वीरगन्ज– वीरगन्ज महानगरपालिकाकी उपप्रमुख शान्ति कार्की कोरोना संक्रमणमुक्त भएकी छन्। वैशाख २२ गते पीसीआर परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको थियो। ९१ वर्षीया महानगर उपप्रमुख कार्की कोरोना संक्रमणमुक्त भएर बिहीबार घर फर्किएकी हुन्।
वीरगन्ज महानगरपालिकाले वैशाख २४ गतेदेखि सञ्चालनमा ल्याएको कोभिड अस्थायी अस्पतालमा कार्कीको उपचार भएको थियो।
उनलाई अस्पतालको पहिलो बिरामीका रुपमा महानगर प्रमुख विजयकुमार सरावगीले स्वागत गरेका थिए। आइसोलेसनमा १४ दिन बसेर कार्कीले कोरोना जितेकी हुन्। उनलाई बिहीबार महानगर प्रमुख सरावगीसहितको चिकित्सक टोलीले आइसोलेसनबाट बिदाइ गरे।
आत्मबल बलियो बनाए कोरोनालाई जित्न सकिने प्रतिक्रिया कार्कीले दिइन्। जनताको सेवामा लाग्दालाग्दै आफू संक्रमित भएको उनले सुनाइन्।