जनकपुरधाम- जनकपुर अञ्चल अस्पतालका प्रमुख डा. रामपरीक्षण यादवलाई अपरिचित व्यक्तिहरुले कार्यकक्षमै कालोमोसो दलेका छन् ।
१०–१२ जनाको समूहमा आएका युवाहरुले आइतबार डा. यादवको कार्यकक्षमै गएर कालोमोसो दलेका हुन् । तीन दिन अगाडी डाक्टरको लापारबाहीले प्रसुति गराउन आएकी जनकपुर उपमहानगरपालिका–१ की सोनियादेवी ठाकुरको मृत्यु भएको घटना सम्बन्धमा ती युवाहरु प्रमुख यादवसँग कुराकानी गर्नभन्दै कार्यकक्ष छिरेर कालोमसो दलेको थिए ।
युवाहरुको समूहले डा. यादवका सहयोगी मिथिलेश यादवलाई पनि कुटपिट गरेको अस्पतालका एक कर्मचारीले जनाए ।
घटनामा संलग्न रहेको आशंकामा प्रहरीले तीनजनालाई नियन्त्रणमा लिएको छ । धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले भागिरहेको अवस्थामा तीनजना शंकास्पद व्यक्तिहरुलाई शंकटमोचन मन्दिर क्षेत्रबाट नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । अस्पताल प्रमुख यादवको कार्यकक्षमा जडान गरिएको सीसी टीभी क्यामरामा युवाहरुको तस्बिर कैद भएको बताइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४