समाचार

महोत्तरीमा निषेध आदेश खुकुलो, अत्यावश्यक पसल ३ बजेसम्म खोल्न पाइने

1624331413.dao mahottari.jpg

महोत्तरी- महोत्तरीमा कोभिड–१९ महाव्याधि संक्रमण छल्न जारी निषेध आदेशको अवधि एक साता थप गरिएको छ। मंगलबारदेखि लागू हुने गरी छैटौंपटक जारी निषेध आदेशको अवधि असार १५ गते मध्यरातसम्मलाई थप गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको हो।

पछिल्लोपटक एक साता थपिएको निषेध आदेश खुकुलो बनाइएको छ। यस अवधिमा अत्यावश्यक वस्तुका पसलहरू अब बिहानदेखि दिउँसो तीन बजेसम्म सञ्चालन हुनेछन्। त्यसैगरी निजी सवारी साधन सञ्चालनमा पनि छुट गरिएको छ। यसअघि अत्यावश्यक सामग्री बेच्ने पसल बिहान तीन घण्टामात्र सञ्चालन हुनसक्ने व्यवस्था थियो।

थप गरिएको निषेध आदेश अवधिमा सिनेमाहल, होटल, सभासम्मेलन, भोजभतेर र सार्वजनिक भाडाका सवारी साधन चल्ने छैनन्। खुकुलो बनाइएको अवधिभित्र पनि सुरक्षाका लागि स्वास्थ्यका मापदण्ड कडाइका साथ अवलम्बन गर्नुपर्ने निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए। 

जिल्लामा यसपालि गत वैशाख २२ गतेदेखि लागू हुने गरी निषेध आदेश जारी गरिएको थियो। त्यसयता क्रमशः पछिल्लो पटकसमेत छैटौंपटक निषेध आदेश अवधि थप गरिएको हो। यो थपिएको अवधिमा नेपाल–भारत आवतजावत पूर्ण बन्द रहने स्पष्ट पारिएको छ।

जिल्लामा यसपालि २०७८ प्रारम्भ भएयता कोभिड–१९ सङ्क्रमणले गत वैशाख १४ गते पहिलो मृत्यु भएको थियो। यो महाव्याधिले हालसम्म ८४ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ। यीमध्ये तीन जनाको यही असार महिनामा मृत्यु भएको हो। यसअघि २०७७ को वैशाखदेखि कात्तिक मसान्तसम्म यो महामारीले १८ जनाको मृत्यु भएको थियो।

यसपालि अहिलेसम्म दुई हजार ६२८ जना यो महाव्याधि सङ्क्रमणमा परेका छन्। अहिलेसम्म एक हजार ६१० जना निको भएका कार्यालयका कोभिड–१९ सङ्कट व्यवस्थापन स्रोत व्यक्ति तथा जनस्वास्थ्य निरीक्षक प्रतिभा सिंहले जानकारी दिइन्। जिल्लामा हाल १० जना अक्सिजन सुविधासहित अस्पतालको सघन उपचारमा छन्। अन्य ९२४ सङ्क्रमित घरमै स्वास्थ्यकर्मीको परामर्शमा होमआइसोलेशनमा रहेका छन्। यसअघि २०७७ को वैशाखदेखि कात्तिकसम्म दुई हजार १४१ महाव्याधि सङ्क्रमणमा परेका थिए। रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट