काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले एक वर्षयता सरकार परिवर्तनको खेलमात्रै भइरहेको बताएका छन्।
पत्रकारहरुसँग अन्तरक्रिया गरिरहेका ओलीले भने, ‘सरकार परिवर्तनको खेल विकास निर्माण नभएर वा अरु कुनै कारणले होइन, आग्रहले हो। आफू सरकारमा पुग्ने इच्छा र अस्थायी ढंगले सबै कुरा चलिरहेको देखाउने खेल भइरहेको छ। संसद् नै अशक्त स्थितिमा पुग्यो। सरकार ढाल्ने खेलका कारण सरकारले राम्रोसँग काम गर्न पाएन। कोरोना महामारीको सामना गर्न एकजुट हुनुपर्नेमा सरकार त्यसमा आफैं केन्द्रित हुन पाएन।’
संविधानको व्याख्याअनुसार नै आफूले गत पुसमा संसद् विघटन गरेको जिकिर उनले गरे। अढाइ महिनासम्म पनि अविश्वासको प्रस्ताव नआएको भन्दै उनले नयाँ सरकार बनाउन पनि नसक्ने अनि विश्वासको मत पनि नदिने भन्दै विपक्षीहरुलाई कटाक्ष गरे।