काठमाडौं-नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले कांग्रेसभित्रको भ्रष्टाचार उन्मुलन गर्नुपर्ने बताएका छन् । 'भ्रष्टाचार विरुद्धको अभियान र शैलजा आचार्य' विषयक विचार सभामा बोल्दै नेता पौडेलले भने, 'कांग्रेस पछि परेकै भ्रष्टाचारका कारणले हो । कांग्रेस भित्र आचारसंहिता सुधार गर्दै भ्रष्टाचार उन्मुलन गर्न आवश्यक छ । त्यसका लागि मैलेमात्र प्रस्ताव लगेर हुँदैन ।'
सभापति शेरबहादुर देउवातर्फ व्यंग्य गर्दै नेता पौडेलले भने, 'पार्टीको सुधारका लागि अभियान चलाउने तयारी गरेपनि मैले भनेको नेतृत्वले टेर्ने र मान्नेवाला छैन ।'
आफूले पार्टीलाई मजबुद बनाउन विभिन्न योजना बनाएको भन्दै पौडेलले पार्टी भित्र आन्तरिक लोकतन्त्र पनि मजबुद बनाउन आवश्यक रहेको बताए । 'पार्टीमा सदाचार र एकताबद्ध बनाउन आवश्यक छ,' पौडेलले भने, 'सभापति व्यक्तिको संरक्षणमा लाग्नुभएको छ । तर, उहाँ कांग्रेसीजन र पार्टीको संरक्षणमा ध्यान दिन सक्नुभएन ।'
सरकार अधिनायकवाद तर्फ उन्मुख भएको आरोप लगाउँदै नेता पौडेलले पार्टी एकताबद्ध हुन नसक्दा प्रमुख प्रतिपक्षी दल भएपनि सरकारले गरेका नराम्रा कामका विषयमा प्रतिवाद गर्न नसकेको बताए । 'सरकार चलाउन सामान्य बहुमत भए पुग्ने थियो । वाम गठबन्धनले नै बहुमत पुगेको थियो । किन मधेशी दललाई पनि सरकारमा सहभागी गराएको ?' भन्ने प्रश्न गर्दै पौडेलले भने, 'यसबाट प्रष्ट हुन्छकी वर्तमान सरकारका प्रधानमन्त्री सम्पूर्ण शक्ति आफ्नो हातमा लिएर अधिनायकवाद हावी गर्न खोज्दैछन् ।'
कार्यक्रममा नेता शेखर कोइरालाले पार्टी कमजोर बन्दै गएको भन्दै नेतृत्वसमक्ष गुनासो पोखे । 'सरकारले ल्याएको नीति तथा कार्यक्रम चित्त बुझ्दो नहुँदानुहँदै पनि कांग्रेस चुपचाप बस्यो । बालकृष्ण ढुंगेलको विषयमा पनि सदनमा केही कुरा उठाउन सकेन,' कोइरालाले भने, 'यसरी चाहिने ठाउँमा नबोलेर पार्टी कमजोर भइरहेको छ । सभापति त्यसको सुधारका लागि नभई गुट सुधारका लागि मात्र लाग्नुभएको छ ।' नेता कोइरालाले नेतृ शैलजा आचार्य भ्रष्टाचार विरोधी नेतृ रहेको भन्दै आचार्यको जीवन शैली र विचारको कांग्रेसजनले सिको गर्नुपर्ने बताए ।
कार्यक्रममा मानवअधिकारवादी पुरुषोत्तम दाहालले अहिले कांग्रेस विधि प्रक्रियामा नचलेको बताउँदै अध्ययनको कमीले कांग्रेस पछि परेको बताए । कार्यकर्तामा प्रशिक्षण नहुँनु तथा कांग्रेसका नेता कार्यकर्ता नै भ्रष्ट हुनु दुःखद रहेको बताए । आफूले कांग्रेसमा भ्रष्टाचार मौलायो भन्दा नेता कार्यकर्ताले विरोध गर्नेगरेको प्रशंग सुनाउँदै दाहालले यदी होइन भने केन्द्रीय समितिमा भएका व्यक्तिले आफ्नो आर्थिक विवरण सार्वजनिक गर्न माग गरे ।
दाहालले मदिराजन्य पदार्थको प्रयोग रोक्ने गरी प्रस्ताव लैजान पनि नेताहरुलाई सुझाव दिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४