काठमाडौं - नेपाल राष्ट्र बैंकले गत चैतमा मूल्यवृद्धि दर ३ प्रतिशत रहेको जनाएको छ। राष्ट्र बैंकले चालु आर्थिक वर्षको वित्तीय अवस्था सार्वजनिक गर्दै चैत महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फ्रिति ३.१ प्रतिशत रहेको जानकारी गराएको हो।
गत वर्ष २०७६ चैतमा उक्त दर ६.७४ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। सो अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फ्रिति ३.४९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको २.७९ प्रतिशत रहेको छ।
गत चैतमा घिउ तथा तेलको मूल्य वृद्धि २१.३८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ। गत वर्ष २०७६ चैतको तुलनामा घिउ तेलको मूल्यमा उच्च वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
चालु आर्थिक वर्षको चैत महिनासम्म मासु तथा माछा, सुर्तिजन्य पदार्थ, र गैर मदिराजन्य पेय पदार्थ उपसमूहको मूल्यवृद्धि क्रमशः १२.६१ प्रतिशत, १०.४१ प्रतिशत र १०.१८ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ।