केही समयअघि नेपालका लागि इजरायलका राजदूत हनान गोडरसँगको मेरो पहिलो भेटमा उनले मलाई सोधेका थिए, ‘परराष्ट्र सम्बन्ध रिर्पोटिङबाहेक अन्य के गर्नुहुन्छ?’मैले उत्तर दिए, ‘त्यसबाहेक नेपाली सेना र राष्ट्रिय सुरक्षाको सम्बन्धी रिर्पोटिङ गर्छु।' लगतै गोडरले थपिहाले, ‘नेपाली सेना र सुरक्षा। हाम्रो इजरायलमा त चिफ अफ आर्मी स्टाफ (सेना प्रमुख) राति सुत्दा पनि एउटा आँखा खुल्लै राखेर सुत्ने गर्छन्। उनीहरूको दुवै आँखा बन्द कहिल्यै पनि हुन्न।’
राजदूत गोडरको उक्त भनाईले पश्चिम एसिया (पश्चिमाहरू मध्यपूर्व भन्छन्)मा रहेको मुलुक इजरायल कस्तो अवस्थाबाट गुज्रिरहेको हुन्छ र त्यहाँ कति सुरक्षाको चुनौती छ भन्ने स्पष्ट पार्छ। गोडरले भने जस्तै इजरायलका सैनिक प्रमुखले राति पनि एक आँखा खुला गरेर नसुतेको भए वैशाख २७ गते राती प्यालेस्टाइनको गाजा क्षेत्रबाट त्यहाँको एक इस्लामिक समूह हमासले इजरायलका विभिन्न सहरमा गरेको दर्जनौँ रकेट आक्रमण गर्दा ७ जना नागरिकको मात्र ज्यान जाने थिएन। इजरायल त्यही राती नै तहसनहस हुन्थ्यो होला।
प्यालेस्टाइनी भाषामा भन्दा हमास इजरायलले जफत गरेको आफ्नो मुलुकको भूभागलाई फिर्ता ल्याउन संघर्ष गरिरहेको एक मुस्लिम संगठन हो। इजरायली, अमेरिकी र केही अन्य पश्चिमा मुलुकका भाषामा हमास एक आतंककारी समूह हो, जसको सम्बन्ध अलकायदासम्म छ।
उक्त हमास समूहको आक्रमणबाट बचाउन इजरायलको सबैभन्दा महत्वपूर्ण सुरक्षा प्रविधि आइरन डोम (जसले विपक्षीहरूले प्रहार गरेको रकेटलगायत क्षेप्यास्त्रहरूलाई आकाशमै रोकेर निष्क्रिय पार्ने काम गर्छ) प्रयोग गरेर सुरक्षा सजकतामा चौबिसै घण्टा तैनाथ हुन्छ। यसपटक हमासको आक्रमणपछि इजरायलले त्यसको प्रतिरोध गर्दै गाजा क्षेत्रमा आक्रमण गर्यो। उक्त आक्रमणले प्यालेस्टाइनतर्फ दुई सयभन्दा बढीको ज्यान गइसकेको छ।
इजरायलमा जस्तो प्राविधियुक्त सुरक्षाको प्रतिरोध क्षमता भएको आइरन डोम प्रविधि प्यालेस्टाइनको इस्लामिक समूह हमाससँग छैन। जसले गर्दा सुरुवातमा आक्रमण गर्ने हमास रहेको गाजा क्षेत्रमा बढी मानवीय र भौतिक क्षति बढी भएका छन्। इजरायलतर्फ भने ठूलो मानवीय र भौतिक क्षति बढी हुन पाएको छैन।
‘इजरायलको सुरक्षा संयन्त्र बलियो भएकाले विपक्षीले प्रहार गरेको रकेटलाई आकाशमा आइरन डोमले निष्क्रिय पारिरहेको छ भने जमिनमा डर भए पनि दैनिकी चलिरहेकै छ। सुरक्षा खतरा हुँदा साइरन बज्छन्। त्यस बेला सतर्कता अपनाउनु पर्छ। बढी खतरा भए हरेक घरमा बंकर हुन्छन्। त्यहाँ गएर बस्नु पर्छ,’ इजरायली सहर तेल अबिबमा रहेकी इजरायलका लागि नेपालकी राजदूत अन्जान शाक्यले बताइन्। उनले अहिलेको यो द्वन्द्व सन् २००० पछिकै सबैभन्दा ठूलो रहेको इजरायलीहरूले चर्चा गरिरहेको पनि जानकारी दिइन्।
‘साँच्चै भन्दा प्यालेस्टाइन र इजरायलबीचको द्वन्द्व किताब वा लेख पढेर मात्र बुझिने अवस्था छैन। यी दुई मुलुकबीच विभिन्न समयमा निस्किएका नक्साहरू र स्थलगत भ्रमण गरेपछि मात्र त्यहाँको द्वन्द्वलाई थप प्रष्ट रुपमा बुझ्न सहज हुन्छ,’ सन् २०१७ मा भारतको चेन्नई सहरको एसियन कलेज अफ जर्नालिज्म (एसीजे) मा अन्तर्राष्ट्रिय सम्बन्ध विषय अन्तरगत ‘प्यालेस्टाइन र इजरायलबीचको युद्ध’ बारे पढाउने क्रममा लेक्चरर स्टान्ली जोनीले भनेका थिए। उनी भारतको पत्रिका ‘द हिन्दू’का विदेश मामिला सम्पादक हुन् र उनीसँग विभिन्न समयमा इजरायल, प्यालेस्टाइन, सिरिया, साउदी अरेबिया, इराकलगायत दक्षिण-पूर्वी एसियाको स्थलगत रिपोर्टिङ गरेको अनुभव पनि छ।
लगत्तै उनले कक्षा कोठाको अगाडि रहेको ह्वाइटबोर्डमा इजरायल र प्यालेस्टाइनको नक्सा देखाए। र, भन्न थाले, ‘यी बाँकी रहेका साना टुक्राजस्ता देखिने क्षेत्र प्यालेस्टाइनका अंश हुन्। ठूलो भूभाग चाँहि अहिले इजरायलीहरूको कब्जामा छ। दक्षिण-पूर्वी भागमा प्यालेस्टाइनको कट्टर इस्लामिक समूह हमासले शासन गर्छ। मध्य-उत्तर तिरको क्षेत्र जेरुसेलम हो। र, योसँगै उत्तरी भागमा पूर्व र पश्चिम फैलिएको क्षेत्रलाई ‘वेस्ट बैंक’ क्षेत्र भनिन्छ।’
वेस्ट बैंकको सीमाना जोर्डनसँग, गाजा क्षेत्रको सिमाना मेडिटेरियन समुद्र र इजिप्टसँग जोडिन्छ। प्यालेस्टाइन र इजरायलको पश्चिमी सीमाना भने लेबनान र सिरियासँग जोडिएको छ। यहाँ मैले दुवै मुलुकको सीमानाको एउटै मुलुकसँग जोडिएको किन भनिरहेको छु भने दुई मुलुकबीच अहिलेसम्म आधिकारिक रुपमा सीमाना विभाजन भएको छैन।
इजरायल र प्यालेस्टाइन पुगेर स्थलगत रिर्पोटिङ गरेका पत्रकार जोनीले भने, ‘इजरालभित्र प्यालेस्टाइन थियो। प्यालेस्टाइनभित्र इजरायल। कुन भूभाग कसले भनेर छुट्याउनै गाह्रो। तर दुई मुलुकबीचको फरक छुट्टाउने एउटै मापदण्ड थियो, उनीहरूको लवाई-खुवाई र बसाई। इजरायली क्षेत्रमा पुग्ने बित्तिकै सबै कुरा व्यवस्थित देखिन्थ्यो। तर प्यालेस्टाइनीहरूको क्षेत्रमा गरिबी देखिन्थ्यो।’
000
संयुक्त राष्ट्र संघ (यूएन)ले भने हालसम्म इजरायललाई मात्र देशको मान्यता दिएको छ। प्यालेस्टाइनलाई अहिलेसम्म कुनै पनि मुलुकको दर्जा दिएको छैन। तर यूएनको सन् १९७४ को महासभाले भने प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ)लाई भने मान्यता दिएको थियो। इजरायललाई सन् १९४८ मा नयाँ मुलुकको मान्यता दिएको हो।
सन् २०१९ को डिसेम्बरसम्म यूएनका १९३ सदस्य मुलुकमध्ये १६२ मुलुकले इजरायललाई नयाँ मुलुकका रूपमा मान्यता दिएका छन्। जसमा नेपाल पनि पर्छ। यूएनका ३१ सदस्यले अझै इजरायललाई देशको दर्जा दिएका छैनन्।
पश्चिमा ब्लक अर्थात् अमेरिका र बेलायतलाई समर्थन गर्ने मुलुकले इजरायललाई साथ दिइरहेका छन्। मुख्यतया इरान, टर्की र मुस्लिम मुलुकहरूको प्यालेस्टाइनलाई साथ छ। छोटकरीमा भन्दा शीतयुद्धकालीन बाछिटा इजरायल र प्यालेस्टाइनको द्वन्द्वमा पनि मिसिएको छ। अन्य मुलुकले आफ्नो स्वार्थका लागि इजरायलको यहुदी जाति र प्यालेस्टाइनको मुस्लिम जातिबीचको झगडालाई पर्दा पछाडिबाट प्रयोग गरेको पनि प्रष्ट देखिन्छ। जसलाई अंग्रेजीमा ‘प्रोक्सी वार’ भनिन्छ। यो अगाडि नआउने र अरूलाई प्रयोग गरेर आक्रमण गर्ने प्रवृत्ति हो।
राष्ट्र संघले सन् १९९७ मा 'जेरुसेलमको अवस्था'बारे तयार पारेको रिर्पोट अनुसार पहिलो विश्वयुद्ध सन् १९१४ मा सुरु हुनुभन्दा चार वर्ष अघिसम्म उक्त प्यालेस्टाइन क्षेत्र टर्कीको इस्लामिक अटोमन शासकले शासन गरेका थिए। सन् १९२२ मा आएर अटोमन शासन गणतन्त्र टर्कीमा परिणत भयो। पहिलो विश्वयुद्धपछि टर्कीमा परिणत हुनुअघि अटोमनहरूले दक्षिणी युरोप, पश्चिमी एसिया तथा मेडिटेरियन समुद्री तटीय क्षेत्रका मुलुकमा शासन चलाएको इतिहास छ।
ती अटोमनहरूले अहिलेको प्यालेस्टाइन र इजरायल रहेको क्षेत्रमा पनि शासन गरेका थिए। पहिलो विश्वयुद्धपछि संसारभरै अंग्रेज शक्तिशाली बने। उनीहरूले प्यालेस्टाइन र इजरायल रहेको क्षेत्रमा आफ्नो पकड जमाए। अंग्रेजले अटोमन शासनको अन्त्यतिरै देखि पश्चिम एसियाली क्षेत्रमा पनि आफ्नो प्रभुत्व जमाइसकेका थिए। दोस्रो विश्वयुद्धपछि बेलायतले उक्त क्षेत्र छाड्ने बेलामा इजरायलको समर्थन गरिदियो।
त्यसैले प्यालेस्टिाइनीहरू १९औं शताब्दीको अन्त्यदेखि नै प्यालेस्टाइनमा औपनिवेशिकता सुरु भएको मान्छन्। त्यही अवधिमा उक्त क्षेत्रमा युहदीवाद (जाइयनिजम) अस्तित्वमा आएको उनीहरूको ठहर छ। प्यालेस्टाइनका प्रख्यात नेता तथा प्यालेस्टाइनी जनताको प्रतिनिधित्व गर्दै आएको संगठन पीएलओका तत्कालीन प्रमुख यासेर अराफातले सन् १९७४ नोभेम्बर १३ तारिखमा राष्ट्र संघको साधारणसभामा भाषण दिने क्रममा भनेका थिए, ‘आप्रवासीहरूले अफ्रिकामाथि उपनिवेश कायम गरेकै शैलीमा युरोपेली आप्रवासीहरूको सहायताले प्यालेस्टाइनलाई पराधीन गर्नु यहुदीवादको उद्देश्य थियो।’
इजिप्टको कायरोमा सन् १९६९ मा भएको प्यालेस्टाइन नेसनल काउन्सिल (पीएनसी)ले अराफातलाई पीएलओको प्रमुखका रूपमा नियुक्त गरिएको थियो। पीएलओ सन् १९६४ मा स्थापना गरिएको थियो। यो संगठन बनाउनुको मुख्य उद्देश्य प्यालेस्टाइनी जनतालाई प्रतिनिधित्व गर्नु र स्वतन्त्र प्यालेस्टाइन राज्यको स्थापना गर्नु हो।
यसको हेडक्वार्टर वेस्ट बैंक क्षेत्रमा छ। सुरुमा पीएलओको लक्ष्य सशस्त्र द्वन्द्व गरी अगाडि बढ्ने थियो। जसलाई अमेरिका र इजरायलले त आंतककारीको बिल्ला भिडाएका थिए। तर पछि पीएलओ एक राजनीतिक संगठनको रूपमा रह्यो। सन् २००४ मा मृत्यु हुनुअघि अराफातले ३५ वर्ष उक्त संगठनको नेतृत्व गरे। सन् १८८१ देखि आफूहरूमाथि यहुदीहरूको आक्रमण भएको मान्छन्, प्यालेस्टाइनीहरू। त्यसअघि उक्त क्षेत्रमा अधिकांश मुस्लिम र इसाई धर्मावलम्बी रहेको उनीहरूको दाबी छ।
प्यालेस्टाइनीहरू सन् १८८१ को समयमा इजरायलमा २० हजार यहुदी मात्र रहेको दाबी गर्छन्। तर सन् १८८२ र सन् १९१७ को बीचमा यहुदीवादी अभियान अन्तर्गत करिब ५० हजार यहुदीलाई प्यालेस्टाइनमा स्थापित गराइएको मान्यता छ। त्यसरी यहुदीको संख्या बढ्नुलाई बेलायती नागरिक सिसिल जोन रोड्स (जसलाई यहुदीवादका प्रणेताका रूपमा पनि चिनिन्छ)ले डेर जुरेन्स्टेट (यहुदीको राज्य) शीर्षकको किताब प्रकाशनमा ल्याएर यहुदी राज्य स्थापनाका लागि खाका तयार पारिदिएको मानिन्छ।
इजरायलीहरूलाई अंग्रेजका तर्फबाट थप सहयोगको रुपमा ‘बाल्फर घोषणा’ बाहिर आयो। बेलायती विदेशमन्त्री आर्थर जेम्स बाल्फरले यहुदी बुद्धिजीवी लर्ड र्याथ्सचाइल्डलाई सन् १९१७ नोभेम्बरमा लेखेको पत्रमा ‘मध्यपूर्वमा यहुदी मुलुक निर्माणमा बेलायती सहयोग रहने घोषणा गरेका थिए। जसले गर्दा प्यालेस्टाइनलाई थप धक्का पुग्यो र इजरायललाई फाइदा भयो। उक्त घोषणालाई अराफातले यहुदीवाद र साम्राज्यवादबीचको गठजोडलाई पुनः प्रदर्शन गरेको भन्ने संज्ञा दिएका छन्। अराफातले यहुदीवादी धर्मशास्त्रलाई प्यालेस्टाइनी जनताविरुद्ध प्रयोग गरेको बताएका छन्।
पहिलो विश्वयुद्धकै दौरान सन् १९२० मा स्थापना भएको संस्था ‘लिग अफ नेसन्स’ले पनि उक्त समस्यालाई समाधान गर्न सकेन। यस्तै, विफलताकै कारण पछि सन् १९४५ मा पुगेर संयुक्त राष्ट्र संघको स्थापना भयो। राष्ट्र संघ पनि अहिलेसम्म विश्वका अन्य धेरै समस्यालाई जस्तै यसलाई पनि समाधान गर्नबाट पूर्ण रूपमा चुकेको प्रष्ट देखिन्छ।
प्यालेस्टाइनीहरू दोस्रो विश्वयुद्धपछि यूरोपलगायतका विभिन्न महादेशका मुलुकमा बसोबास गर्ने यहुदीलाई इजरायलमा लगेर त्यहाँका नागरिक बनाउने अभियान चलाइएको मान्छन्। जसकारण सन् १९४७ सम्म आइपुग्दा यहुदीको संख्या ६ लाख पुग्यो। उनीहरूले आफ्नो मुलुकको ६ प्रतिशत कृषियोग्य जमिन कब्जा गरेको प्यालेस्टाइनीहरूको ठम्याई छ। त्यसबेला प्यालेस्टाइनीहरूको जनसंख्या १२ लाख ५० हजार थियो। अहिले इजरायलमा यहुदीको जनसंख्या करिब ९२ लाख छ भने प्यालेस्टाइनीको जनसंख्या करिब ५२ लाख मात्र छ।
000
राष्ट्र संघले सन् १९४७ मा उक्त भूभागलाई तीन भागमा विभाजन गर्ने निर्णय गर्यो। यहुदी राज्य, प्यालेस्टाइनी अरब राज्य तथा तीन धर्महरू इसाई, यहुदी र इस्लामिकको धार्मिक केन्द्र। अर्को भाग जेरुसेलमलाई भने राष्ट्र संघकै निगरानीमा राख्ने निर्णय राष्ट्र संघले गर्यो। त्यस बेला कुल भूभागको ५७ प्रतिशत इजरायल र ४३ प्रतिशत प्यालेस्टाइनलाई भाग लगाउने निर्णय भएको थियो।
राष्ट्र संघको उक्त प्रस्तावलाई इजरायलले स्वीकार गर्ने वाचा गरे पनि प्यालेस्टाइनले आफ्नो मुलुकमा अरु कसैको पनि हस्तक्षेप भएको आफूलाई मान्य नहुने प्रष्ट पार्यो। अन्य अरबी मुलुकले पनि युएनको उक्त प्रस्तावलाई नमान्ने घोषणा गरे। जसकारण इजरायल र अरबी मुलुकबीचमा पटक–पटक युद्ध भयो। यसलाई ‘अरब–इजरायल युद्ध’का नामले पनि चिनिन्छ।
सन् १९४८ पछि इस्लामिक मुलुकहरूका साथै इजरायलको यहुदी र छिमेकी मुलुकहरूबीच पटक–पटक युद्ध भए। कुनैमा इजरायलले जित्न सफल भयो भने कुनैमा उसलाई अरुको साथ चाहियो। र, पछिल्लो समय भने इजरायलले अरबी मुलुकसँग पनि सम्बन्ध जोड्न थालिसकेको छ। नयाँ प्रविधि, आर्थिक विकास र अन्य रूपमा बलियो भएपछि अरबका मुलुकहरूले पनि फाइदाका लागि इजरायलको साथ दिएका छन्। जसले प्यालेस्टाइनलाई थप पीडित बनाएको छ।
000
सन् १९५६ मा इजरायलले फ्रान्स र बेलायतसँग मिलेर इजिप्टमाथि हमला गर्यो। सन् १९६७ मा इजिप्टमाथि अप्रत्यासित हमला गरी इजरायलले इजिप्टसहित जोर्डन र सिरियालाई एकैपटक पराजित गरेको थियो। ६ दिनभित्र इजरायलले विजय हासिल गरेको यो युद्धलाई ‘६ दिने युद्ध’का नामले पनि चिनिन्छ।
सन् १९७३ मा इजिप्ट र सिरियाले इजरायलमाथि अप्रत्याशित रूपमा हमला गर्दा इजरायल रणभुल्लमा परेको थियो। युद्ध अवधिभर इजरायलमाथि ठूलो दबाब सिर्जना भएको थियो। राष्ट्र संघको सक्रियतामा युद्धविराम गरिएपछि मात्रै युद्ध साम्य भएको थियो। सोभियत संघले इजिप्ट र सिरिया गठबन्धनलाई र अमेरिकाले इजरायललाई दह्रो सहयोग गरेको अवस्था निकै जटिल बनेको थियो।
यहुदीहरूमा सबैभन्दा पवित्र मानिने ‘योम किपुर’ पर्व मनाइरहेकै बेला इजरायलमाथि हमला भएकोले यसलाई ‘योम किपुर युद्ध’ पनि भनिन्छ। यसअघिको युद्धमा इजरायलले हत्याएको इजिप्टको भूभागमाथि इजिप्टले पुनः कायम गरेको थियो। पछि इजरायलले सन् १९७९ मा इजिप्टसँग र सन् १९९४ मा जोर्डनसँग शान्ति सन्धि गर्यो। छिमेकमा पनि मित्र बढाउने सिलसिलामा इजरायलले सन् २००० मा अन्य नजिकका मुलुकहरू बहराइन, यूएई, सुडान र मोरक्कोसँग द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गरेको गरिसकेको छ।
साउदी अरेबिया र अमेरिकाको राम्रो सम्बन्धका कारण अहिले इजरायलले साउदीसँग पनि सम्बन्ध स्थापनाको लागि अघि बढेको छ। अमेरिकी सहयोगकै कारण अन्य मुलुकहरूसँग पनि इजरायलले सम्बन्धको विस्तार गरिरहेको छ। अमेरिका इजरायलको सबैभन्दा ठूलो हतियार निर्यात गर्ने मुलुक पनि हो।
अमेरिकी कंग्रेसका लागि सन् २०१३ मा गरिएको एक अध्ययन प्रतिवेदनका अनुसार सन् २००७ मा अमेरिका तत्कालीन राष्ट्रपति जर्ज डब्लु बुसको प्रशासनले सन् २००९ देखि लागू हुने गरी इजरायललाई १० वर्षमा ३० अर्ब अमेरिकी डलर बराबरको सैन्य सहयोग प्याकेज उपलब्ध गराउने घोषणा गरेको थियो। अहिले जो बाइडेन प्रशासनले दुई मुलुकबीचमा द्वन्द्व चम्किरहेकै बेलामा इजरायललाई ७३ करोड ५० लाख अमेरिकी डलर बराबरको हतियार बेच्ने बताएको छ।
यसै साता अमेरिकी दैनिक पत्रिका वासिङ्टन पोस्टले बाइडेन प्रशासनले इजरायललाई हरियार बेच्ने प्रस्तावलाई अघि बढाइएको उल्लेख गरेको छ। अर्कोतर्फ बाइडेनले भने दुवै मुलुकलाई हिंसात्मक गतिविधि रोक्न आह्वान गरिसकेका छन्। तर बेलायती मिडिया बीबीसीका अनुसार अमेरिकाले राष्ट्र संघको सुरक्षा परिषद्मा हिंसा बन्द गर्न आह्वान गरिएको संयुक्त वक्तव्य जारी गर्न भने मानिरहेको छैन।
अमेरिकाले इजरायललाई सहयोग गरिरहेको छ भन्ने अर्को ठूलो प्रमाण हो, सन् २०१८ मा ट्रम्प प्रशासनले इजरायलको तेल अबिबबाट जेरुसेलममा राजदूतावास सार्नु। यसपछि अन्य मुलुकहरूले पनि इजरायलमा रहेको राजदूतावासलाई जेरुसेलममा सार्न थालेका छन्। अन्तर्राष्ट्रिय रुपमै जेरुसेलमलाई विवादित भूमि नभई इजरायलको राजधानी हो भन्ने मान्यता दिन यसले मद्दत पुर्याएको छ।
000
सन् १९४७ मा जेरुसेलम सहरलाई अन्तर्राष्ट्रिय निगरानी (संयुक्त राष्ट्र संघ मातहत)मा राख्ने भने पनि सुरुमा जोर्डन र पछि सन् १९६७ पछि इजरायलले नै त्यस क्षेत्रमाथि नियन्त्रण गरेको छ। उक्त सहरमा तीन धर्मावलम्बीको आ–आफ्नै दाबीको कारण हिंसात्मक गतिविधि रोकिने छाटकाट छैन। यसले इजरायल र प्यालेस्टायनको युद्धलाई थप बढावा दिइरहेको छ। इसाई धमावलम्बीहरू जेरुसेलम क्षेत्रमा आफ्नो धार्मिक चर्च सेपुलर रहेको मान्छन्। उक्त क्षेत्रलाई उनीहरू जिसस क्राइस्टलाई क्रसमा राखेर झुन्ड्याएर मारिएकाले आफूहरूको धर्मको केन्द्रबिन्दु भएको दाबी गर्छन्।
अधिकांश इसाईहरूमा त्यहाँको कलभरीको पहाडभित्र क्राइस्टको चिहान छ भन्ने मान्यता छ। जेरुसेलम सहरसहित गेस्थेमाने बगैंचामा जिसस क्राइस्टले प्रार्थना गरेको र उनी आफ्ना भक्तहरूसँग मिलेर आफूलाई क्रसमा झुन्डाउनुभन्दा एक रातअघि समय बिताएको मानिन्छ। जसले गर्दा संसारभरका इसाईहरू उक्त क्षेत्रलाई बढी महत्त्व दिन्छन्।
अर्कोतर्फ यहुदी धर्मको पनि आफ्नै कथा जेरुसेलमसँग जोडिएको छ। यहुदीहरू जेरुसेलमको ‘माउन्ट टेम्पल’ अर्थात् माउन्ट मन्दिर भएको क्षेत्रलाई हजारौं वर्ष अघिदेखि आफ्नो धर्मको एक केन्द्रका रूपमा मान्छन्। उक्त क्षेत्रमा भगवान बस्ने गरेको र अब्राहमले आफ्नै छोरा इस्हाकलाई बली चढाउन तयार पारेको कथाले यहुदीहरूबीच गहिरो आस्था जमाएको छ। यहुदीहरू जेरुसेलम र माउन्ट मन्दिरलाई अघि पारेर प्रार्थना गर्छन्।
यहुदीहरू जेरुसेलमको पुरानो सहरको मुटुमा रहेको पश्चिमी पर्खाललाई आफ्नो धर्ममा सबैभन्दा पवित्र मान्छन्। यहुदीहरूलाई प्रार्थना गर्नको उक्त मन्दिरको पर्खाललाई सहज मान्छन्। हिब्रु बाइबल तनाखमा उक्त धार्मिक सहरलाई ६६९ पटक र जिओन (जेरुसेलम इजरायलको भूमि हो भन्ने)को प्रसंगलाई १५४ पटक उल्लेख गरिएको यहुदीहरूको तर्क छ।
उक्त स्थानमा रहेको अर्को धर्म हो, इस्लाम। यहुदीहरूलाई जसलाई माउन्ट टेम्पल भनेर परिचय दिन्छन्, त्यसलाई इस्लाम धर्मालम्बीहरू हरम–इस–शरिफको नामले चिन्छन्। उक्त स्थानलाई मुस्लिमहरू साउदी अरेबियामा रहेका दुई मुख्य धार्मिकस्थल मक्का र मदिनापछि तेस्रो ठूलो मुस्लिम धार्मिक स्थलको रुपमा मान्छन्।
मुस्लिमहरू प्रोफेट मोहम्मदलाई देवदूत गाब्रियलले मक्काबाट जेरुसेलम लगेको विश्वास गर्छन्। त्यहाँ उनले अन्य भक्तहरूसँग प्रार्थना गरेको र स्वर्ग फर्केको मानिन्छ। जेरुसेलमले माउन्ट टेम्पल बनेको स्थानमा 'अल–अक्सा मस्जिद' र 'डोम अफ द रक' पनि रहेको छ। त्यहीँबाट मोहम्मद स्वर्गमा उक्लेको विश्वास मुस्लिमहरूमा रहेका कारण यो इस्लामको दोस्रो स्तम्भ हो। र, दिनको ५ पटक प्रार्थना गर्नुपर्छ।
त्यसैले पहिले–पहिले मुस्लिमहरू जेरुसेलम पट्टि फर्केर प्रार्थना गर्ने गरेको मानिन्छ। एक धर्मालम्बीले अर्को धर्मालम्बीलाई दुर्व्यवहार गर्नेदेखि उक्त क्षेत्रभित्र नै बन्दुक लगेर मार्ने समेत काम भएपछि फरक धर्मका नागरिकहरू बीचमा द्वन्द्व चर्किएर दुई मुलुक बीचमा युद्ध भएको घटना पनि छन्।
000
यहुदीलाई विश्वकै एक अल्पसंख्यक जातिका रूपमा लिइन्छ। ६० लाख यहुदीलाई हिटलरले ग्यास चेम्बरमा हालेर हत्या गरेको थिए। तर उक्त घटना भएको लामो समय बितेपनि इरानी नेताहरूले यहुदी संहार विरोध नगरेकोमा गुनासो गर्छन्। इजरायल भने हमासभन्दा पनि यसलाई सहयोग गर्ने मुलुक इरानसँग बढी आक्रोशित छ।
किनकी हमासलाई आवश्यक सम्पूर्ण हातहतियारको इजिप्टको बाटो हुँदै सहयोग गर्ने काम इरानले नै गर्छ। इजरायलको पहिलो सहयात्री बेलायत थियो भने अहिलेको मुख्य सहयात्री भनेको अमेरिका हो। अमेरिका र इरानको बढ्दो तनावलाई पनि इजरायलले राम्रोसँग उपयोग गरेको देखिन्छ। प्यालेस्टाइनीले उक्त भूमि आफ्नो जारी गरे पनि इजरायलीहरू पुर्खादेखि ने आफ्नै रहेको मान्छन्।
‘इतिहासलाई जतिसुकै बंग्याए पनि यहुदी जनता र यहुदी भूमिको ४ हजार वर्ष पुरानो सम्बन्धलाई कसैले अस्वीकार गर्न सक्दैन,’ इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सन् २०११ मे महिनामा अमेरिकी कंग्रेसलाई सम्बोधन गर्दै भनेका थिए। इजरायली भूमिमा जन्मेका पहिलो प्रधानमन्त्री नेतन्याहुले ‘यहुदीहरूको खरानीबाट मध्यपूर्वमा (नेपालबाट पश्चिम एसिया) इजरायल राज्य स्थापना भएको’ मान्छन्।
नेतन्याहु प्यालेस्टाइनको पीएलओ संगठनले वार्ता गरेर शान्तिपूर्वक समस्याको समाधान गर्नुपर्ने मान्छन्। नेपालका लागि इजरायलका राजदूत गोडर इजरायलले विद्रोही आतंककारी हमाससँग वार्ता नगर्ने बताउँछन्। ‘आतंककारी समूहसँग कसरी वार्ता गर्ने हो? हामी त प्यालेस्टाइनसँग वार्ताको लागि सधैं तयार छौं। एक सय वर्षभन्दा बढी लामो हिंसालाई हामी शान्तिमा बदल्न चाहन्छौं,’ उनको भनाई थियो। गोडरले हमासको आक्रमणविरुद्ध बोल्न नेपाललाई पनि आग्रह गर्छन्। भन्छन्, ‘इजरायलसँग आफूलाई रक्षा गर्न पाउने अधिकार छ।’
000
यूएनले मिलाउन नसकेको इजरायल र प्यालेस्टाइनबीचको समस्या ओस्लो सम्झौताले हल गर्न सक्ने आकलन गरिएको थियो। सन् १९९३ को अगस्ट २० तारिखमा नर्वेको राजधानी ओस्लोमा द्वन्द्वको सामना गर्न इजरायल सरकार र प्यालेस्टाइन लिबरेसन अर्गनाइजेसन (पीएलओ)बीच गोप्य सहमति भएको थियो। उक्त सम्झौताको प्रक्रिया अन्तर्गत पहिलो सहमतिपत्रमा सेप्टेम्बर १३ तारिखमा वासिंटनमा इजरायली प्रधानमन्त्री यित्ज्याक रबिन र पिएलओ प्रमुख यासेर अराफातले अमेरिकी राष्ट्रपति बिल क्लिन्टनको उपस्थितिमा हस्ताक्षर गरेका थिए।
दोस्रो सहमतिपत्रमा भने यी दुई मुलुकबीच सन् १९९५ मा इजिप्टमा हस्ताक्षर भएको थियो। सोही सम्झौताअनुसार पीएलओले प्यालेस्टाइनी भूभागहरू वेस्ट बैंक र गाजामा शासन गर्ने भनिएको थियो। सम्झौताले इजरायलले पीएलओ र पीएलओले इजरायललाई मान्यता दिएर समस्याको हल गर्दै जाने निर्णयमा पुर्याएको थियो।
सम्झौतामा ए, बी र सी ब्लक गरी इजरायल र प्यालेस्टाइनको भूभागलाई बाँडिएको थियो। ‘ए’ ब्लकमा प्यालेस्टाइनको कन्ट्रोल, ‘बी’ ब्लकमा प्यालेस्टाइन र इजरायल दुवैको कन्ट्रोल र ‘सी’ ब्लकमा इजरायलको कन्ट्रोल हुने तथा अन्य समस्या हल गर्दै जाने विषयमा सहमति भएको थियो। इजरायलीहरूले आफ्नो बस्तीहरूलाई बढाएको कारण प्यालेस्टाइनीहरू वेस्ट बैंक क्षेत्र र गाजा क्षेत्रमा खुम्चिनु पर्ने बाध्यता भयो।
उक्त सम्झौतालाई लिएर इजरायली प्रधानमन्त्री रबिन र पिएलओ प्रमुख अराफातलाई सन् १९९५ नोबल विश्व शान्ति पुरस्कार समेत दिइयो। तर उक्त सम्झौतालाई लिएर इजरायल र प्यालेस्टाइनमा उग्रवादीहरूले विरोध गर्न थाले। प्यालेस्टाइनी लेखक एड्वार सइददेखि हमाससम्मले विरोध गर्यो र त्यो सम्झौता नमान्ने बतायो। अर्कोतर्फ इजरायली प्रधानमन्त्री रबिनलाई त प्यालेस्टाइनसँग सम्झौता गरेको भन्दै सन् १९५५ अन्त्यमा यहुदीले नै भारतमा महात्मा गान्धीका अनुयायी नाथुराम गोड्सेले गोली हानी हत्या गरेको जस्तै गरी तेल अबिब सहरमा सार्वजनिक रुपमा मारिदिए।
अब इजरायलबाट उक्त सम्झौतालाई अघि बढाउने रबिन जस्ता नेता थिएनन्। उता पीएलओका प्रमुख अराफातले पनि सम्झौतालाई कार्यान्वयन गर्ने वातावरण बनाउनै सकेनन्। प्यालेस्टाइन र इजरायल दीर्घकालीन शान्तिको नजिक पुगेर फेरि युद्धमा फर्किए। त्यसको ५ वर्षपछि नै सन् २००० मा दुई मुलुक बीचमा फेरि ठूलो द्वन्द्व भयो।
000
एकातर्फ इजरायलको दक्षिणपन्थी सरकार र अर्कोतर्फ सन् १९८७ बाट अगाडि आएको प्यालेस्टाइनको हमासको क्रियाकलापले दुई मुलुकबीच शान्ति हुन सकेको छैन। हमास कुनै पनि हालतमा इजरायललाई पराजित गरेर सम्पूर्ण भूभाग पाउने अभियानमा छ। अहिले हमासले इजरायलमाथि गरेको आक्रमणको मुख्य उद्देश्य पनि त्यसैको निरन्तरता हो। ‘इजिप्टको इस्लामिक ब्रदरहुड मुभमेन्ट’बाट जन्मिएको हमास सुरुमा गाजा क्षेत्रमा इस्लामको धार्मिकस्थल मस्जिदको सञ्जालमार्फत् विभिन्न खालको सामाजिक काम गर्दै अघि बढेको संगठन हो।
हमास सन् १९९७ मा निर्वाचनमा आउन मानेन र त्यसपछि प्यालेस्टाइनकी पीएलओ पार्टीसँग आन्तरिक द्वन्द्वमा लाग्यो। साथै, उसले इजरायलविरुद्ध आत्मघाती बम आक्रमण गर्न समेत थाल्यो। तर हमासले सन् २००६ मा गाजा क्षेत्र र वेस्ट बैंकमा भएको निर्वाचनमा सेकुलर प्यालेस्टाइनी नेसनालिस्ट पार्टीलाई हराएर निर्वाचन जित्यो। ३६५ वर्ग किलोमिटर क्षेत्रफल भएको गाजालाई हमासले अहिले नियन्त्रणमा लिएको छ। गाजामा अहिले करिब १८ लाख बसोबास प्यालेस्टाइनी बसोबास गर्छन्। प्यालेस्टाइनको अर्को भाग वेस्ट बैंकमा पीएलओको र फतेह नामको राजनीतिक पार्टीले शासन गरिरहेका छन्।
दुई मुलुक बीच झन्डै १०० वर्षदेखि असन्तुष्टि र युद्ध अझसम्म जारी छ। यसको समाधानको लागि लिग अफ नेसन्सदेखि संयुक्त राष्ट्र संघ लागे। ओस्लो सम्झौता पनि भयो। तर दुवै पक्षले कार्यान्वयन नगर्दा समस्या झन् बल्झिँदै गरिरहेको छ। यस पटक ११औं दिनमा पुगेर अन्तर्राष्ट्रिय दबाबपछि युद्धविराम भएको छ। तर यो युद्धविराम अर्को युद्ध नहुनु अघिसम्मका लागि मात्र हो। दीर्घकालीन रूपमा यी दुई मुलुक बीचमा शान्ति सम्झौता हुने सम्भावना कम देखिन्छ।
नेपाल सरकारले यस पटकको द्वन्द्वपछि पनि दुवै मुलुकलाई वार्ता गरेर समस्या समाधानको लागि आह्वान त गरिसकेको छ। आशा गरौं, केही चमत्कार होस् र अमेरिकालगायत ठूला मुलुकहरूले वार्ताको लागि पहल गरून्। शान्ति वार्ताद्वारा समस्याको समाधान छिट्टै निकाल्न दुवै मुलुक सफल होउन्।
-पाण्डेको ब्लगबाट।