शनिबार, वैशाख ८, २०८१
  • गृहपृष्ठ
  • समाज
  • आमाको 'लेन्स'मा यस्तो छ नुभिव हत्याकाण्डको कथा, सोध्दैछिन्- प्रहरी किन आनाकानी गर्छ?

आमाको 'लेन्स'मा यस्तो छ नुभिव हत्याकाण्डको कथा, सोध्दैछिन्- प्रहरी किन आनाकानी गर्छ?

‘तामाको मुनाजस्तो’ छोरोलाई गुमाउनुपर्दा एउटी आमाको मन त त्यसै पनि भक्कानिन्छ नै। तर पनि सम्बन्धित निकायले घटनालाई तोडमोड गर्न खोज्दा त्यसले आक्रोश पनि पैदा गर्छ भन्ने उदाहरण हुन् भगवती।
 |  सोमबार, जेठ १०, २०७८

विभु भुसाल

विभु भुसाल

सोमबार, जेठ १०, २०७८

पोखरा– परिवारमा लर्तरो मानिस भएको भए ललितपुरको खुमलटार निवासी १८ वर्षीय नुभिव उप्रेती अहिले सायद बिर्सिइसकेका हुन्थे। जिल्ला प्रहरी कार्यालय कस्कीमा उनले ‘आत्महत्या’ गरेको रेकर्ड दर्ज हुन्थ्यो, परिवारले काजकिरिया गर्थे, अनि सकिन्थ्यो। 

triton college

तर नुभिवकी आमा भगवतीकुमारी मैनालीलाई आफ्नो छोराको हत्याको वियोगसँगसँगै कास्की प्रहरीले जसरी एउटा हत्यालाई आत्महत्या करार गर्ने प्रयास गर्‍यो, त्यो अन्यायको आक्रोश पनि जाग्यो। जुन आक्रोशपछिका गतिविधिका कारण अहिले आफ्नो छोराको हत्या अभियोगमा दुईजना युवक थुनामा छन्, भने एकजना सुधारगृहमा छन्। 

प्रहरीले फेवातालमा छोराको शव भेटिएको खबर गरेपछि उनी ललितपुरबाट तत्काल पोखरा आइन्। पोखरा आउनेबित्तिकै उनलाई वडा प्रहरी कार्यालय बैदाममा आफ्नो छोराले आत्महत्या गरेको कागज गर्न लगाएर मात्रै पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा रहेको छोराको शव हेर्न दिइयो। 

छोराको शव हेरेपछि उनी विक्षिप्त भइन्। प्रहरीमा आत्महत्या गरेको कागज गरेको छ, यता छोराको शव हेर्दा कुनै पनि कोणबाट आत्महत्या जस्तो लाग्दैन। उनलाई शंका लाग्यो र पुनः बैदाममा गएर हत्या भएको जाहेरी दिने प्रयास गरिन्। तर वडाले त्यहाँ हत्याको जाहेरी लिन अस्वीकार गर्‍यो। 

त्यसपछि उनीभित्रको आक्रोश जाग्यो। ‘शव हेर्दा जसले पनि भन्छ कि यो त कुटपिटबाट मृत्यु भएको हो,’ उनले नेपाल समयसँग भनिन्, ‘तर प्रहरी अन्तिमसम्म पनि आत्महत्या भनेर टार्न खोजिरहेको छ।’ 

corrent noodles
Metro Mart

श्रीमान्, केही आफन्त र साथीभाइ लिएर पोखरा आएकी भगवतीले छोराको गुप्तांगबाट रगत बगेको, घाँटीमा दाग, तिघ्रामा रगत, अनुहार र टाउकोमा चोट, कोखामा निलडाम देखेपछि निर्घात कुटपिटबाटै हत्या भएको निष्कर्षमा पुगिन्। अन्तिमसम्म पनि प्रहरीले उनको छोराले आत्महत्या नै गरेको हो भन्ने प्रमाणित गर्न र घटनालाई अन्यत्र मोड्न प्रयास गरेको उनको आरोप छ। 

के थियो घटना? 

भगवतीका अनुसार नुभिव वैशाख ३ गते कलेज गएपछि घर फर्किएर आएनन्। बुबाको साथ लागेर सिटिजन कलेजमा गएका उनी कहिल्यै घरमा फर्किएनन्। 

भगवती भन्छिन्, ‘१२ कक्षाको पढाइ सकाएर आईटी विषयमा ब्याचलर पढ्दै थियो। अरुको दुःख देख्न नसक्ने दयालु स्वभावको थियो। सबैसँग राम्रो व्यवहार गर्ने र शाकाहारी थियो। उसले परिवारलाई भान्साको कामसम्म सघाउँथ्यो। संगीत र आईटीमा रुची थियो। गितार बजाउने, गीत गाउने उसको शोख हो। 

वैशाख ३ गते बिहानै मलाई तातो पानी बनाएर दियो। उसले नै मेरो स्कुटर निकालिदियो र म पौने नौ बजेतिर कलेज पढाउन निस्किएँ। उसले आफैँ पस्केर खाना खाँदै थियो। जानेबेला किताब किन्नुपर्छ? भनेर सोधेको थिएँ। म कलेजमै लाइब्रेरीमा पढ्छु भनेर जवाफ दियो। सवा १० बजेतिर बुबासँग सिटिजन कलेज गयो। छोरोलाई छोडेर उहाँ (रत्नप्रसाद उप्रेती) फर्कनुभयो।

कलेज छुट्टी भएपछि उहाँ छोरो लिन जाँदा छोरो भेटिएन। मोबाइल पनि अफ छ भनेर उहाँले मलाई फोन गर्नुभयो। मैले कलेजमा राजकुमार प्याकुरेल सरलाई फोन गरेँ। उहाँले नुभिव कलेज आज आएको छैन भन्नुभयो। त्यसपछि उसको नजिकको साथी विप्लवलाई कल गरेँ। विप्लवकै सहयोगमा उसका अरु साथीहरुलाई पनि फोन गरेँ। यसबीचमा नुभिवलाई पनि पटक पटक गरेँ। उसको फोन अफ नै थियो। छोराकै खाजा खान जाने ठाउँ पाटन दरबार स्क्वायरदेखि विभिन्न ठाउँमा राति ११ बजेसम्म खोजतलास गरियो। नभेटिएपछि जावलाखेल प्रहरीलाई रिपोर्ट गरी हुलिया टिपाएँ। उसका साथीहरुलाई नुभिवबारे केही जानकारी आएमा मलाई खबर गर्नु भनेर म घर फर्किएँ।

राति साढे १२ बजे उसको ह्वाट्सएपमा बाबु कहाँ छौ? मलाई म्यासेज गर भनेर सुतेँ। छोरोले राति मेरो म्यासेजको रिप्लाइमा आफ्नो फोनको पासवर्ड, आएमई पे र मोबाइल बैंकिङका पासवर्डहरु सबै डिटेल पठायो। म बोल्न सक्दिनँ मामु, म पोखरा छु भनेर म्यासेज आयो। म हराएँ। मैले आफू बसेको होटल देखिनँ, मलाई पिट्यो भनी पुलिसलाई भन्दा वास्ता गरेन भनेपछि छोरालाई पक्कै निकै अप्ठेरो परेको महसुस गरेँ।

जेठाजुले पोखरा फेवातालमा शव भेटिएको भन्ने निजगढमा हल्ला छ रे भन्नुभएपछि मनमा चिसो पस्यो। बिहान ८ बजेतिर बुद्धिसागर पुरी, प्रहरी इन्स्पेक्टर पोखराबाट भनेर भाइबरमा छोराको फोटो पठाउनुभयो। छोरोको हालत थाहा भएपछि तत्काल पोखरा आयौं। पोखरा आई बैदाम प्रहरीसँग सम्पर्क गर्दा तालमा डुबेको अवस्थामा मृत व्यक्ति फेला परेको जानकारी पाएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको शवगृह पुगेँ। छोराको सनाखत गरेँ। सुरुमै हुलिया जाहेरी दिन लगाए। मैले शव पूरै हेरेकै थिइनँ।’

छोराको शव काठमाडौं लगेपछि आमा भगवतीले वैशाख ३ गते के के भयो भनेर सबै बुझ्न थालेकी थिइन्। उनले भनिन् ‘उसको इमेलबाट गुगल म्यापमा हेर्दा दिउँसो पौने २ बजे काठमाडौंको बाबा पेट्रोल पम्प नजिक लोकेसन ट्रेस भएको छ। म्यापअनुसार त्यसपछि एकैचोटी राति १२ बजेर ३२ मिनेटमा पोखराको लोकेसन देखिएको छ। राति २ बजेर ४९ मिनेटसम्म लेकसाइड नै देखिन्छ। छोराले बुक गरेको होटल वेलकम इनमा राति ९ बजे पुगेको होटल धनीले बताएकाले कति बजे पोखरा आएको चाहिँ खुल्न सकेन। 

छोरो राति १० देखि १२ बजेसम्म ट्रेजरमा रहेको खुलेको छ। छोराको बैंक अकाउण्ट चेक गर्दा मध्यरात १२ः४५ बजेको समयमा किंग्स लाउञ्जमा १ हजार तिरेको देखिन्छ। त्यसबेलाको फुटेज किंग्स लाउञ्जले उपलब्ध गराउन म माग गर्छु। छोराको मोबाइलबाट बिहान ६ बजेर ४९ मिनेटमा उसको साथी सहिष्णुलाई फोन गएको छ। बिहान नउठिसकेका कारण उसले उठाएको रहेनछ। जबकि ६ बजेर ४० मिनेटमै उसको शव फेवातालमा भेटिसकिएको छ भने मरेपछि कसले गरेको फोन? अनि अहिलेसम्म फोन खै त?

प्रहरीले मोबाइल नै थाहा छैन भन्छ। प्रहरीले मोबाइल खोज्नुपर्‍यो नि। मेरो फोनमा ३ः१५ मा म्यासेज आएको छ। ३ः१८ उसले पठाएको म्यासेज नै नबुझिने शब्दमा अंग्रेजी लेटरहरु छ। त्यसको ५ मिनेटमै स्ट्रिट नं. १३ मा कुटपिट गरिएको छ। लछार्दै रोडमा आएपछि बल्ल पो सिसिटिभीमा देखियो, त्यसअघि देखि नै छोरोलाई पिटेको आँकलन गर्न सकिन्छ। उसले मलाई कुट्यो अंकल भनेर प्रहरीलाई भनिसकेपछि किन संरक्षण गर्न सकेन? उसले होटल देखिनँ, चाबी र ब्याग पनि होटलमै छुट्यो, मैले लिएको बाइक पनि चिनिनँ भनेर प्रहरीलाई भन्दा प्रहरीले किन केही वास्ता गरेन? रातिराति सुरक्षा गर्न भन्दै प्रहरी खटिएको के मतलब भयो? कुटपिट भइरहँदा प्रहरीले किन हेरेन? इन्स्पेक्टर श्याम थापा र सई कुलप्रसाद ढकाल सहितका प्रहरीहरु त्यो दिन ड्युटीमा हुनुहुन्थ्यो।

सिसिटिभी फुटेजमा के देखिन्छ?

वैशाख ४ गते बिहान ३ः२३ बजे पोखरा ६ लेकसाइडको स्ट्रिट नं. १३ मा केही मोटरसाइकल र निजी सवारी चलिरहेका छन्। नेपाल प्रहरीको गाडी पास भएको देखिन्छ। गाडी जानेबित्तिकै चेक सर्ट लगाएका, कपाल पालेका एक जना युवकलाई हेल्मेट लगाएका र सेतो सर्ट लगाएका दुई जना युवकले लछार्दै, पिट्दै लात्तिले हान्दै रोड क्रस गराइरहेका बेला अर्को रातो हुड लगाएका युवक पनि मिसिन्छन् र सडकपेटीमा लडाएर निर्घात कुट्छन्।

लगत्तै ३ जना प्रत्यक्षदर्शी गएर रोक्छन्। हेलमेट लगाउने युवक स्कुटर ल्याएपछि समेत फर्की फर्की गएर लात्तीले भकुर्छन्। ३ मिनेटसम्म प्रहरी घटनास्थलसम्म पुगेको देखिन्न। कुट्ने तीन जना माथि उल्लेखित आशिष राई, बिगेन गुरुङ र बासुदेव गुरुङ हुन्। कुटाई खाने नुभिव उप्रेती हुन्।

प्रहरीको आनकानी 

भगवतीले घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीले आनाकानी गरिरहेको आरोप लगाएकी छिन्। ‘हामीलाई देखाइएको फुटेजमा पनि प्रहरीले छोरोलाई केरकार गरिरहेको, अन्य धेरै युवकहरुले हेरिरहेको देखिएको छ। कुटपिट भएको छ भन्ने थाहा पाउने प्रहरी त्यही युवक फेवातालमा मृत भेटिँदा आत्महत्या भनेर किन पटक पटक जाहेरी लिनै मानेन?’ प्रहरीको रवैयाबारे उनले आक्रोश पोखिन्। उनले छोरो गएको भनिएको किंग्स लाउञ्जको १२ः४५ को सिसिटिभी फुटेज र ट्रेजर लाउञ्ज बारमा जडित सिसिटिभी फुटेज प्रहरीले उपलब्ध गराउन नसकेको पनि बताइन्। 

‘म यति मात्र चाहन्छु कि, त्यो रात कुटपिट भएपछि तालबाराही मन्दिर आसपासको फुटेज प्रहरीले तत्काल झिकाउनुपयर्‍यो। नुभिव लेकसाइडको त्यो स्थान वरपर नै छ। उसलाई कसरी लगेर मारेर फाले? त्यो हामीले थाहा पाउनुपर्छ। मेरो छोरो आईटी पढेको र चलाख छ। उसले आफूलाई अब मार्छन् भनेरै मलाई मोबाइलको पासवर्ड म्यासेज पठाएको हो।’ घटना अनुसन्धानका लागि उनले भनेकी थिइन्।  

उनी भन्छिन्, ‘उसको एक जना साथी ऋतिक जैसवाल पनि पोखरामा नै रहेको भन्ने बुझिएकाले यो सम्बन्धमा पनि अनुसन्धान होस्। कलेज छोडेको छोरो किन एक्लै पोखरा आयो? यसतर्फ प्रहरीले बुझोस्। मेरो छोरोको मोबाइल जस्ताको तस्तै मेरो हातमा परेमा मैले नै थप कुरा थाहा पाउन सक्छु। तर, मरेपछि पनि फोन गरिरहेको मेरो छोराको मोबाइल कहाँ छ? उसले बुक गरेको भनिएको होटल नै अहिले उठेको अवस्था छ।’

नुभिवकी आमा भगवती मैनाली। उनी कलाकार पनि हुन्।

छोरोलाई मरणासन्न हुने गरी कुटिरहेका बेला बाटो हिँडेका सरोज भट्टराई नाम गरेका भाइले देखेर उसले रोकेर पुलिसलाई फोन गरेर बोलाएको छ। प्रहरी आएर ७–८ मिनेट गफ गर्दा समेत कुट्नेहरु त्यहीँ हुँदा पनि प्रहरीले उनीहरुलाई पक्रेको छैन। सबै घटनाक्रम हेर्दा मरणासन्न गरी पिटेर तालमा लगेर डुबाई मारेको प्रस्ट छ तर डुबेर मरेको भनी घटना लुकाउन खोजेको आरोप उनको छ। 

उनका अनुसार यी सबै काम प्रहरीको हुनुपर्ने थियो। तर सबै अनुसन्धान नै आफूले गर्नुपरेको उनको गुनासो छ। ‘हामीले गर्नुपरेको छ ‘प्रहरीबाट केही चित्तबुझ्दो अनुसन्धान नै भएको छैन,’ उनले भनिन्। 

त्यो मिहिनेत र सफलता

छोराको मृत्युको कारण आत्महत्या नभई हत्या हो भन्ने आफूलाई यकिन भइसकेपछि उनले प्रहरीमा छानबिनका लागि याचना गरिन्। तर प्रहरीले उल्टै आत्महत्या करार गर्ने प्रयास गरेको भेउ पाएपछि उनलाई लाग्यो, ‘अब आफैंले मिहिनेत नगरी हुँदैन।’

अनि उनी विभिन्न माध्यमबाट प्रमाणहरु संकलन गर्न लागिन्। प्रहरीले संकलन गर्नुपर्ने प्रमाण आफैंले बुझाइदिएपछि प्रहरी पनि बाध्य भएर घटनालाई कुटपिटपछि हत्या भएको कोणबाट अनुसन्धान गर्न थालेको उनको भनाइ छ।

उनले आवश्यक प्रमाणहरु बुझाएपछि प्रहरीले कुटपिटमा संलग्न तीनजनालाई पक्राउ गरी मुद्दा चलाएपछि कास्की जिल्ला अदालतले यही शुक्रवार दुईजनालाई जेल र एक जनालाई सुधार गृहमा राख्ने आदेश दिएको छ। 

यसरी कारागार र सुधारगृहमा जानेहरुमा खोटाङ, ऐंसेलुखर्क गाउँपालिका वडा नं. २ घर भई कास्की पोखरा वडा नं. ७ घारीपाटन बस्ने वर्षीय आशिष राई उमेर नपुगेका कारण सुधारगृह तथा स्याङ्जा फेदीखोला २ घर भई घारीपाटन बस्ने १९ वर्षीय बिगेन गुरुङ र स्याङ्जा अर्जुनचौपारी ६ घर भई घारीपाटन बस्ने १९ वर्षका बासुदेव गुरुङ रहेका छन्। 

कास्की जिल्ला अदालतका न्यायधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले बाँकी प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी पुर्पक्षका लागि  सुधारगृह र कारागार पठाउने आदेश दिइएको हो। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले अदालतको आदेशले उनीहरुका बारेमा थप कुनै प्रमाण भए अझै पनि पेश गर्न सकिने आधार तय गरेको नेपाल समयलाइ जानकारी दिए। 

‘यस्तो अरुलाई नपरोस्’ 

‘तामाको मुनाजस्तो’ छोरोलाई गुमाउनुपर्दा एउटी आमाको मन त त्यसै पनि भक्कानिन्छ नै। तर पनि सम्बन्धित निकायले घटनालाई तोडमोड गर्न खोज्दा त्यसले आक्रोश पनि पैदा गर्छ भन्ने उदाहरण हुन् भगवती। सोमबार बिहान नेपाल समयसँगको सम्पर्कमा आएकी भगवतीले भनिन्, ‘दोषी भनिएकाहरु अहिले जेलमा गइसकेका छन्, यहाँ अझै ठूलो केही खेल हुनसक्छ, यसबारे प्रहरी चनाखो होस्।’ 

उनले आफूले छोरा गुमाए पनि अरुलाई यस्तो बेहोर्नु नपरोस् भन्ने कामना पनि गरिन्। ‘मेरो बाबु त अब आउँदैन, तर अरु परिवारमा यस्तो बज्रपात र अन्याय नपरोस्,’ उनले भनिन्। 

प्रकाशित: May 24, 2021| 12:45 सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।