कोरोनाको कहर जगमा बस्नुपर्ने घरैमा
रोगी हौँला मनमन भनी त्रास छायो छिनैमा
संसारैमा सबतिर यही रोगको भो प्रहार
खायो ज्यानै किन मनुजको आज देखिन्छ हार।
जन्म्यो, हुर्क्याे मनुज तनमा चाइनाको वुहान
दन्क्यो आगो दनदन भई ईटली के इरान !
गोर्खाली हौँ समर विजयी हुन्न कच्चा भनेका
नातागोता भीडतिर पसी घुम्न टाढा गएका।
हेर्दाहेर्दै सहर, घरमा रोग आयो घुमेर
रुन्छन् मान्छे अब धुरुधुरु मर्न लाग्यौँ भनेर
सुत्दा–उठ्दा बकबक त्यसै पोस्ट गर्छन् कसैले
हामी सारा विचलित नभै धैर्य राखौँ सबैले।
लालाबाला जति घरघरै पाठशाला खुलेनन्
बन्दाबन्दै पसल र कतै रेल, गाडी चलेनन्
व्यापारीको छलकपटले मूल्य लाग्यो उकालो
ओरालोमा मुलुक जहिल्यै भ्रष्टको हुन्छ जालो ।
यो बेलामा कठिन छ बुझौँ रोग साझा सबैको
बाबाआमा सकस छ अझै ख्याल राखौँ सबैको
बाला–वृद्धा सब जन अझै पोषिला चीज खाऔँ
साबुन पानीसित मिचिमिची होसले हात धोऔँ ।
ज्वरो आए हनहन बनौँ झन् अझै होसियार
हामी मान्छे अबुझ नभए खै कहाँ हुन्छ हार?
कोरोनाले जब सुजनका बस्तीमा हाल्छ घेरा
मान्छे जागेपछि विपतले हार्छ रे निभ्छ ज्वाला !
(के.सी. भ्याली भ्यू इङ्लिस स्कुलमा कक्षा ५ मा अध्ययनरत विद्यार्थी हुन्।)