुपर्ने र असामान्य परिस्थितिमा ६ महिनासम्म समय थप गर्न सकिने व्यवस्था छ। कांग्रेसको विधानमा ४ वर्षमा महाधिवेशन गर्नुपर्ने भएपनि संवैधानिक सुविधा लिएर कांग्रेसले गत फागुनमा नै तोकिएको महाधिवेसनलाई भदौमा सारेको थियो। अब भने त्यो सुविधा कांग्रेसलाई छैन। 

आगामी महाधिवेशनमा सभापतिका लागि उम्मेदवारी घोषणा गर्ने क्रम तीव्र भएको छ। पार्टीमा विगतदेखि नै दलको नेतृत्व परिवर्तन गर्नुपर्ने धारणा राख्दै आएका पूर्वमहामन्त्री तथा पूर्वउपसभापतिको जिम्मेवारी पूरा गरेका प्रकाशमान सिंहले पनि सभापतिका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्। उनै सिंहसँग आगामी महाधिवेशनमा उनले गरेको तयारी, कांग्रेस नेतृत्व परिवर्तनको बहस, सभापतिमा उम्मेदवारी दिनेहरूबीच हालसम्म भएका छलफल, महाधिवेशनको मोडालिटीसहित समसामयिक राजनीतिक विषयमा नेपाल समयले गरेको कुराकानीको सम्पादित अंश:

पार्टीमा महाधिवेशनको माहोल तातिएको छ। तयारी कस्तो हुँदैछ? 
अहिले नेपाली कांग्रेसको वैधता संविधानमा गएर टिकेको छ। संविधानमा राजनीतिक दलहरुले एउटा महाधिवेशन गरेको साढे पाँच वर्षमा गरिसक्नुपर्ने व्यवस्था छ। हामीले संविधानमा टेकेर ६ महिना म्याद थप गरेका छौं। त्यो भन्दा पर जाने सुविधा छैन। त्यहाँ भन्दा पर गयौं भने वैधतामा ठूलो प्रश्न चिह्न खडा हुन्छ। बीपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई (किसुनजी), सुवर्ण शमशेरलगायतले स्थापना गरेको पार्टी महाधिवेशन गर्न नसकेर वैधता गुमायो भन्दा सकारात्मक सन्देश जाँदैन। 

जिल्ला भंग भएपछि मैले गरेका गतिविधिका कारणले नै पोखरा महाधिवेशनमा उठेँ। मलाई तेस्रो सर्वाधिक मत प्राप्त भयो। मानिसहरु अचम्ममा परे। पार्टीलाई विधिसम्मत ढंगले चलाउनुपर्छ भनेर आवाज उठाउँछ भनेर नै भोट आएको हो। 

कोरोना महामारी नियन्त्रण नभएको र बाढीपहिरोका घटना हुने मौसममा महाधिवेशन कसरी होला र? भन्ने प्रश्न पनि आइरहेका छन्। बाढीपहिरो आउँछ, कोरोना संक्रमण 'पिक'मै पुग्छ भनेर केही नगरेर बस्ने भन्ने हुँदैन। यही कुरा मैले विगतदेखि नै उठाउँदै आएको पनि छु। पार्टीले गर्न सक्ने काम त  गर्नुपर्‍यो नि! प्राकृतिक प्रकोप आयो, महामारी बढेर गयो भने हाम्रो काबुमा हुँदैन। त्यस्तो भयो भने सोच्ने त्यही बेला हो। अहिलेदेखि नै अनुमान गरेर बसेर त भएन नि। महाधिवेशनका लागि कुर्ने समय अब हामीसँग छैन। भएको समय कामै केही नगरीकन लिइसक्यौं। आम निर्वाचनमा मतदाताको जति महत्त्व छ, हाम्रो पार्टीको महाधिवेशन गर्न पनि क्रियाशील सदस्यको त्यति नै महत्त्व छ। 

महाधिवेशन भएको २ महिनाभित्र विभाग गठन हुनुपर्नेमा चार वर्षको कार्यकाल सकिइसकेपछि गठन भयो। आफूले गर्नुपर्ने काम गर्न नसक्दा एक वर्षको म्याद थप गरियो। पाँच वर्ष बितिसकेपछि पनि महाधिवेशन हुन सकेन। तर यसपटक हामीलाई संवैधानिक बाध्यता छ, तसर्थ जसरी पनि महाधिवेशन गर्नैपर्ने अवस्था छ। महाधिवशेन नगरेर पार्टी नै अवैध भयो भने त राम्रो हुँदैन नि!  

यसअघि पनि पटकपटक महाधिवेशन सरेको थियो। अझै पनि सर्ला कि भनेर आशंका गरिन्छ नि?
हो, यसअघि पनि महाधिवेशनको मिति पटक-पटक तोकियो, कार्यतालिका बनाइयो। तर, कार्यतालिका अनुसारको काममा कमजोरी भयो। कार्यतालिकाअनुसार काम भएको थिएन। विधानअनुसार हरेक चार वर्षमा महाधिवेशन हुनुपर्थ्यो। तर, १३औं महाधिवेशनबाट आएको नेतृत्वले काम गरेन। विधानले निर्देशित गरेका काम पनि उहाँहरुले गर्न सक्नुभएन। यसअघि महाधिवेशन सार्ने सुविधा थियो, अब छैन। अहिले संवैधानिक बाध्यता छ। त्यहीअनुसार क्रियाशील सदस्यतालगायतका विषयमा काम अघि बढेको छ। 

क्रियाशील सदस्यताको विषय टुंग्याउने मिति अबचाहिँ सर्दैन?
पार्टी विधानले क्रियाशील सदस्यता महाधिवेशनको ६ महिना अघि नै टुंग्याइसकेको हुनुपर्छ भनेको छ। तर, त्यसलाई वास्ता गरिएको छैन। सभापतिजीको इन्टेन्सन के हो? बुझ्न सकिएको छैन। अहिले सदस्यता छानबिन भइरहेको छ। विधि र नियमले पाउनुपर्ने सबैले सदस्यता पाउनुपर्छ। छानबिन समितिले बनाएर काम गरिरहेको छ।  मैले सुरु देखि नै सभापतिजीलाई कटअफ डेट राख्नुपर्छ भन्दै आएको हो । क्रियाशील सदस्यका लागि कटअफ डेट भएन भने सबै कुरा अनन्तकालसम्म जाने हुन्छ। महाधिवेशन नजिकै आएकाले यही महिनाको २० गतेसम्म क्रियाशीलको काम सक्ने भनिएको छ। त्यसैअनुसार काम हुन्छ भन्ने अपेक्षा गरौँ। 

भदौ १६ देखि महाधिवेशन हुने तय भएपछि सभापति शेरबहादुर देउवा, उपसभापति विमलेन्द्र निधिलगायतले तयारी थाल्नुभएको छ। नेताहरुबीचको भेटघाट पनि बाक्लिएको छ। यहाँको व्यक्तिगत तयारीचाहिँ कसरी अघि बढाउँदै हुनुहुन्छ?
हामी कांग्रेसका कार्यकर्ता हौं। पार्टीको विधानअनुसार नै हामी चल्नुपर्छ। मैले चाहिँ सुरुदेखि नै पार्टीलाई विधि र पद्धति अनुसार चलाऔं भन्दै आएको छु। मैले यसो भन्दा धेरैले यो मान्छे खरो छ, विधिनियमको मात्रै कुरा गर्छ पनि भन्छन्। तर विधि र नियम पालना भएन भने पार्टी त अस्तव्यस्त हुँदो रहेछ। अराजक अवस्थामा जाँदो रहेछ।

म ०५६ साल अघिसम्म काठमाडौं जिल्लाको सभापति थिए। राजधानीको राजनीतिमा मात्रै सक्रिए भएर बसेको थिएँ। ०५६ सालमा पोखरामा भएको १०औं महाधिवेशन तय भएपछि केन्द्रीय कार्यसमितिले १६ वटा जिल्ला कार्यसमिति भंग गर्‍यो। त्यसमा काठमाडौं पनि पर्‍यो।

पहिलो निर्वाचित महामन्त्री र उपसभापति पनि भइसकेँ। त्यसैले अब सभापतिका लागि 'नेचुरल क्यान्डिडेट' हुँ।

त्यो बेला मैले प्रजातान्त्रिक पार्टीभित्र महाधिवेशनको मिति तय भएपछि निर्वाचित अंगलाई भंग गर्न पाइन्छ? भनेर प्रश्न गरेँ। केन्द्रीय कार्यसमितिले भन्दैमा हुँदैन भनेर मैले अभियान छेडेँ। १६ वटै जिल्लालाई बोलाएर 'प्रोटेस्ट 'गरेँ। त्यसपछि 'यो प्रकाशमानले आफूलाई के ठान्छ? गिरिजाबाबुले गरेको निर्णयलाई च्यालेन्ज गर्छ। के ठान्या छ?' भन्नेहरु पनि थिए। मैले विधिनियमअनुसार हुनुपर्छ भन्ने अडान लिएँ। जिल्ला भंग भएपछि मैले गरेका गतिविधिका कारणले नै पोखरा महाधिवेशनमा उठेँ। मलाई तेस्रो सर्वाधिक मत प्राप्त भयो। मानिसहरु अचम्ममा परे। पार्टीलाई विधिसम्मत ढंगले चलाउनुपर्छ भनेर आवाज उठाउँछ भनेर नै भोट आएको हो। 

०५६ सालदेखि अहिलेसम्म म केन्द्रीय सदस्य, पहिलो निर्वाचित महामन्त्री र उपसभापति पनि भइसकेँ। त्यसैले अब सभापतिका लागि 'नेचुरल क्यान्डिडेट' हुँ। म तल्लो तहदेखि राजनीतिमा लागेको मान्छे हुँ। नेविसंघको साधारण सदस्यबाट सुरु गरेर प्रतिबन्धित कालमा कार्यक्रम गर्न बेन्च बोक्नेदेखि, वाल पेन्टिङ, पोस्टरिङ गरेको मान्छे हुँ। म नेविसंघको जिल्ला सभापति पनि भए। ४० सालदेखि जिल्ला कार्यसमितिको सदस्य हुँदै नेतृत्व पनि गरेँ। मैले पाएका जिम्मेवारी राम्रोसँग बहन गरेको छु। जिल्ला सभापति हुँदा पनि त आफैं दौडिएर पहिलो पटक वडामा इकाइ गठन गरेको थिएँ। फलस्वरुप बहुदलीय व्यवस्था आएपछि पार्टीको जग बस्यो। 

तल्लो तहबाट आएर पार्टीको सेकेन्डम्यान भएर काम गरिसकेको छु र अनुभव पनि छ। त्यसैले एकपटक केन्द्रीय सभापतिमा अवसर दिनुहोस् भनिरहेको छु। 

तत्कालीन राजा ज्ञानेन्द्रले शासन हातमा लिँदा शाही आयोग बनाइएको थियो। मलाई हाजिर हुन बोलाइयो। मैले असंवैधानिक आयोगलाई सहयोग गर्दिनँ भनेकै हो। गर्ने हो भने विधिसम्मत गर, नत्र म सहयोग गर्दिनँ भनेको हुँ। त्यो बेलामा नाम किन लिने तर, क्रान्तिकारी भनौदाहरु बयान दिन गएकै हुन्। म बयानै दिन गइनँ। मलाई यहीँ (आफ्नै निवास)बाट घिसारेर लगेर ११ महिना नजरबन्दमा राखेकै हो।

पार्टी पद्धतिअनुसार सबै चल्नुपर्छ भन्ने मान्यता मेरो छ, विधिको शासनलाई पालना गर्नुपर्छ भन्ने हो। तल्लो तहबाट आएर पार्टीको सेकेन्डम्यान भएर काम गरिसकेको छु र अनुभव पनि छ। त्यसैले एकपटक केन्द्रीय सभापतिमा अवसर दिनुहोस् भनिरहेको छु। 

निर्वाचनको समयमा नेतृत्वको परीक्षण हुन्छ। १६५ सिटमध्ये कांग्रेसमा २३ सिटमा मात्रै जित्ने कारण के त? फेरि समानुपातिक राम्रो मत आएपनि प्रत्यक्षमा राम्रो भएन। त्यसले नेतृत्व ठीक छैन भन्ने देखाउँछ। निर्वाचनको परिणाम आउनसाथ मैले नेतृत्व परिवर्तनको आवश्यकता छ भनेर भनेको हुँ। अहिलेका पार्टी सभापति शेरबहादुर देउवालाई जनताले रुचाएनन् र कार्यकर्ता पनि खुसी छैनन्। मुलुकको संविधानलाई रक्षा गर्न र पार्टीलाई बलियो बनाउनका लागि जनताको चाहना, कार्यकर्ताको भावनाअनुसार नेतृत्व परिवर्तन हुनुपर्छ भनेर सुरुदेखि नै भनेको हुँ।

नेतृत्व परिवर्तनको कुरा गर्दा अहिले थुप्रै नाम आइरहेका छन्। निर्वाचन लड्ने सबैको अधिकार हो। तर, अहिलेको परिस्थितिमा पार्टीसभापतिको टिममा उपसभापति, महामन्त्री, सहमहामन्त्री, केन्द्रीय सदस्यहरु राम्रो छान्न वडादेखि नै राम्रो मान्छे छान्नुपर्छ भन्ने मेरो आग्रह छ।  अहिले भेटघाट, कुराकानी र छलफलकै क्रममा तयारी अघि बढाएको छु। 

केही दिनअघि विमलेन्द्र निधि र शशांक कोइरालासँग यहाँले पनि छलफल गर्नुभएको थियो। कांग्रेसका तीन संस्थापकका पुत्रबीच भएको 'लन्च मिटिङ'ले दिन खोजेको सन्देश चाहिँ के हो?
कांग्रेसको स्थापनाकालदेखि नै संस्थापक नेताहरुले गरेको योगदानको बारेमा सबैलाई थाहा छ। अहिले बीपीको छोरा, गणेशमानको छोरा, महेन्द्र नारायणको छोरा बसेर एकै ठाँउमा आएर पार्टी सम्हाल्छौं भन्ने सन्देश हो। यो राम्रै सन्देश हो। तर, हामी तीन जना नै पार्टी सभापतिका अकांक्षी हौं। तर, पार्टी सभापति आखिरमा हुने एक जना मात्रै हो। त्यसमा पनि हामीहरुले पार्टी सम्हाल्ने समय भइसक्यो, अग्रजहरुले त्यत्रो संघर्ष र त्याग गरेर बनेको यो पार्टी १३औं महाधिवेशन पछि कमजोर बन्यो भन्ने हाम्रो निष्कर्ष हो। त्यसैले नियमित रुपमा बसौं, समय धेरै छैन। टिम कसरी बनाउने त्यसमा लागौं भनेर नै हामी बसेका हौं।  

म जिल्लामा जाँदा देखेर होस् वा मेरो आफ्नै अनुभवले होस्, पार्टी संस्थागत भएको देखेको छैन। समथर्कहरु धेरै छन्। उनीहरुले आदर्श, सिद्धान्त राम्रो छ, सहयोग गर्न चाहन्छौं भन्नेहरु छन्। तर, पार्टी संस्थागत हुन नसक्दा व्यक्ति विशेष नेता वा समुहलाई 'ए' कांग्रेस, 'बी' कांग्रेस र 'सी' कांग्रेस भनेर भन्नुपर्ने अवस्था छ।

हामीबीच सहमतिको सम्भावना छ। त्यही सम्भावना देखेरै हामी छलफलमा बसेका हौं। सम्भावना नभएको किन बस्थ्यौं र? छलफल गर्दै जाने र छलफलबाटै निचोड निकाल्छौं।  

त्यसैले १४ औं महाधिवेशनबाट यसलाई 'करेक्सन' गर्नुपर्छ। विगतमा भएका कमजोरीलाई केलाएर सुधारको बाटोमा जानुपर्छ। त्यसो गर्न पार्टीलाई संस्थागत गर्नुपर्छ। वडादेखि केन्द्रसम्म विधानमा भएको संरचना बलियो बनाउनुपर्छ। र ती संरचनाले निरन्तर काम गर्नुपर्छ। जीवन्त पार्टीका संरचनाले जनतासँग अन्तरक्रिया गर्नुपर्यो, कार्यकर्तासँग अन्तरक्रिया गर्नुपर्छ। तर, अहिले हाम्रो अवस्था महाधिवेशन हुने भएपछि खहरे खोला जस्तो, महाधिवेशन सकिएपछि सुख्खा हुन्छ। यस्तो हुनुभएन। जीवन्त हुनुपर्‍यो, निरन्तर बगिरहनुपर्‍यो। पार्टी संस्थागत गर्न एकपटक मलाई सहयोग गर्नुहोस्। म सुधारको नेतृत्व गर्न चाहन्छु भनिरहेको छु। म टिमवर्क र पावर सेयरिङमा विश्वास गर्छु। पद मात्रै ठूलो कुरा होइन। गत महाधिवेशनमा म महामन्त्री थिएँ, तर बीपीपुत्र शशांकलाई प्रस्ताव गरेर अघि बढाएको हो, त्यसबाट तपाईंहरुले बुझ्नुहोस् भनेको छु।  

तपाईहरुको आपसी सहमतिमा तीन जना मध्ये एकजना उम्मेदवार बन्ने सम्भावना पनि छ कि?  
हामीबीच सहमतिको सम्भावना छ। त्यही सम्भावना देखेरै हामी छलफलमा बसेका हौं। सम्भावना नभएको किन बस्थ्यौं र? छलफल गर्दै जाने र छलफलबाटै निचोड निकाल्छौं।  

कांग्रेसमा विरासतको ब्याज खाने धेरै भए भन्ने आरोप लाग्दै आएको छ। के भन्नुहुन्छ?  
मान्छेले अनेकौँ टिप्पणी गर्छन्। केही गर्दै नगरी आमाबुवा, दाजुदिदीले गरेको योगदानमा आएर त्यही ठाँउमा बस्यो भने न विरासतको कुरा आउँछ। म त तल्लो तहदेखि प्रतिबन्धित अवस्थाबाट राजनीतिमा लागेको व्यक्ति हुँ। जेल बसेको, प्रजातन्त्र संकटमा पर्दा संघर्ष गरेको मान्छे हुँ। नेताको पहिचान संकटका बेला हुन्छ। मैले राजनीति नै नगरी व्यवसायमा लागेर रिटायर्ड लाइफ बिताउने समयमा आएर मेरो फलानोले यसो गरेको थियो भनेर आएको थिएँ भने विसरातको ब्याज खायो भन्ने हुन्थ्यो। तर, मेरो केसमा विरासतको राजनीति गर्‍यो र ब्याज खायो भन्ने कुरा लागू हुँदैन। यो यहाँहरूले नै पनि देख्दै आउनु भएकै कुरा हो।  

नेताहरुले उम्मेदवारी घोषणा गर्ने क्रम बढेको छ। विगतका महाधिवेशनमा झैं यो पटक प्यानलै बनाएर जाने सम्भावना कति देख्नुभएको छ?  
टिमवर्क भनेको महत्त्वपूर्ण हो। सकेसम्म राम्राहरुलाई समेटेर आफ्नो टिममा राखेर चुनाव लड्ने हो। आफूसँग, आफ्नो कार्यशैलीसँग मिल्ने र विधि, नियम मान्नुपर्छ भन्नेहरु एक ठाँउमा आउँछन्। विधि अनुसार होइन, पदमा पुगेपछि आफ्ना मान्छेले जे गरेपनि हुन्छ, आफूले जे गरेपनि हुन्छ भन्ने ठिक भएन भन्ने हो। 

यहाँको सभापति पदमा उठ्ने घोषणा चाहिँ प्रधानमन्त्री बन्ने चाहनासँग सम्बन्धित छ, प्रधानमन्त्री बन्ने शर्तमा तपाईँ अन्तिममा कुनै नेतालाई सभापति छोड्न तयार हुनुहुन्छ भन्ने आकलन पनि गरिन्छ नि?
प्रधानमन्त्री हुनका लागि पहिले पार्टी बलियो हुनुपर्छ। पार्टी कमजोर भयो भने कांग्रेसको सरकार कहाँ बन्छ? सरकारको नेतृत्व गर्न पार्टी संस्थागत रुपमा चल्नुपर्छ। जनताको माग अनुसार राष्ट्रिय, प्रदेश र स्थानीय विषयबस्तुलाई ग्रहण गरेर त्यसलाई हल गर्न सक्ने सक्षम पार्टी बनाउनुपर्छ। त्यो काम १४औं महाधिवेशन पछि आउने नेतृत्वले गर्ने हो। डेलिभर गर्न सक्नुपर्‍यो। खाली इतिहासको कुरा गरेर मात्रै त हुँदैन। 

संविधान र कानुनसँग बाझिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध उजुरी परिसकेपछि न्यायालयको काम सच्चाउने नै हो।

पार्टी बलियो बनाउने विषयमा पनि मैले सोचिरहेकै छु। अब हामी तल्लो तहदेखि अन्तरक्रिया गरेर निर्वाचन अघि नै प्रतिज्ञापत्र बाँड्छौं। कांग्रेसले अधिकार दिलाउन नेतृत्वदायी भूमिका खेल्यो। संविधान जारी गर्ने काम कांग्रेसले गरेको हो, प्राप्त उपलब्धिलाई संस्थागत गर्दै आउँदा दिनमा हरेकको जीवन र जीविकोपार्जन सहज होस् भन्ने चाहना पूरा गर्न हामी लाग्नेछौं। जेष्ठ नागरिक, महिला, बेरोजगार र कृषकका हकमा के गर्छ भन्नेदेखि लिएर वातावरणीय दृष्टिकोणबाट अनुकुल हुने गरी प्राकृतिक स्रोतको सदुपयोग गरेर अर्थतन्त्र कसरी सुधार गर्ने भन्नेसम्मको विस्तृत खाका तयार गरेर अघि बढ्नुपर्छ। सबै वडा, पालिका, प्रदेश निर्वाचन क्षेत्र, निर्वाचन क्षेत्र, जिल्ला र प्रदेशमामा बृहत छलफल गरे खाका बनाउने काम हामीले गर्नेछौं। केन्द्रमा सबै विभाग गठन गरेर त्यहाँ छलफल पछि मूर्तरुपमा दिएर प्रतिज्ञापत्र तयार गर्छौं। जनतामा कांग्रेसले गर्छ भन्ने आशा जगाउने काम गर्नुपर्नेछ। पुराना कुरा गरेर मात्रै केही हुँदैन।  

नेतृत्वको परिवर्तनको बहस चलिरहँदा वर्तमान नेतृत्वलाई हटाउन सबै एकै ठाँउ आएर कांग्रेसभित्रको 'महागठबन्धन' बन्ने सम्भावना कति छ?
एक वर्षअघि मेरो निवासमा भएको बैठकले पार्टी सभापतिजीको कार्यशैलीबाट पार्टी सफल हुँदैन भनेर निष्कर्ष निकालेका थियौं। तीनचार दिन चलेको बैठकले पार्टीलाई समयको माग अनुसार नेतृत्व दिन नसकेकाले कांग्रेस कमजोर भएको छ। त्यसलाई परिवर्तन गर्न उहाँको कार्यशैलीसँग सन्तुष्ट नभएकाहरु एकठाउँमा आउनुपर्छ भनेर भनेका थियौं। महाधिवेशन प्रतिनिधि आइसकेपछि उनीहरुको विचार सुनौं र को कहाँ बस्ने भनेर टुंगो लगाऔं भन्ने समझदारी हो। त्यो समझदारी मान्नेहरु एक ठाँउमा हुन्छन्। समझदारी तोडेर जानेहरु जान्छन्।  

एकातिर महाधिवेशन गर्नैपर्ने संवैधानिक बाध्यतामा कांग्रेस छ। अर्कोतर्फ कोरोना महामारी र बाढीपहिरोको मौसम पनि छ। महाधिवेशनको मोडल परिवर्तन गर्ने विषयमा त छलफल भएको छैन नि?
निर्वाचनको मतदाता नामवलीदेखि लिएर निर्वाचन स्वच्छ बनाउने जिम्मेवारी निर्वाचन समितिको हो। निर्वाचन समितिले अहिलेको परिस्थितिको मूल्यांकन गर्ने र महाधिवेशन सम्पन्न गर्ने विषयमा सोचिरहेकै हुनुपर्छ। समितिले सुझाव माग्यो भने हामीले यसो गरे कसो होला! भनेर सुझाव दिने हो। नमागेसम्म त कसरी दिने र?

पत्रकार महासंघ र बार एसोसिएसनको जस्तै जिल्लाजिल्लाबाट मतदान गर्ने मोडलमा जानसक्ने संभावना छ? ‍
यो कुरा चाहिँ उठिरहेको छ। तर, यो विषय निर्वाचन समितिको क्षेत्राधिकारभित्र पर्छ। यो विषयमा उसले सोचिरहेकै होला। परिस्थिति के हुन्छ त्यसलाई हेरेर निर्णय लिनुपर्छ र विकल्पमा जानैपर्ने हुन सक्छ।  

राष्ट्रिय राजनीतिको कुरा गर्दा कांग्रेससहितका विपक्षी दलको गठबन्धन बनेको छ। यसको विषयमा कांग्रेसभित्रै प्रश्न उठेको छ नि?  
प्रजातान्त्रिक पार्टीमा प्रश्न उठ्नु सामान्य कुरा हो। प्रधानमन्त्री केपी शर्मा ओलीको पुस ५ को असंवैधानिक कदमपछि पार्टीको केन्द्रीय समिति बैठक बस्यो। पुस ५ को कदम असंवैधानिक र अलोकतान्त्रिक भएको निष्कर्ष निकाल्यो। यसलाई सच्चाउनुपर्छ र त्यसका लागि कानुनी र राजनीतिक लडाइ लड्नुपर्छ भनेर हामीले भनेको हो। हामीले त्यो बेला वडादेखि जिल्लातहसम्म विरोध कार्यक्रम गरेका हौं। महामारीको बेला स्वास्थ्य मापदण्ड अपनाएर काम गरेका हौं। 

त्यो बेला ज–जसले त्यो कदम असंवैधानिक र अलोकतान्त्रिक छ भन्ने राजनीतिक दललाई हामीले समेट्नु पर्‍यो। एमालेको माधव नेपाल, झलनाथ खनालको समूह, जसपामा बाबुराम, उपेन्द्रको समूहले पनि विरोध गरेको हो। उहाँहरुको पार्टीमा विवाद हुँदा कांग्रेसमा विवाद थिएन नि त। प्रतिनिधि सभा विघटनलाई असंवैधानिक र लोकतान्त्रिक भन्नेहरुबीचमा गठबन्धन बनेको हो। 

पछिल्लो समय सरकार निर्णय गर्दै जाने अदालत उल्टाउँदै जाने शृंखला चलिरहेको छ। हिजो मात्रै मन्त्रिपरिषद् विस्तारको निर्णयलाई अदालतले उल्टाइदिएको छ। यसमा यहाँको धारणा के छ, कांग्रेसले कसरी लिएको छ? 
सरकारले विधिको शासन पालना गर्नुपर्छ। म प्रधानमन्त्री भएँ, म मन्त्री भएँ भन्दैमा विधिविधान केही होइन भन्नु त भएन नि! संविधान र कानुनसँग बाझिने मन्त्रिपरिषद्को निर्णयविरुद्ध उजुरी परिसकेपछि न्यायालयको काम सच्चाउने नै हो। 'चेक एन्ड ब्यालेन्स'को प्रजातान्त्रिक प्रणालीमा व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका छ। कार्यपालिकाले गर्न नहुने काम गर्‍यो र उजुरी आयो भने त न्याय दिनुपर्छ।

पहिलो पटक भएको प्रतिनिधिसभा विघटन हुँदा अदालतले विघटनको निर्णय बदर गरेको थियो। दोस्रो पटक विघटन हुँदा अदालतमा सुनुवाइ जारी छ। दोस्रो पटक पनि अदालतले न्याय दिनेमा कत्तिको विश्वस्त हुनुहुन्छ? 
यो प्रधानमन्त्रीले मध्यरातमा सिफारिस गरेर, मध्यरातमै राष्ट्रपतिज्यूले सदर गर्नुभयो। संविधानको धारा ६१ अनुसार राष्ट्रपतिको कर्तव्य संविधानलाई पालना गराउने र संरक्षण गर्ने हो। तर, विधि प्रक्रिया पूरा नगरी मन्त्रिपरिषद्‍ले सिफासिर गर्‍यो भन्दैमा आँखा चिम्लिएर निर्णय गर्ने होइन। संविधानको धारा ७६ (५) बमोजिम सरकार गठनका लागि आह्वान गरेको हो। २१ घण्टाको मात्रै समय दिइएको थियो। १४९ सांसदहरुको हस्ताक्षरसहित सभापति देउवाले प्रधानमन्त्री पदमा दावी गर्नुभएको हो। संसदमा बहुमत सिद्ध गर्न सक्ने आधारसहितको कागजात दिएपछि त्यो हेर्नेुपर्ने हो। त्यसैले संविधान अनुसार गर्न नहुने काम मन्त्रिपरिषद्‍ले गर्‍यो, त्यो सिफारिसलाई चेक नगरी सदर गरेको भनेर हामी न्याय माग्न अदालत गएका छौं। हामीले न्याय पाउँछौं भन्नेमा हामी विश्वस्त छौं।

सबै तस्बिर : दिनेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट