काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ को दोस्रो लहर सुरु भएसँगै अस्पतालमा उपकरण र बेड संख्या वृद्धिलाई तीव्रता दिइएको जनाएको छ।
सोमबार भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री हृदयेश त्रिपाठीले सरकारले स्वास्थ्य उपकरण, अक्सिजन प्लान्ट र बेड संख्या वृद्धिमा जोड दिइरहेको बताए। मन्त्री त्रिपाठीका अनुसार वैशाखसम्ममा ३ सय २७ भेन्टिलेटर रहेकोमा त्यसलाई वृद्धि गरेर ९०४ बनाइएको छ भने अब चाँडै १८० भेन्टिलेटर थप हुने क्रममा छ।
यस्तै देशभर अस्पतालमा २६ सय आईसीयु रहेकोमा ४ सय थपेर ३ हजार बनाइएको छ भने ६ सय ३० आईसीयू थप गर्ने प्रक्रिया अगाडि बढेको मन्त्री त्रिपाठीले बताए। हाइ डिपेन्डेन्सी युनिट (एचडियु) सरकारीमा २ हजार ७५ र निजीमा ७७८ थप गरी सञ्चालनमा ल्याइएको मन्त्री त्रिपाठीले बताए।