काठमाडौं- नेकपा माओवादी केन्द्रले संसद विघटनविरुद्ध सबै शक्तिसँग एकताबद्ध भएर संघर्ष अघि बढाउने निर्णय गरेको छ।
पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले यस्तो निर्णय गरेको माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। ‘स्थायी कमिटीको बैठकले मध्यराति राष्ट्रपति र प्रधानमन्त्री मिलेर गरेको असंवैधानिक, अलोकतान्त्रिक र निरंकुश कदमको भत्सर्ना गरेको छ, ‘उनले भने, ‘सबै शक्तिसँग एकताबद्ध भएर संघर्ष गर्छौं।’
उनले कोरोना भाइरसको महामारी तीव्र बनिरहेका बेला सडक संघर्षको कार्यक्रम अहिले नगरिने बताए। उनले जनताको जीवन रक्षा गर्दै प्रतिवाद गरिने बताए।
माओवादी केन्द्रको स्थायी कमिटी बैठकले प्रतिगमनविरुद्ध नागरिक समाज, पेशाकर्मी, बुद्धिजिवीलगायत सबैलाई संविधान र लोकतन्त्रको रक्षाका लागि आह्वान गरेको छ।