काठमाडौं - नेकपा एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले आजैदेखि काम अघि बढाउने भएको छ।
अध्यक्ष केपी शर्मा ओलीको तर्फबाट कार्यदल संयोजक रहेको एमाले संसदीय दलका उपनेता सुवास नेम्बाङले जानकारी दिए।
‘कार्यदलले तुरुन्त काम थाल्छ। तर, त्यसअघि पहिले आपसमा हामी छलफल गर्छौ,’उनले भने,‘नेताहरूसँग आपसमा कुराकानी गरेर सबै तयार गरेपछि तुरुन्त कार्यदलले काम अघि बढाउँछ।’ उनले कार्यदलले पार्टी एकतामा केन्द्रीत भएर काम गर्ने जानकारी दिए।
आइतबार एमाले अध्यक्ष केपीशर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच सिंहदरबारमा भएको छलफलपछि विवाद समाधान गर्न कार्यदल गठन गरिएको हो। कार्यदल गठन भए लगत्तै माधव झलनाथ पक्षको स्थायी कमिटीका नेताहरुको छलफल भएको थियो। छलफलले कार्यदलका सदस्यहरूलाई २०७५ जेठ २ लाई नै मुख्य आधार बनाएर प्रस्तुत हुन निर्देशन दिएको थियो।
कार्यदलमा अध्यक्ष ओलीको तर्फबाट एमाले संसदीय दलका नेता सुवास नेम्बाङ, सदस्यहरूमा विष्णु पौडेल, शंकर पोखरेल, प्रदीपकुमार ज्ञवाली र विष्णु रिमाल रहेका छन्। त्यस्तै माधव झलनाथ पक्षबाट भीम रावल, सदस्यहरुमा घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट र रघुजि पन्त छन्।