काठमाडौं– विपक्षी दलहरुले बहुमत सांसदहरुको हस्ताक्षरसहित आज साँझ ५ बजेभित्रमा प्रधानमन्त्री दाबी गर्ने तयारी गरेका छन्।
एक सांसदका अनुसार संविधानको धारा ७६ (५) बमोजिम प्रधानमन्त्रीमा दाबी दलको नभई व्यक्तिको हुने भएकाले सोहीबमोजिम दाबी गर्न लागिएको हो।
उच्च स्रोतका अनुसार नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई बहुमत सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गराउने दलहरुको तयारी छ। यद्यपि, नेता नेपाल यसबारेमा प्रष्ट भइसकेका छैनन्।
एमाले सांसद जीवनराम श्रेष्ठले दलहरुबीच छलफल चलिरहेको र निर्धारित समयमा नै प्रधानमन्त्रीका लागि दाबी गरिने जानकारी दिए।
माधव नेपाल पक्षका सांसदसमेतको हस्ताक्षर बुझाएर बहुमत पुर्याउन लागिएको हो। यो प्रावधानमा सांसदहरुलाई दलको ह्विप र निर्णयसमेत मान्नुपर्ने अनिवार्य हुँदैन। त्यही भएका कारणले पनि माधव नेपाल पक्षले पनि प्रधानमन्त्री दाबी गर्ने प्रस्तावमा हस्ताक्षर गर्ने बुझिएको छ।
सिंहदरबारमा यसैको तयारीका लागि विपक्षी दलका दोस्रो तहका नेताहरू छलफल गरिरहेका छन्। अर्थ समितिको हलमा एमालेका भीम रावल, माओवादी केन्द्रका देव गुरुङ, वर्षमान पुन, नेपाली कांग्रेसका बालकृष्ण खाँड, रमेश लेखक, जसपाका मोहम्मद इस्तियाक राई, राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादवलगायत सांसदहरु सहभागी भएर छलफल गरिरहेका हुन्।