काठमाडौं– पर्यटन विभागले पर्वतारोहीलाई सजकता अपनाउँदै सुरक्षित रहन आग्रह गरेको छ। मौसम खराबीका कारण सगरमाथासहितका विभिन्न हिमाल आरोहण प्रभावित भएको छ।
पूर्वीमध्य अरब सागरमा रहेको शक्तिशाली चक्रवात उठेका कारण नेपालको हिमाल आरोहण प्रभावित भएको हो। विभागकी निर्देशक मीरा आचार्यले हिमालमा रहेका पर्यटकलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिसन एजेन्सीलाई अनुरोध गरेकी हुन्।
अहिले धेरै आरोही आरोहणानुकूल मौमसको प्रतीक्षामा सगरमाथाको आधार शिविरमा छन्। गत वैशाख २४ देखि सगरमाथाको व्यावसायिक आरोहण सुरु भएको थियो।
यस मौसमी प्रणालीले सोमबार दिनभर देशका अधिकांश भागमा बदली गरायो। मंगलबारदेखि अझ असर पर्नेछ। चक्रवातको नेपालमा प्रत्यक्ष असर नरहे पनि अप्रत्यक्ष देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
चक्रवात हाल उत्तर–उत्तरपश्चिमतिर बढ्ने क्रममा छ। महाशाखाले यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न तथा नगराउन आग्रह गरेको छ।