बिहीबार, वैशाख १३, २०८१
  • गृहपृष्ठ
  • समाज
  • ‘आफन्त छटपटाएर मरेको हेर्नुपर्ने, कस्तो दर्दनाक अवस्था!’

‘आफन्त छटपटाएर मरेको हेर्नुपर्ने, कस्तो दर्दनाक अवस्था!’

सबैको आस र सास बेड र अक्सिजनमा छ। बेड र अक्सिजन समयमा पाइँदैन, घण्टौं कुर्नुपर्छ। कोही डिस्चार्ज होलान् र बेड–अक्सिजन पाइएला भन्ने आसले संक्रमित भुइँमै लमतन्न छन्।
 |  बुधबार, वैशाख २९, २०७८

अंगद सिंह

अंगद सिंह

बुधबार, वैशाख २९, २०७८

महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल परिसर अशान्त र व्यग्र छ। अस्पताल परिसरमा बिरामी र कुरुवाको भीड छ। कोही अक्सिजनको खोजीमा त कोही बेडको जोहोमा दौडिरहेका छन्। मानिस हतास छन्। अस्पताल पुगेर पनि उपचार हुन्छ भन्नेमा ढुक्क छैनन्। सबैको आँखामा डर छ। सबैको एउटै प्रश्न छ, ‘कोरोनाले के गर्‍यो गर्‍यो? कस्तो भाइरस हो यो?’ अस्पताल परिसरमा रहेका सर्वसाधारणको अनुहारमा त्रास र दिक्कारी मात्र देखिन्थ्यो मंगलबार साँझ।

triton college

देशैभरबाट आएका बिरामीका कारण कोभिड वार्ड र आईसीयू भरिभराउ छन्। बेड र उपचार पाउने आसमा कतिपय संक्रमित बरन्डामै कुरिरहेका छन्। इमर्जेन्सीमा पनि खचाखच छन् बिरामी। सबैको आस र सास बेड र अक्सिजनमा छ। बेड र अक्सिजन समयमा पाइँदैन, घण्टौं कुर्नुपर्छ। कोही डिस्चार्ज होलान् र बेड–अक्सिजन पाइएला भन्ने आसले संक्रमित भुइँमै लमतन्न छन्।

शिक्षण अस्पतालले गणेशमान सिंह भवन र मंगलादेवी बर्थिङ सेन्टरलाई कोभिड–१९ वार्ड बनाएको छ। दुवै भवनमा संक्रमित भरिभराउ छन्। बरन्डामा सुतिरहेका कतिपय संक्रमितको आडैमा सिलिन्डर ठडिएको छ, कसैको अनुहार छोपिने गरी लगाइएको अक्सिजन मास्कको पाइप भवन भित्रसम्म लत्रिएको छ।

‘बेड र अक्सिजनका लागि कति अस्पताल दौडायौं तर पाइएन। अन्तिममा पाँच घण्टा कुरेपछि यत्तिको पाइएको छ।’

corrent noodles
Metro Mart

बाहिरतिर एम्बुलेन्सुको ट्वाट्वाँबाहेक केही सुनिँदैन। बर्थिङ सेन्टर भित्रबाहिर गरिरहेकी निर्मला पौडेल भन्दै थिइन्, ‘बेड र अक्सिजनका लागि कति अस्पताल दौडायौं तर पाइएन अन्तिममा पाँच घण्टा कुरेपछि यत्तिको पाइएको छ।’ बरन्डामा सुतिरहेका संक्रमितको खोकी नरोकिँदा स्वास्थ्यकर्मी आएर पिठ्युँ सुम्सुम्याउँथे, ढाड थपथपाउँथे र टाउको मुसारिदिन्थे।

१० दिन जति भयो निर्मलाका काकालाई कोेरोना पोजेटिभ देखिएको। उनको स्वास्थ्य अवस्था मंगलबार साँझदेखि बिग्रिएको छ। उनलाई अक्सिजन चाहिने भयो। अक्सिजनका लागि उनीहरुले थुप्रै अस्पताल फोन गरे, आफन्त र चिनेजानेकालाई भने। तर, कतै नपाइएपछि उनी अत्तालिए। 

बेड र अक्सिजन खोेज्न एम्बुलेन्समा बिरामी राखेर मेडिकेयर अस्पताल, ओम अस्पताल, काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल पुगे। कहीं भेटिएन। बिरामी घुमाउँदै ज्यान जाने डरले उनीहरु अन्ततः शिक्षण अस्पताल पुगेका थिए। शिक्षण अस्पतालमा पौडेलका काकाले अक्सिजन त पाए तर बेड पाएनन्।

पाँच घण्टाको आँगन बसाइपछि उनले बर्थिङ सेन्टरको पहिलो तलामा बेड पाइयो। ‘आफन्त छटपटिएर मरेको हेर्नुपर्ने, बेड र अक्सिजनको आसमा ज्यानकोे बाजी थाप्नुपर्ने? कस्तो दर्दनाक अवस्था!’ उनी भन्छिन्।  बेड र अक्सिजन खोज्दाको पीडा र बेचैनी बयान गर्न सक्दिनन् उनी।  भन्छिन्, ‘अब त एम्बुलेन्सको आवाज सुन्दा पनि मुटु थर्किन्छ, अत्यास लाग्छ।’ वार्डभरि छरिएर रहेका संक्रमित देख्दा जोकोही डराउँछ, अत्तालिन्छ। अक्सिजनको अभावमा सयौंले ज्यान गुमाइसकेका छन्, सयौंको ज्यान जोखिममा छ।

राति साढे ८ बजेदेखि ११ बजेसम्म अस्पताल बस्दा यस्तै दर्दनाक दृश्य देखिए। अक्सिजन पाइने आसमा बसेकाहरु देख्दा लाग्छ– उनीहरु प्राणवायुको आशामा छन्, या त मृत्युको पर्खाइमा। 

सुर्खेतका शंकर रानाकी पत्नी कोभिड वार्डमा छिन्। उनलाई एक साताअघि कोरोेना देखिएको थियो। होम आइसोलेसनमै बसिरहेकी उनलाई सास फेर्न गाह्रो भएपछि सोमबार अस्पताल ल्याएका हुन रानाले। अक्सिजन र बेडका लागि गर्नुसम्म प्रयास गरे उनले। सयौंलाई फोन गरे। पाँच सातवटा अस्पताल चहारे। सबैतिरबाट एउटै जवाफ आयो–  बेड र अक्सिजन छैन।

‘पत्नीको यस्तो अवस्था कसरी टुलुटुल हेर्नु?’ शंकर भन्छन्, ‘सयौंलाई फोन र कैयौं अस्पताल चहार्दा पनि बेड र अक्सिजन नपाएपछि टिचिङ ल्याएको हुँ।’

‘पत्नीको यस्तो अवस्था कसरी टुलुटुल हेर्नु?’ शंकर भन्छन्, ‘सयौंलाई फोन र कैयौं अस्पताल चहार्दा पनि बेड र अक्सिजन नपाएपछि टिचिङ ल्याएको हुँ।’ उनी संक्रमित जीवित छँदासम्म मात्रै अक्सिजन चाहिने बताउँछन्।  बेड र अक्सिजनका लागि पाएको दुःख र अस्पतालमा सासको आसमा भड्किरहेका संक्रमित देख्दा मन पिरोलिने उनको भनाइ छ।

‘कहिले घर जान पाइएला जस्तो भइसक्यो। अक्सिजन र बेडको अभावमा मान्छे मरेको कति हेर्नु? शंकर भन्छन्, ‘अस्पताल र संक्रमितको अवस्था हेर्दाहेर्दै आफैं कमजोर भइसकें।’ एम्बुलेन्सले पनि अस्पताल पुग्नेबित्तिकै बिरामी झार्न पाउँदैन। केही बेर कुरेर अक्सिजन र बेड रहेको सुनिश्चित भएपछि मात्र झार्नुपर्छ।

करिब नौ बजे ट्रमा सेन्टरबाट संक्रमित बोकेर आएको एम्बुलेन्स  पौने एक घण्टा कुर्‍यो। कारण थियो बेड र अक्सिजन नपाउनु। एम्बुलेन्स चालक भन्दै थिए, ‘कस्तो आपत् आइलाग्यो न छोडेर जान मिल्छ न बोकेर।’ बिहानदेखि काठमाडौंका थुप्रै फन्का मारिससकेका छन् उनले। तर अहिलेससम्म आराम पाएका छैनन्। 

‘बिहानदेखि न खाना खान पाएको छु न पीपीई खोल्न’, ती चालक भन्छन्, ‘अस्पतालले बेड र अक्सिजन छैन भन्दाभन्दै पनि बाँच्ने र बचाउने आसमा दौडाइरहनुपर्छ।’ निकै थकित देखिन्थे उनी। ‘बिरामी बचाउन भागदौडमै कतिबेला आफैं गइन्छ थाहा छैन’, लामो सास लिँदै उनले गुनासो पोखे।

बरन्डामा १६ बेड राखिएका छन्। पूरै बरन्डा भरिएको छ। संक्रमितको खोकी र स्याँस्याँबाहेक केही सुनिन्न।  अक्सिजनको अभावमै पनि कतिपय संक्रमितलाई स्वास्थ्यकर्मीले बचाएका छन्। ट्रमा सेन्टरबाट आएका संक्रमितलाई बेडमा राख्दा उनी निकै अत्तालिए। 
उनको खोकी बढ्यो। बोेली लरबरायो। ज्यान ढल्न थाल्यो। दुई–तीन जना स्वास्थ्यकर्मी स्वास्थ्यकर्मी मिलेर उनलाई समाते।

नर्सले उनलाई नआत्तिन आग्रह मात्रै गरेनन, टाउको मुसारे, निधार छामे, पिठ्यूँ थपथपाए। कति सक्रिय स्वास्थ्यकर्मी र कति दयालु!
‘केही हुन्न, तपाईं डराउनु पर्दैन। छिट्टै निकोे भई घर फर्किनुपर्छ है’, नर्स भन्दै थिइन्। 

‘सास फेर्न निकै गाह्रो भएपछि अस्पताल ल्याएको हुँ। भगवान्सँग प्रार्थना छ छिट्टै घर जान पाइयोस्।'

बौद्धका आशिष रानामगर वार्डबाहिर यताउति गरिरहेका थिए। उनकी आमा कोेरोना वार्डमा उपचाररत छिन्। ‘सास फेर्न निकै गाह्रो भएपछि अस्पताल ल्याएको हुँ। भगवान्सँग प्रार्थना छ छिट्टै घर जान पाइयोस्’, उनी भन्छन्। राना, उनका बुवा र भाइ पनि कोरोना संक्रमित छन् यति बेला। होेम आइसोलेसनमै रहेका उनले आमालाई सास फेर्न समस्या भएपछि अस्पताल ल्याएको बताए।

‘कोरोना के हो मैले भाेगेको छु। परिवारले भोगेको छ। सबै सुरक्षित बसौं। ज्यान बचाउनु छ भने संयमित र सजग बनौं’, उनी भन्छन्।संक्रमितको कुरुवा बसेका आफन्तलाई भाइरसको डर छैन। उनीहरु संक्रमितकोे सेवामा खटिरहन्छन्। उनीहरुलाई जसरी पनि आफन्तको प्राण बचाउनु छ। ‘डरभन्दा ठूलो प्रेम र अपनत्व हो, संंक्रमित भयो भन्दैमा त कसरी छट्पटिँदै मरेको हेर्नु?’ कुरुवा निर्मला पौडेलले भनिन्।

प्रकाशित: May 12, 2021| 16:19 बुधबार, वैशाख २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।