मंगलबार, वैशाख ११, २०८१

केपी ओलीको मातप्रति एउटा लक्षणा

कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताहरु सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गरे। जब मुग्लिङ आइपुग्यो, त्यसपछि माथापच्ची सुरु भयो।
 |  आइतबार, जेठ ९, २०७८

संकेत कोइराला

संकेत कोइराला

आइतबार, जेठ ९, २०७८

विश्वका चर्चित बडी बिल्डर आर्नल्ड कुनै बेला क्यालिफोर्नियाको गभर्नर थिए। जुन बेला उनी गभर्नर थिए, एउटा होटलले आफ्नो हातामा उनको सालिक बनायो। उनैबाट होटलको भव्य उद्घाटनपछि घोषणा गरियो, ‘आर्नल्डले चाहेको समयमा होटलमा निःशुल्क बस्न पाउनेछन्।’ समयको पदचापसँगै उनी पदविहीन भए। शरीर जीर्ण हुँदै गयो। मानिसले उनको ओहोदा र औकात बिर्संदै गए। एक दिन उनी होटलले दिएको वचन सम्झिएर बास बस्न गए। 

triton college

तर नयाँ पुस्ताका होटल स्टाफले आर्नल्डलाई सभ्य व्यवहार गरेनन्। विना पैसा होटलको सुविधा दिन नसकिने भन्दै फर्काइदिए। आर्नल्ड दुःखी भएनन्। बरु सँगै रहेको स्लिपिङ ब्याग ओढेर आफ्नै मूर्तिमुनि सुते। ‘यस्तो प्रतिष्ठित मानिस किन खुला आकाशमुनि बास?’ सर्वसाधारणको जिज्ञासा निदान गर्दै उनी भन्छन्, ‘धन, पद, शक्ति र प्रतिष्ठा हुन्जेल दुनियाँ तपाईंको साथ हुन्छ, म्याउँ म्याउँ गर्छ, हात मोल्छ, खुट्टा ढोग्छ। यी सबै अस्थायी हुन्। यी चीज सधैं तपाईंसँग रहँदैन। यो नरहनेबित्तिकै नजिकिएकाहरु टाढा भाग्छन्। त्यसैले पद र पैसामा कहिल्यै घमण्ड नगरौं। आफ्नै मूर्तिमुनिको मेरो सुताइ यही सत्य सन्देशको उपज हो।’ 

केपी ओलीलाई सत्ता र शक्तिको मात लागेको छ। मानिस त के प्रकृतिका नियम फेर्ने भ्रम उनीभित्र छ। उनले सूर्यको उदाउने अस्ताउने समय, वेदको ऋचा, रुखको रंग, पानीको धर्म, हावाको गति, महाभारत, रामायणका कथा फेर्ने घोषणा गरिदिन सक्छन्।

केपी ओलीलाई सत्ता र शक्तिको मात लागेको छ। मानिस त के प्रकृतिका नियम फेर्ने भ्रम उनीभित्र छ। उनले सूर्यको उदाउने अस्ताउने समय, वेदको ऋचा, रुखको रंग, पानीको धर्म, हावाको गति, महाभारत, रामायणका कथा फेर्ने घोषणा गरिदिन सक्छन्। ओलीले चाहे भने सुपर्णखा सीता र रावणलाई रामको ओहोदा दिन सक्छन्। कृष्णलाई अर्जुनको कारिन्दा घोषणा गरिदिन्छन्। भीष्म पितामह, द्रोणाचार्य, कृपाचार्यजस्ता पात्रलाई देशद्रोही करार गर्न सक्छन्। 

संविधान कागज हो। आफूभित्रको विवेकले त्यसको सम्मान गर्ने हो। मदिरालयमा सजाएर राखिएका मदिरा आफैं झगडा गरेको कसले देखेको छ? एउटा बोतलले अर्को बोतललाई किमार्थ हिर्काउँदैन। पुस्तकालयमा राखिएका वेद, कुरान, बाइबल, त्रिपिटक जुधेको कसलाई थाहा छ? जब मानिसको विवेकमा बिर्को लाग्छ, यिनै अमूर्त वस्तुलाई आधार बनाएर जुधाउने काम हुन्छ। तँ ठूलो र म ठूलो घृणित खेल हुन्छ। 

corrent noodles
Metro Mart

सबै धर्मावलम्बीका मानिसलाई गर्मीमा चिसो र जाडोमा तातो प्रिय हुन्छ। हो, यही प्रियपन धर्म हो। मानव सेवा, मानव एकता नै त धर्म हो। जुन धर्म, जुन भूगोलमा भए पनि जब मानिस तृप्त हुन्छ, त्यसपछि उसको ओठबाट मन्द मुस्कान छरिन्छ। यो मुस्कान यस धराका सबैले बुझ्ने भाषा हो। संसारका सबै धर्म, सबै राजनीतिक दर्शनले खोजेको स्वर्ग यही हो। 

राजनीति गर्नु भनेको ३६५ दिन नै सेवाको ढोका बन्द नगर्ने सर्त स्वीकार्नु हो। यो अविराम जनताको सेवाबाट निसृत हुन्छ। जब नाफा, पद, प्रतिष्ठाको सवालमा दाउपेच सुरु हुन्छ, त्यो घडीमा राजनीति व्यापारमा अनुवाद हुन्छ। हामीले तय गरेको यात्राले अन्ततः पुगिने धोका नगरी नै हो। 

सबैथोक भएर पनि व्यवस्थापन हुन नसकेको भूगोल सफल राजनेताका लागि चिट्ठा हो। यो सत्य नबुझेर जब नेताको बोली, वचन व्यवहार नै मूर्खको कोटीमा अनुवाद हुन्छ, त्यसको दुष्परिणाम धरामा उभिएकादेखि गर्भमा रहेकाले समेत भोग्नुपर्छ। 

एक टन सिद्धान्तको तुलनामा एक ग्राम कामको धेरै महत्त्व हुन्छ। मेलम्चीको पानी धारा–धारामा झरेपछि धेरै प्रश्नको उत्तर त्यसले दिएको छ। जिब्रो भएर काम बोल्नुपर्छ। जिब्रोमा नुन बोकेर तरकारी चाख्ने राजनीतिक संस्कारले पुस्तौनी घर गर्दा हरेक राजनीतिक परिवर्तन चटक बन्दै गए। राजनीतिक स्वतन्त्रताले कसैको पेट भरिन्न। न त क्रान्तिले आगो बाल्छ। आगो बाल्न त सानो भए पनि आगोकै झिल्को चाहिन्छ। एउटा विद्वान्का लागि मूर्खको प्रश्न सर्वाधिक ठूलो विश्वविद्यालय हो। त्यस्तै सबैथोक भएर पनि व्यवस्थापन हुन नसकेको भूगोल सफल राजनेताका लागि चिट्ठा हो। यो सत्य नबुझेर जब नेताको बोली, वचन व्यवहार नै मूर्खको कोटीमा अनुवाद हुन्छ, त्यसको दुष्परिणाम धरामा उभिएकादेखि गर्भमा रहेकाले समेत भोग्नुपर्छ। 

कुनै ठाउँमा चार मूर्ख रहेछन्। उनीहरुले उद्यमका लागि पेट्रोल पम्प खोल्ने निधो गरेछन्। आश्चर्य! एउटा गाडी पनि इन्धन भर्न आएनछ। किन भनेर खोज्दै लाँदा थाहा भयो, ‘उनीहरुले एक तलामाथि पम्प खोलेका रहेछन्।’ लौ भएन भनेर त्यही ठाउँ रेस्टुरेन्ट खोलेछन्। तैपनि चरोमुसो छिरेनछ। उनीहरुले रेस्टुरेन्ट त खोले तर पेट्रोल पम्पको साइनबोर्ड निकाल्नै बिर्सिएछन्। अन्तिम विकल्प स्वरुप ती मूर्खले ट्याक्सी व्यवसाय गर्न ट्याक्सी किनेछन्। ट्याक्सी चढ्ने ग्राहक खोज्न त्यही ट्याक्सी चढेर चारैजना सहर पसे। तर ट्याक्सीभरि मान्छे देखेपछि भरिएको ट्याक्सी ठानेर कसैले सोध्ने हिम्मतै गरेनन्। 

गाडी एउटा छ, दाबी सबैको। गाडी कसको हो, कसैलाई थाहा छैन। अहिलेको संविधान त्यही गाडीजस्तै बन्यो। तीन करोड जनताको भावना बोक्नुपर्ने संविधानले प्रोजेक्ट पेपरभन्दा माथिको औकात बोक्न सकेन।

नेपालका राजनीतिक क्रान्ति यिनै मूर्खहरुको व्यवसाय जस्तै बन्यो। कोही पोखरा, कोही महेन्द्रनगर, कोही झापा पुग्ने राजनीतिक स्वार्थ बोकेका नेताहरु सार्वजनिक खपत र पदीय स्वार्थका लागि एउटै गाडीमा चढेर यात्रा आरम्भ गरे। जब मुग्लिङ आइपुग्यो, त्यसपछि माथापच्ची सुरु भयो। गाडी एउटा छ, दाबी सबैको। गाडी कसको हो, कसैलाई थाहा छैन। अहिलेको संविधान त्यही गाडीजस्तै बन्यो। तीन करोड जनताको भावना बोक्नुपर्ने संविधानले प्रोजेक्ट पेपरभन्दा माथिको औकात बोक्न सकेन। आज देश भागशान्ति जय नेपाल बन्नुको परिणाम त्यही अप्राकृतिक कर्मको परिणति हो।

अरू हिँडेको बाटोमा हिँड्ने नेता नै हुन सक्दैन। नेताले बाटो पछ्याउने हैन, बाटो बनाउने हो। बाटो नभएको ठाउँमा पाइतालाको डोब छोड्ने नेता कहिल्यै मर्दैन। अमेरिकी राष्ट्रपति अब्राहम लिंकनलाई सोधियो, ‘तपाईं सामान्य जुत्ता सिलाउनेको छोरो कसरी अमेरिकाको राष्ट्रपति हुनुभयो?’ उनले मुस्कुराएर जवाफ दिए, ‘मैले पाइलापाइलामा आफ्नै परीक्षा लिएँ। हरेक असफलताबाट केही सिकें। त्रुटि सुधार्दै नयाँ बाटो पहिल्याउँदै गएँ। सफलताको सूत्र पुस्तकमा नभई मेहनतमा हुन्छ भन्ने सत्य आत्मसात् गरें।’

सुख र सामान्य सोचले परिवर्तन सम्भव छैन। पागलपन र वैराग्यले मात्र विकास सम्भव छ। त्यसैले नेतागण चटके हैन, पागल बन्नुस्। देश चलाउने योग्यता के हो? पारखीहरु भन्छन्, ‘खाँटी कूटनीतिज्ञ त्यो हो, जो महिलाको जन्मदिन सम्झन्छ तर उमेर सम्झँदैन।’ जसले विश्वमा परिवर्तन ल्याए, आरम्भका दिनमा तिनीहरु इतिहासका प्रहसन पात्र भए। 

चार्ल्स डार्विनले मानवलाई बाँदरको सन्तानभन्दा समाजले मगज खुस्किएको भन्दै जीवनभर अपमान दियो। ओरविल राइट र विल्वर राइटले आकाशमा उड्ने परिकल्पना गर्दा रोयल सोसाइटीका अध्यक्षले समेत उडाउनु उडाए। डिज्नेल्यान्डको प्रस्ताव ल्याउँदा वाल्ट डिज्नेलाई घरकै सदस्यले पागल भन्दै आलोचना गरे।

सन् १६०० मा गणितज्ञ एवं खगोलविद् गिआर्दानो ब्रुनोले पृथ्वी बाहिर जीवन हुन सक्ने नवीन विचार ल्याए। उनलाई धर्मको खिलाफ बोलेको भन्दै रोमको मध्यसहरमा जिउँदै जलाइयो। मानव बस्तीको खोजीमा समुद्री यात्रामा निस्कने कुरा गर्दा क्रिस्टोफर पागल बनाइए। यस्तै चार्ल्स डार्विनले मानवलाई बाँदरको सन्तानभन्दा समाजले मगज खुस्किएको भन्दै जीवनभर अपमान दियो। ओरविल राइट र विल्वर राइटले आकाशमा उड्ने परिकल्पना गर्दा रोयल सोसाइटीका अध्यक्षले समेत उडाउनु उडाए। डिज्नेल्यान्डको प्रस्ताव ल्याउँदा वाल्ट डिज्नेलाई घरकै सदस्यले पागल भन्दै आलोचना गरे। विना तार सूचनाको एजेन्डा ल्याउने मार्कोनीको खेदो खनेर त्यो बेलाको समाज वर्षौं थाकेन। हो, यस्तै पागल बन्ने पालो हाम्रो चाहिँ कहिले हो?

भगवानले त भगवानकाे विशेषण पाउन थुप्रै अग्निपरीक्षा पास गर्नुपर्छ भने मानिसको के कुरा? विश्वका प्रख्यात संगीतज्ञ मोजार्टसँग बाल्ने दाउरा थिएन, न त लगाउने न्यानो कपडा नै। यहाँसम्म कि खुट्टाको मोजा हातमा लगाएर उनी संगीत सिर्जना गर्थे। खान नपाएर कलिलो उमेरमै कुपोषणले बितेका मोजार्टले छोटो समयमा नै आफूलाई विश्वमै अमर बनाए। चार्ली च्याप्लिन बाउआमाले छोडेर गएपछि सडकमा मागेर आफ्नो प्राण धाने। कालान्तरमा विश्वविख्यात हास्यकलाकारको ख्याति यिनको नामसँगै जोडियो। असह्य दुःखको पीडा खप्न नसकी विश्वप्रसिद्ध लेखक म्याक्सिम गोर्कीले आफ्नो ज्यान आफैंले लिए। यतिका पीडाका शूलबीच पनि मानिसले अमरत्वको झण्डा गाडेका छन्। पीडालाई पनि आफूमाथि हावी हुन नदिएर यति सुन्दर जीवनको सूत्र फेला पारेका छन् भने हामी दुःखको लेस नपाएकाहरुलाई कर्मको यज्ञ गर्न केले छेकेको छ?

उज्यालोमा मात्र सबैले साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाले पनि छोडिदिन्छ। कहिले नभुलौं, फूल बाँड्ने मान्छेको हातमा सुगन्ध पनि बस्छ। सत्य नबुझी अनुमान गर्नु दुःखी हुनुको प्रमुख कारण हो।

परिस्थितिले नभई मनस्थितिले टुट्छ मान्छे। जाँगर भएको मानिसले माहुरीको चाकाबाट नभएर झारपातबाट पनि मह बनाउन सक्छ। यो धरामा रहेका हरेक मानिसको खाने थाल र जिन्दगीको हाल अलग छ। जन्मिँदाको खाट र मर्दाको घाट अलग छ। कोही नभएको बेला मुस्कुराउने मानिस सही अर्थमा खुसी हुन्छ। वास्तवमा आफ्नो को हो? त्यो देखाउने हक समयलाई मात्र छ। गल्तीको जिम्मेवारी नलिने मानिस कहिल्यै अघि बढ्न सक्दैन।

उज्यालोमा मात्र सबैले साथ दिने हुन्, अँध्यारोमा त आफ्नै छायाले पनि छोडिदिन्छ। कहिले नभुलौं, फूल बाँड्ने मान्छेको हातमा सुगन्ध पनि बस्छ। सत्य नबुझी अनुमान गर्नु दुःखी हुनुको प्रमुख कारण हो। कोही कसैको पछि, न अघि नै लाग्न जरुरी छ। नेतृत्वका लागि विश्वास गरेको पात्र नालायक निस्कियो या आफूले नेतृत्व गर्दा अरुले विश्वास गरिदिएनन् भने हालत के हुन्छ? त्यसैले यात्रा समदूरीमा गरेर साथी बन्नुस्। बाटो हिँड्दा प्रकाश भेट्नुभएको छैन भने आफैं बत्ती भइदिनुस्। आस्थाले बालिएको दियो हावाले मात्र निभ्दैन। तेल नभएर पनि निभ्छ। तेल नभएर बत्ती निभ्नु भनेको तपाईंभित्रको आयतन खुम्चनु हो। एउटा असल र कर्मशील नेताले मात्र आशा, कल्पना र विश्वासको त्रिवेणी निर्माण गर्न सक्छ। मुखमा फिँज निकालेर अन्टसन्ट बोल्ने काम त रत्नपार्कमा ओखती बेच्नेले पनि गर्छ। 
sanketkoirala07@gmail.com

प्रकाशित: May 23, 2021| 14:03 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...
अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

अराजकवादी राष्ट्रवाद र ओली प्रवृत्ति

भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयललाई २०७७ कात्तिक ४ गते मध्यरातमा बालुवाटारमा स्वागत गरेका थिए ओलीले। गोयलसँग गरेको गुपचुप वार्तामा के कुरा भयो,...