विचार

कमान खुस्केको घडी र इमान निख्रिएको नेतृत्व

1624156917.sanket koi (1).jpg

यतिबेला युरोकप फुटबलको राप र ताप छ। दसैंमा एकजोर नयाँ मोजा किन्नसम्म जाँगर नलाउनेहरू अहिले पहेँला, हरिया, नीला जर्सी लगाउन तम्सिएका छन्। आफ्नै सन्तानको नाम भन्नुपर्‍यो भने घोरिनुपर्नेहरूलाई फुटबल खेलाडीको नाम कण्ठाग्र छ। बिहेमा छोरीलाई टीभी दाइजो दिनु पर्दा मुलुकी ऐन पल्टाउनेहरू फुटबल हेर्नकै लागि अनलाइनबाटै किन नहोस्, एलसीडी, एलईडी टीभी छान्न मस्तराम देखिन्छन्।

अरूले ख्वाएको झुम सरावीमा बर्बराउने तिनीहरूलाई पत्नीसँग सम्बन्ध विच्छेद गरेका धनाढ्य बिल गेट्सकी किशोरी छोरीको भविष्यदेखि नरेन्द्र मोदीले गर्ने कामको चिन्ताले खग्रास बनाउने गरेको छ। यस्ता प्रवृत्तिका मानिसहरू घरमा भात पकाउने एक सिलिन्डर ग्यास जोहो गर्न सक्दैनन्, देशको व्यापार घाटा सन्तुलित बनाउने धुरन्धर अर्थशास्त्री बनेर उभिन्छन्। दुःखी आत्मा लिएर बाँच्नु उनीहरूको दैनिकी हो। जसले जीवनमा एउटा सिंगो किताब उधिनेर पढेको रेकर्ड छैन, त्यसको बैठक पुस्तकको चाङले भरिएको देखिन्छ। पशुपतिमा सिंगो मोहोर नचढाएकाहरूलाई त्यहाँको पारदर्शिताको हिसाबले भतभती पोल्छ। हो, यी सवै दृश्यले भन्छ– हाम्रा लागि पाखण्डपूर्ण कर्म महत्त्वपूर्ण बन्दै गएको छ। 

सामान्य सञ्चारकर्मीलाई देवत्वकरण गरेर नेताहरू अपराधीको कोटीमा उभ्याइएका छन्। स्टुडियोमा पाहुना बोलाएर उनीहरूको घाँटी थिच्नुलाई पत्रकारिताको मानक मानिन्छ। यो देशको पत्रकारिता सप्रिएका दिन मुलुकका आधा समस्या हल हुन्छन्। 

हरेकलाई आफ्नो कर्म र कर्तव्य साँघुरो बन्दै छ। जो जे मा योग्य छ, योग्यता विपरीतको काममा रमाइरहेको देखिन्छ। हामी भोट ईश्वर पोखरेललाई खन्याउँछौं, आँसु उज्ज्वल थापाको नाममा बगाउँछौं। दीपक मनाङेलाई चेप्छौं, डा. हर्क गुरुङलाई किताबमा पढ्छौं। डा. गुरुङको भिजनअनुसार ५ प्रतिशत मात्र काम भएको थियो भने मुलुक कायाकल्प हुने थियो। हुँदाहुँदा अहिले त युट्युबका लागि काम गर्ने २–४ दर्जन भुराले हुर्काएका पात्र समाजका राजहाँस बन्दै गएका छन्। ज्ञानेन्द्र शाही को हुन्? उनको योग्यता के हो? कसैलाई थाहा छैन। तर अख्तियार र महालेखापरीक्षकको जिम्मेवारी लिएर उनी हिँडेका छन्।

अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राई र महालेखापरीक्षक टंकमणि शर्माको नाम त अवकाशपछि पनि नेपाली भूगोलभित्र कसैले थाहा पाउँदैनन्। यी पात्रको नाम नर्सरीका भुरादेखि शताब्दी पुगेका अग्रजलाई पनि कण्ठ छ। पुण्य गौतम सर्वोच्च अदालत बनेका छन्। मुकुन्दे, ज्वाला संग्रौला, हेमराज थापा, आङकाजी शेर्पाहरू राणाकालका पूर्व कमान्डिङ जर्नेल, पश्चिम कमान्डिङ जर्नेल जस्ता बनेका छन्। उनीहरूले पाएको पदवी कसले जुराएको त्यो पनि थाहा छैन। समाज भाँड्नु र अरुलाई गालीगलौज गर्नु कुन सामाजिक मर्यादाभित्र पर्छ? 

शिवपुरीको जंगलमा दुईवटा स्याल जुधेको विषयमा समेत यिनीहरू धाराप्रवाह विश्लेषण गर्न सक्षम छन्। लोग्नेस्वास्नीको ठाकठुक परेको थाहा पाए भने एकएकवटाको पक्ष लिएर यिनीहरूले सम्बन्ध डिभोर्स गराइदिन्छन्। आश्चर्य त के छ भने उनीहरूको भरोसामा देशविदेशबाट लाखौं करोडौं बर्सिएको छ। यी पात्रका विरुद्ध बोल्नेलाई सामाजिक सञ्जालमा भुत्ला लुछेको कुखुरा बनाइन्छ। गीतसंगीतका स्रष्टा कृष्ण कँडेललाई अरुले पठाएको पैसा बाँडेर फुर्सद छैन।

सरकारी संयन्त्रको गति कस्तो छ भने जनता बिरामी हुँदा गरेको सहयोग घोषणा उसको बरखी हुँदासम्म घरआँगनमा पुग्दैन। आगोले मुलुक खरानी बनाएपछि बल्ल दमकल खरिदका लागि खरिदारले टिप्पणी उठाउने प्रवृत्तिमा सुधार नआउँदा मानिस वाक्क, दिक्क, प्याक्क भएर व्यक्तिमा निर्भर हुँदै गएका हुन्। हेर्नुस् त सामान्य सञ्चारकर्मीलाई देवत्वकरण गरेर नेताहरू अपराधीको कोटीमा उभ्याइएका छन्। स्टुडियोमा पाहुना बोलाएर उनीहरूको घाँटी थिच्नुलाई पत्रकारिताको मानक मानिन्छ। यो देशको पत्रकारिता सप्रिएका दिन मुलुकका आधा समस्या हल हुन्छन्। 

घरको नुन, भुटुन जुटाउन नसक्ने तोरी लाउरेहरू झण्डै तीन करोड जनताको भविष्य निर्धारण गर्न राजनीतिको आवरणमा पसेपछि त्यसको अपजस व्यवस्थाले भोग्नुपरेको छ।

सरकारका सेवादायी संस्थाहरू भुत्ते भएपछि जनताले विकल्प खोजेका हुन। जब मुलुकको केन्द्रीय राजनीति लोग्नेस्वास्नी, दाजुभाइ, छिमेकी, चन्दादाताको भलोमा केन्द्रित भएपछि ज्ञानेन्द्र शाही मेनिया यतिमा रोकिँदैन। बरु आईजीपीको सट्टा ज्ञानेन्द्र शाहीलाई सलाम ठोक्न सिपाहीलाई जाँगर लाग्नेछ। अघोषित रुपमा यस्तै अराजकतालाई मौन समर्थन गरिएको हो भने यिनै सेलिब्रिटीहरूलाई देशको सेवासुविधा दिएर शासनको नयाँ मेनु बनाऊँ न त। हुँदा हुँदा विश्वविद्यालयका प्राध्यापकहरूसमेत अहिले यस्तै कर्ममा निमग्न छन्। यसरी न हाँस, न बकुल्लाको चालमा चल्नु भनेको यथास्थितिलाई स्वीकार्नु हो।

आर्थिक वर्षको अन्त्य हुँदा विकासका काम ४० प्रतिशतमा पुग्नु र यो एक महिनाभित्र हुने कामले सतप्रतिशत सफलता पाउनु भनेको अपराध मात्र हैन, महाअपराध हो। वर्षौंदेखि चलेको यो महाअपराधको दायित्व कसैले लिनुपर्दैन? एक महिनामा ६० प्रतिशत काम सम्पन्न भयो भनेर सही धस्काउनेको हात तरबारले ठुन्क्याए पनि कुनै अपराध लाग्दैन।   

कलम चलाउनेहरू कलम चलाउने बाहेकका काममा योग्य भए भने त्यो अपराध हो। डाक्टरहरूको अग्निपरीक्षा बिरामीको अनुहारले गर्छ। घरको नून, भुटुन जुटाउन नसक्ने तोरी लाउरेहरू झण्डै तीन करोड जनताको भविष्य निर्धारण गर्न राजनीतिको आवरणमा पसेपछि त्यसको अपजस व्यवस्थाले भोग्नुपरेको छ। रंगशालामा फुटबलको प्रतिस्पर्धा हुँदा एउटा भकुण्डो हात पार्न २२, २२ जना झुत्ति खेलेको पीडा खेप्न नसकेर प्रत्येकलाई एकएकवटा भकुण्डो किनिदिने उद्घोष गरेको भन्दै पुराना मन्त्री ध्यानबहादुर राईलाई उडायौं।

टेलिफोनको रिसिभर उठाएर उताबाट गरिएको नमस्ते फर्काउन दुई हात जोड्दा टेलिफोन फुटाएको भनेर डिल्लीशेर राईलाई जोकर बनायौं। अंग्रेजी नजानेका जोगमेहरले गाडीको दुईतिर लेखिएको फेरि भेटौंलाको अंग्रेजी अनुवाद ‘हर्न प्लिज’ भन्दै विदेशीसंग बिदा मागेको किस्सा बनाइयो। आखिर त्यो समयको बितेको दशकौंपछि पनि त्यस अवस्थाबाट हाम्रा दैनिकीहरू एक पाइला अघि बढेका छैनन्। 

हामी जति खेल सम्झिएर अर्जेन्टिनाको पक्षमा उर्लिन्छौं, स्वयं अर्जेन्टिनीमा भने नेपालीप्रतिको तुष अद्यावधि कायम छ। ब्रिटिस स्वार्थमा परेर गोर्खाली फौजले फकल्यान्ड टापु ब्रिटिसलाई जिम्मा लगाएको उनीहरूको आरोप छ। 

खै डिग्रीधारीले चलाएको मुलुक कुन अवस्थामा छ? मान्छेको कमजोरीमा खेल्नेहरूले ३६ वर्षमा तुलसी गिरी प्रधानमन्त्री, अनिरुद्धप्रसाद सिंह ३४ वर्षमा प्रधानन्यायाधीश, भरतमणि शर्मा २३ वर्षमा मन्त्री, ३१ वर्षको उमेरमा हिमालयशमशेर राणा राष्ट्र बैंकको गभर्नर, भेषबहादुर थापा २५ वर्षमा सचिव, ३१ वर्षको उमेरमा अमेरिकाको राजदूत बन्ने हैसियत बनाएका हृषिकेश शाहको पदचाप किन पछ्याउन सक्दैनन्? संसारको नेतृत्व दुई बीस नकट्दै लिने परम्परा विपरीत ६० वर्ष नाघेपछि दलहरूमा राजनीतिको खाता खोल्ने परिपाटी कहाँबाट आयो? हो, हाम्रो देशका मनचिन्ते कुरौटेहरूलाई थाहा छैन– ब्राजिल र अर्जेन्टिनाले खेल्ने भकुण्डोको अर्थ हामीले कण्ठ गरेजस्तै पेले, म्याराडोना, मेसी नामको ग्ल्यामरमा मात्र सीमित छैन। अर्जेन्टिनाको टापु फकल्यान्डमा जब ब्रिटिसहरूले कब्जा जमाए, त्यसबेला अर्जेन्टिनीहरूसँग त्यसको जवाफ फर्काउने सामथ्र्य थिएन। हामी जति खेल सम्झिएर अर्जेन्टिनाको पक्षमा उर्लिन्छौं, स्वयं अर्जेन्टिनीमा भने नेपालीप्रतिको तुष अद्यावधि कायम छ। ब्रिटिस स्वार्थमा परेर गोर्खाली फौजले फकल्यान्ड टापु ब्रिटिसलाई जिम्मा लगाएको उनीहरूको आरोप छ। त्यो पीडा भुल्न उनीहरूले कसम खाए– ‘अब हामी गोलीको मुकाबला फुटबलको गोलले गर्नेछौं।’ 

आखिर त्यही कसम त्यो मुलुकका लागि भकुण्डोको गोल आर्थिक, राजनीतिक, सामाजिक र पारिवारिक विकासको मानक बन्यो। त्यहाँको समाजले मन्त्री, प्रधानमन्त्री, डाक्टर, इन्जिनियर, पाइलट केही चिन्दैन। चिन्छ त एउटा सफल फुटबल खेलाडी। ब्राजिल, अर्जेन्टिनाजस्ता देशमा जन्मिने बच्चाले जीवनको पहिलो प्रहर खोल्दा देख्ने पहिलो वस्तु भनेकै फुटबल हो। तिनीहरूको जप, तप नै फुटबलको त्यो गोलाइमा अडेको हुन्छ। त्यो देशको सरकारले पहिलो लगानी रंगशालामा गर्छ। तिनीहरूले भकुण्डोलाई जसरी विगत, वर्तमान र भविष्य बनाए, त्यस्तै चीज हामीसँग केही छ भने त्यो गफ मात्र हो। कमान खुस्केको घडी र लगाम खुस्केको घोडाको प्रवेशले हाम्रो समाजलाई अन्धधुन्धा गिजोलेको छ। हेर्नुस् त रोनाल्डो नामको एउटा फुटबल खेलाडीले कोकको बोतल पन्छाउँदा बहुराष्ट्रिय कम्पनीको आर्थिक कारोबारमै धक्का लाग्यो। संसार मानिसमा लगानी गर्छ, फलाम सुन बन्छ। हामी खोलामा घर बनाउँछांै, बाढीले लगेपछि अमूर्त सरकारलाई सराप्छौं। पाउनु र गुमाउनुको भेद यति हो।  

मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस्। लेख्नुअघि दुईपल्ट सोच्नुस्। केही काम गर्नुअघि तीनपल्ट सोच्नुस्। संसारमा सवैभन्दा मूल्यवान तरल पदार्थ आँसु हो। जसमा १ प्रतिशत पानी ९९ प्रतिशत भाव हुन्छ। त्यसैले आँसु हैन, हाँसोको खेती गरौं।

मानिस टाकुरामा पुगेर ठूलो हुने होइन। मुख्य कुरा त उसले कस्तो प्रभाव छोड्छ भन्ने हो। भनिन्छ– लाटो तीनपल्ट हाँस्छ रे। पहिलो बुझ्दै नबुझी अरु हाँसेको देखेर, दोस्रो यथार्थ बुझेर अनि तेस्रो चाहिँ अगाडिको अवस्था सम्झिएर। विश्व मानचित्रमा हामी अहिले त्यस्तै लाटा भएका छौं। मान्छेको अनुहारमा रहेको नाक अंग मात्र हैन। यो इज्जतको प्रतीक पनि हो। यसमा ठेस लाग्यो भने जितेका धेरै खेल हारिन्छ।

प्रतिष्ठाको नाक हराउँदा कस्तो पीडा हुन्छ भन्ने तथ्य कोरियालीहरूले भोगेका छन्। विश्व इतिहासमा सन् १५९७ मा जापानी सेनाद्वारा कोरियाली प्रायद्वीप कब्जा गरेको घटना उल्लेखनीय रुपमा आउँछ। त्यस समय जापानीले गरेका बर्बरताका घटना पनि प्रचलित छन्। यसै प्रसंगमा जापानी सैनिकहरूले एक लाख कोरियाली मारेका थिए। त्यसताका जुन जापानी सैनिकले बढी कोरियाली सैनिक हत्या गर्न सक्यो, उसलाई ठूलो पुरस्कार दिइन्थ्यो। तर आफूले गरेको हत्याको प्रमाणस्वरुप मारिएका कोरियालीहरूको नाक बुझाउनुपर्थ्यो। अन्यथा पुरस्कार पाइँदैनथ्यो। ती सैनिक अधिकारीहरूसंग काटिएका नाकको ठूलो भण्डार भइसकेको थियो।

जापानको योकोहामा भेटिएको चिहानमा २० हजार कोरियाली सैनिकको नाक गाडिएको थियो। फिलिपिन्सका तानाशाह फर्डिनान्ड मार्कोसकी श्रीमती इमिल्डासँग २५ हजार जोर जुत्ता थिए। उनी एकपल्ट लगाएको जुत्ता अर्कोपल्ट लगाउँदैन थिइन्। उनी कसरी नासिइन् सबैलाई थाहै छ। माइकमा फिँज काढेर बोल्न जान्दैमा नेता कहलिँदैन। मान्छे बटुलेर भाषण त चटकेले पनि गर्छ। तपाईं नीति, दर्शनका पाना पल्टाउनुस् त एउटा राजनीतिक व्यक्ति चाणक्य उपनिषद्, वेद, व्याकरण, गणित, अर्थशास्त्र, राजनीतिशास्त्र, शास्त्र विद्या, दर्शन, ज्योतिष र रसायनमा विज्ञ थिए। प्रकृतिले सुनमा सुगन्ध, उखुमा फल, श्रीखण्डमा फूल किन लगाएन? हेर्नुस् त माटोले फूलको बास्ना लिन्छ तर फूलले माटोको बास्ना लिँदैन। 

कुवाको पानी र ज्ञान उस्तै हो। जो कहिल्यै झिकेर र बाँडेर रित्तिँदैन। त्यसै पनि मानव जीवन आस्था हो, विश्वास हो। बहस होइन। कसैले भनेका छन्– मुखबाट बोली निकाल्नुअघि एकपटक सोच्नुस्। लेख्नुअघि दुईपल्ट सोच्नुस्। केही काम गर्नुअघि तीनपल्ट सोच्नुस्। संसारमा सवैभन्दा मूल्यवान तरल पदार्थ आँसु हो। जसमा १ प्रतिशत पानी ९९ प्रतिशत भाव हुन्छ। त्यसैले आँसु हैन, हाँसोको खेती गरौं। 

sanketkoirala07@gmail.com

प्रतिक्रिया दिनुहोस्
थप समाचार
ताजा अपडेट