काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले वाग्मती प्रदेशसभाका सदस्य तथा नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य पशुपति चौलागाईंको निधनप्रति दुःख व्यक्त गरेको छ।
उनले आज विज्ञप्ति जारी गर्दै यस दुःखद् घडीमा चौलागाईंप्रति श्रद्धासुमन अर्पण गर्दै निधनबाट शोकमा परेका आफन्त, परिवारजन र शुभेच्छुकप्रति समवेदना प्रकट गरेका छन्।
एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले चौलागाईंको निधनबाट पार्टीले एक असल र निष्ठावान् नेता तथा दोलखाका जनताले इमान्दार जनप्रतिनिधि गुमाएको बताएका छन्।
कोभिड–१९ को संक्रमणले मंगलबार उनको निधन भएको थियो। उनले भद्र, शालीन, मिलनसार छवि बनाएका चौलागाईंले जनताप्रति समर्पित जनप्रतिनिधिको भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।
'एमालेको नेतृत्वमा भएको मुलुकको लोकतान्त्रिक, प्रगतिशील आन्दोलन र समृद्ध मुलुक निर्माणको अभियानमा उनले पुर्याएको योगदानलाई पार्टीले सधै स्मरण गर्नेछ', विज्ञप्तिमा उनले भने। चौलागाईं प्रतिनिधिसभा सदस्य, संविधानसभा सदस्य र तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघ नेपालको अध्यक्षसमेत रहेका थिए।