बिहीबार, वैशाख १३, २०८१

राजनीतिक अन्योलका बीच सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजार परिसूचक (नेप्से)ले आइतबार नयाँ रेकर्ड कायम गरेको छ।
 |  आइतबार, जेठ ९, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ९, २०७८

काठमाडौं– सेयर बजार परिसूचक (नेप्से)ले आइतबार नयाँ रेकर्ड कायम गरेको छ। शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले जननिर्वाचित संसद् भंग गरेपछिको पहिलो कारोबार दिनमा नेप्से ३२.८१ अंकले उकालो लागेर २८२० अंकमा अडिएको छ। यसरी हेर्दा संसद् भंग गरिनुलाई बजारले भने स्वागत गरेको देखिन्छ। 

triton college

त्यस्तै राजनीतिक वृत्तमा आएको तरंग तथा कोरोनाको बढ्दो संक्रमणका कारण लगानीकर्ताले अन्यत्र लगानी गर्न नपाएर उनीहरुको ध्यान सेयर बजारतिर मोडिएपछि बजार उकालो लागेको सेयर बजार विश्लेषकहरुले बताएका छन्। 

गत साताको अन्तिम कारोबार दिन (बिहीबार) गठबन्धनमा सरकार बन्ने आशंकामा बजार ओरालो लागेको थियो। संसद् विघटन गरेर चुनावी सरकार बन्ने भएपछि स्थायित्व कायम हुने आशामा बजार बढेको केही विश्लेषकहरुको दावी छ।

नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियारका अनुसार लगानीकर्ताहरुले अन्त लगानी गर्न नपाउँदा उनीहरु सेयर बजारमा आएका हुन्। ‘अझ बजार बढ्नेछ। राजनीतिक अस्थिरता अझै कायम रहेको छ, लगानीकर्ताहरुको ग्यारेन्टी छैन। साथै बैकले सस्तोमा मार्जिन प्रकृतिको कर्जा प्रवाह गरेकोले पनि सेयर बजार उकालो लागेको हो,’ उनले भने। 

नेपाल राष्ट्र बैंकका अनुसार गत ९ महिनामा मार्जिक प्रकृतिको कर्जा ८२ प्रतिशतले बढेको छ। आइतबार दिनभर ११ अर्ब ६९ करोड बराबरको कारोबार भएको छ। यो हालसम्मकै दोस्रो धेरै कारोबार हो। गत हप्ता आइतबार सेयर बजारमा ११ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। 

corrent noodles
Metro Mart

यसदिन व्यापार,४१.८, इन्भेष्टमेन्ट ०.०९, जीवन बीमा ६१.६३, उत्पादनमूलक ७.४८, जलविद्युत ४४.२०, बैंकिङ ३३.२९, फाइनान्स १०४.५५, अन्य १३.२१, डेभलपमेन्ट बैंंक २३९.८९ र म्युचुअल फण्ड समूह ०.१० अंकले उकालो लागेको छ। आइतबार पौने १२ अर्ब रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ। यस अघिको सर्वाधिक कारोबार रकमको रेकर्ड ११ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

आइतबार कर्णाली डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, कालिका पावर कम्पनी, महालक्ष्मी विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, युनाइटेड इदी मर्दी हाइड्रोपावर, बरुण हाइड्रो पावर, बेष्ट फाइनान्स लगायत १६ कम्पनीको सेयर मूल्य करिब १० प्रतिशतले बढेको छ। 

समता घरेलु लघुवित्त, रुरु जलविद्युत र आरम्भ चौतारी लघुवित्तको सेयर मूल्य २–३ प्रतिशतले घटेको छ। आइतबार पनि नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक ४१ करोड रुपैयाँको सेयर किनबेच भएको छ। नेशनल लाइफको ३५ करोड, ज्योति विकास बैंकको २३ करोड, ग्रामीण विकास बैंक र मेगा बैंकको समान २२ करोड रुपैयाँको सेयर किनबेच भएको छ।

प्रकाशित: May 23, 2021| 11:42 आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्