कला/साहित्य समाचार

भाइराजको रचनाः भगवानलाई मास्क, बालकलाई प्लेकार्ड

1624332687.ggdsaa.jpg

काठमाडौं- सर्जिकल मास्क लगाएको बालक आफ्नै घरअघि उभिएको छ। उसको घाँटीमा झुन्डिएको छ, प्लेकार्ड। लेखिएको छ, ‘आमाले नुन लिन पठाउनुभएको!’ 

चेक सर्ट लगाएको अबोध बालकको अनुरोधलाई क्यानभासमा उतारेका हुन् कलाकार भाइराज महर्जनले। 

अघिल्लो लकडाउनको असारे झरी। आफ्नै आर्ट ग्यालरीमा बसेर मोबाइलमा अनलाइन समाचार हेर्दै गरेका भाइराजको आँखा पर्‍यो तरकारी लिन जाँदा कुटिएकी महिलाकोे समाचार। तरकारी लिन घरबाहिर निस्किएकी गृहणीले पनि कुटिनुपर्ने? यो कस्तो लकडाउन हो? धेरैपटक आफैंलाई सोधेका थिए भाइराजले। घर लैजान किनेको तरकारी भुइँभरि छरेर प्रहरीले कोरोना न्यूनीकरण कति गर्‍यो त? 

यस्तै सोचमा केहीबेर अल्झिएका कलाकार भाइराजको हृदयले आफ्नै घरको भान्सा सम्झियो। महिलालाई समेत प्रहरीले हातपात गरेर सरकारले लकडाउन कडा छ भन्ने प्रमाणको प्रदर्शनबाहेक अरु केही गर्नु थिएन अघिल्लो लकडाउनमा। गृहणीले माफी माग्दा पनि प्रहरीले घण्टौं होल्डिङमा राखिदिएका थिए। 

भाइराज महर्जन

‘भान्सामा पकाउने सर्जाम लिन गृहणीले पाउँदैनन् भने अरु को जाने त पसल?’ उनी आफैसँग गनगनाएका थिए धेरैपटक। फेरि समालिएर आफ्नै ग्यालरीका रङ हेरे। उनले एउटा रित्तो क्यानभास निकाले।  क्यानभासको सेतो पृष्ठभूमि हेर्दै उनले ती महिलालाई सम्झिए। तरकारी पर्खिरहेका परिवारका अन्य सदस्य सम्झिए। अन्तिममा देखे उनले सानो बालक। जसलाई केही लिन बाहिर पठाउन मन गरे। उनले भने, ‘अत्यावश्यक बस्तु ल्याउनु छ बालकहरु दौडिएर जान्छन् र दौडिएर आउँछन्। तर यतिखेर बाहिर दौडिन त सम्भव नै थिएन।’ 

उनी क्यानभासमा एकाग्र भइरहेका बेला झरी छल्दै एक बालक कुद्दै गइरहेको देखे। ऊ कुनै पसल गइरहेको थियो। र उसले मास्क लगाएको थियो। 

‘यस बन्दाबन्दीमा प्लेकार्ड झुन्डाएर घरायसी सामान किन्न ठूला मान्छे आफ्नै घर आसपासका पसलमा हिँड्न लाज मान्छन्। तर बच्चालाई कुनै मतलब हुँदैन। उनीहरू सक्छन्।’

उनको देखे क्यानभासमा त्यस्तै बालक। जो झरी र कोरोना दुवैबाट बच्दै बचाउँदै जाँदै थियो। तर यस किसिमको भागदौड कहाँ थियो र लकडाउनमा? बाहिर हिँड्न त सख्त मनाही थियो र छ। 

भान्सामा सकिएको सर्जाम किन्न त पसल जानै पर्‍यो। त्यसका लागि बन्द पसल पुगेर सटर ढक्ढकाउनु पथ्र्यो।  त्यसैले उनको दिमागमा फुर्‍यो– प्लेकार्ड। 

अहिले जनता टाढैबाट बोल्नुपर्ने अवस्था छ। टाढैबाट हिँड्नुपर्ने र तर्किनुपर्नेछ। आफन्तसँग त टाढा टाढा हुनुपर्ने बेला सडकमा अचानक भेटिने प्रहरीसँग किन नजिकिनु? किन हप्की खानु? अझ प्लेकार्ड त आफैंमा हतियार हो। जसमा लेखिएका अक्षरको प्रहार टाढासम्म पुग्थ्यो र स्पष्ट बुझिन्थ्यो। टाढैबाट देखिने हुनाले पनि प्लेकार्ड सबैभन्दा बढी आन्दोलनमा प्रयोग गरिएको पाइन्छ। जुलुस, आन्दोलन, र्‍याली, धर्ना, अनसनका लागि प्लेकार्ड आवाज बोकेर हिँड्छ। मान्छे बोल्नुअगाडि नै प्लेकार्डमा लेखिएका अक्षरले ‘कन्भिन्स’ गरिसकेको हुन्छ। यस्तै कन्भिन्स गर्ने प्लेकार्ड बोकेर बालकलाई घरबाट निकाले कलाकार भाइराजले। 

भान्सामा नभई नहुने चिज हो नुन। नुन बिनाको तरकारी सम्भव छैन। त्यसैले महर्जनले नुन लिन हिँडेको एक बालकको प्लेकार्डमा लेखिदिए, ‘आमाले नुन लिन पठाउनुभएको!’ 

बच्चालाई नै किन पठाइयो त? उनले भने, ‘यस बन्दाबन्दीमा प्लेकार्ड झुन्डाएर घरायसी सामान किन्न ठूला मान्छे आफ्नै घर आसपासका पसलमा हिँड्न लाज मान्छन्। तर बच्चालाई कुनै मतलब हुँदैन। उनीहरू सक्छन्।’

क्यानभासमा देख्न सकिन्छ बालक एउटा पुरानो घरको अघिल्तिर छ। पुरानो घर खोज्नुको कारण उनी समयको माग ठान्छन्। तर उनले घरका भित्तामा किन बनाए होलान् कुनै पार्टीको झन्डामा हुने लोगो। उनले भने, ‘उपत्यकाका नयाँ घरमा कुनै पार्टीको पम्प्लेट टाँस्न पाइँदैन। ती सबै पुराना घर हुन् जहाँ मजाले पार्टीको लोगो अंकित पम्प्लेट टाँस्न पाइन्छ।’ 

‘भगवान‍ले समेत मास्क लगाएको देखेपछि मान्छेमा केही परिवर्तन पक्कै आउला। कम्तीमा आफ्नो सुरक्षाका खातिर मास्क लगाउन प्रेरित होलान्।’

महर्जनका लागि घरको भित्तामा टाँसिएको हँसियाहथौडा अंकित चित्रले सोच मग्न बनायो। कारण अबको कयौं वर्षपछि कुनै नयाँ पुस्ताले यो क्यानभास हेर्दा कोरोना महामारीको समयमा सरकारको नेतृत्व गर्ने कम्युनिस्ट पार्टी नेकपा थियो भने उनले। र थपे, ‘महामारीलाई रोक्न सरकारले बिना पूर्वतयारी लकडाउन गर्‍यो। जसका कारण जनताले सास्ती पाए भोकै मर्नुपर्‍यो।’

यसर्थ उनी यस चित्रबाट कोरोना कष्ट पाएको समयमा एक जना साधारण बालकको दुर्दशा चित्रण गर्दछन्। किनकि बालक हिंसात्मक पुलिस मुठभेडबाट बच्नका लागि पूर्ण रूपमा तयार छ।  

०००

कोरोनाले नेपालमा मात्रै हजारौं मानिसको ज्यान गइसकेको छ। तर पनि कोरोनासँग कोही डराउँदैनन्। कोरोना भनेको सामान्य रुघाखोकी मात्रै हो। यति लापर्बाही किन? कोरोनाको जोखिम हुँदा–हुँदा पनि मानिस बाहिर डुल्छन्। भीड खोज्दै घरबाट निस्किन्छन्। डाक्टर, विज्ञ, प्रहरी र सरकारले भनिरहेका छन्– बाहिर नस्किनु। तर भनेको कोही मान्दैनन्। जसलाई परेको छ ऊ काँपेको छ, जसलाई परेको छैन हिँडेको छ लखरलखर। कोरोना महामारीबाट डराउन आखिर कसले भनेको मान्छन् त? यस्तै यस्तै सोचेर उनले अर्को पेन्टिङ बनाए– ग्रिन तारा अर्थात् भृकुटी देवीको। 

उनले बनाएको ग्रिन ताराको क्यानभासमा दुईवटा ग्रिन तारा छिन्। त्यसमा दुइवटा फरक पाउन सकिन्छ। त्यो फरक नै कलाकार भाइराजका लागि प्रिय भइदियो। उनले भने, ‘ग्रिन तारा जो बढी समय ध्यानमा हुन्छिन्। तर समयले ध्यानमा डुबेकालाई पनि तर्साइरहेको छ जसका कारण मास्क लगाउन जरुरी छ।’ 

साँच्चै कुनै पर्यटकले भनेका थिए, ‘काठमाडौं सहरमा मान्छेभन्दा बढी देवीदेवता छन्। घरभन्दा बढी मन्दिर छन्। यतिखेर मन्दिरमा बस्ने भगवान‍लाई पनि डर छ कतै कोरोना सर्छ कि भन्ने।’ 

ग्रिन तारा अर्थात् भृकुटीलाई देवीका रुपमा पुज्छन्। उनै देवीलाई ब्राउन र ग्रिनरेड कलर प्रयोग गरेर एउटा क्यानभासमा उतारे। जसमा ‘लोटस’ अर्थात् फक्रिएको कमलको फूल समाएर मुस्कुराएकी ग्रिन तारा र अर्कोमा उनले मास्क लगाएकी ग्रिन ताराले ओइलाएको कमलको फूल समाएको देख्न सकिन्छ। ‘भगवान पनि यस्ता महामारीबाट हिजो स्वतन्त्र थिए। हाँसेका थिए। तर अहिले महामारीको यस महाविपत्तिमा सुरक्षित बस्न खोजिरहेका छन्’, उनले भने। ईश्वर पनि यतिखेर चिन्तित छन् र मास्क लगाएर कोरोनासँग लडिरहेका छन्। उनले भने, ‘भगवान‍ले समेत मास्क लगाएको देखेपछि मान्छेमा केही परिवर्तन पक्कै आउला। कम्तीमा आफ्नो सुरक्षाका खातिर मास्क लगाउन प्रेरित होलान्।’

यस्तो विषम परिस्थितिमा सबैले आफ्नो सुरक्षाका लागि होसियारी अपनाउनुपर्छ। भगवान‍ले मास्क लगाएको देखेर मानिसले पनि आफ्नो सुरक्षामा सावधानी अपनाउन सक्छ। माक्स लगाउन सक्छ। उनले भने, ‘मुखमा मास्क लगाउँदा पनि हातको फूल मुर्झाउनु भनेको हामी अझै स्वस्थ छैनौं भन्नु हो अर्थात् कोरोना कम भएको छैन।’

साँच्चै कुनै पर्यटकले भनेका थिए, ‘काठमाडौं सहरमा मान्छेभन्दा बढी देवीदेवता छन्। घरभन्दा बढी मन्दिर छन्। यतिखेर मन्दिरमा बस्ने भगवान‍लाई पनि डर छ कतै कोरोना सर्छ कि भन्ने।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट