पर्सा- पर्सामा हुण्डी कारोबार गरेको आरोपमा ८२ लाख ५० हजार रुपैयाँसहित ४ जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा बाराको महागढीमाई नगरपालिका वडा नम्बर ४ बस्ने १८ वर्षीय कलामुद्दिन अन्सारी, भारतको बिहारस्थित मोतिहारी पूर्वी चम्पारण घर भई हाल बीरगञ्जमा डेरा गरी बस्ने २७ वर्षीय विकास कुमार, भारतको बिहार, मोतिहारी जिल्ला पूर्वी चम्पारणका १८ वर्षीय साहिल गुप्ता र सोही ठाउँका २२ वर्षिय गुड्डु कुमार रहेका छन्।
विशेष सूचनाको अधारमा पर्सा प्रहरीले आदर्शनगर पानी ट्यांकी बस्ने विकास कुमारको फल्याटबाट ८२ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो।
निषेध आदेशको समयमा सीमा वारपार गर्नेहरु सक्रिय भएकाले स्रोत नखुलेको रकमसहित चार जनालाई पक्राउ गरिएको पर्साका प्रहरी उपरिक्षक बेलबहादुर पाण्डेले बताए। पक्राउ परेका चारै जनाविरुद्ध वित्तीय कसुरअन्तर्गतको मुद्दा चलाउने प्रहरीले जानकारी गराएको छ।