काठमाडौं– कोरियाली भाषा परीक्षामा सहभागी एक सय ३७ जना नक्कली परीक्षार्थीलाई प्रहरीले आइतबार काठमाडौंबाट पक्राउ गरेको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंको विशेष टोलीले १० वटा परीक्षा केन्द्रबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो । सोही परीक्षामा सामेल ४६ नक्कली परीक्षार्थीलाई प्रहरीले २६ जेठमा काठमाडौंका २८ वटा केन्द्रबाट पक्राउ गरेको थियो ।
यसपटक ८० हजार परीक्षार्थी ईपीएसमा सहभागी छन् । उक्त परीक्षा दक्षिणकोरिया र नेपाल सरकारका उच्च निकायको प्रत्यक्ष निगरानीमा लिइँदै आएको छ ।
यति ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ परेको यो नै पहिलो घटना हो । काठमाडौं र पोखराबाट मात्र ईपीएस भाषा परीक्षा लिइने गरेको छ । उक्त परीक्षाकै लागि दक्षिणकोरियाबाट ६४ जनाको अनुगमन टोली नेपाल आएको छ ।
एक परीक्षार्थीबाट दुईदेखि आठ लाख रुपैयाँसम्म लिएर परीक्षामा सामेल गराइने गरेको प्रारम्भीक अनुसन्धानबाट खुलेको छ । यति ठूलो संख्यामा नक्कली परीक्षार्थी पक्राउ पर्नुले यसको विश्वसनीयतामाथि प्रश्न उठेको छ ।
पछिल्ला वर्षमा दक्षिणकोरिया खाडी मुलुकको रोजगारीको बलियो विकल्प बनेको छ । तर, यस्ता घटनाका कारण त्यहाँको सरकारले थप कडाइ गर्न सक्ने जानकारहरू बताउँछन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४