अर्थ समाज

साना व्यवसायीकाे पीडा : हात पसार्न पनि सकिँदैन, व्यापार पनि छैन

1623237652.AKY-Rajbiraj-CoronaLockdowna.jpg
गत वर्षकाे लकडाउनमा सुनसान राजविराज बजार, तस्बिर : रासस

सप्तरी- लकडाउनअघि युवा व्यापारी अरबिन्द दास दिनहुँ ४–५ हजार रुपैयाँको तरकारी बेच्थे। सप्तरीको राजविराज नगरपालिका–६ सिरहा रोडका ३९ वर्षीय दासले हटियामा बेचेको तरकारीबाट दैनिक सरदर १ हजार नाफा कमाइ गर्थे।

कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि वैशाख २५ गते मध्यरातदेखि सप्तरीमा सुरु भएको लकडाउनपछि हाटबजार बन्द छ। बजार बन्दले तरकारी बिक्री हुन छाडेपछि उनले तरबुज बिक्री गर्न थालेका छन्। ठूलो परिमाणमा किन्नुपर्ने तरकारी समयमै बिक्री नहुँदा कुहिने र प्रहरीले समेत हटियामा कडाइ गरेका कारण दासले तरकारी बिक्री गर्न छाडेर तरबुज बेच्न थालेको बताए। ‘बजार बन्द छ, सडक सुनसान छ, मानिसहरूको आवतजावत नभएकाले बिक्री पनि छैन’, उनले भने, ‘कुहिने डरले किनेकै दाममा पनि बेच्नु पर्ने हुन्छ भने कतिपय चिनेजानेकाहरूले त कम पैसा छाडेर समान लिएर जाने गर्छन्।’

तरकारी छाडेर तरबुज बिक्री गर्न थालेका दासले बिक्री बढाउन प्रतिकिलो २० देखि २५ रुपैयाँमा तरबुज बेचिरहेका छन्। छुट दिँदा पनि तरबुजको बिक्री नबढेको उनको भनाइ छ। ३/४ जना मिलेर एक ट्रयाक्टर तरबुज किन्ने गरेको उनले बताए। ट्रयाक्टरमा १५/१६ क्विन्टल हुन्छ। प्रतिकिलो १५ रुपैयाँ मोल पर्ने तरबुज समयमै बिक्री नहुँदा कुहिएर नष्ट हुन्छ। टोलहरूमा घुमाएर बिक्री गर्नका लागि उनले दैनिक ५० रूपैयाँ तिरेर भाडामा ठेलागाडा लिएका छन्। खाना खाएर ११ बजे ठेला गुडाउँदै घरबाट निक्लने उनी साँझ ६ बजे घर फर्किन्छन्। दिनभरिमा १ हजार रुपैयाँको तरबुज पनि बिक्री नहुने गरेको उनको दुःखेसो छ। यसले उनलाई ६ जना परिवारको पेट भर्न गाह्रो भएको छ। 

हाटबजारमा प्रहरीले बस्न दिदैन्। त्यसैले टोलको गल्लीमा ठेला राखेर बेच्ने प्रयास गरिरहेको उनले बताए। पोहोरको लकडाउनमा बजारमा तरकारी बिक्री गर्दा प्रहरीले कुटेको घटना स्मरण गर्दै उनले भने, ‘यसपटक प्रहरीको डरले बजारमा बस्ने हिम्मत गरेका छैनौं, प्रहरीले पनि टोलमा भिडभाड नगरी घुमेर बेच्नु, बजार नजानु भनेर सम्झाउने गरेको छ।’ दासका बुवा वीरेन्द्रप्रसादको १५ वर्षअघि राजविराज हटियामा किराना पसल थियो।

नजिकका नातेदारहरूले उधारो खाएर तिरेनन्, पछि हटियामै आगो लागेपछि किराना पसल छाडेको उनले सम्झिए। त्यसपछि अरबिन्दले कस्मेटिक पसल, किराना पसलमा काम गर्न थाले। सुरुमा ३०० रुपैयाँमा रोजगारी गर्न थालेका दासलाई पसलले मासिक पारिश्रमिकस्वरूप ५ हजार रूपैयाँसम्म दियो। विवाहपछि वृद्ध बुवाआमा र छोराछोरीको पालनपोषण गर्न ५ हजार रुपैयाँले न पुगेपछि आफ्नै व्यापार गर्ने भनेर तरकारी बिक्री गर्न थालेको उनले बताए। तरकारी बिक्रीबाट दैनिक ५०० देखि १ हजार रुपैयाँसम्म मुनाफा हुने गथ्र्यो। लकडाउनपछि तरकारी व्यापार नै बन्द भएको छ। 

उनको राजविराज बजारस्थित मुख्य सडकमै घर छ। आफ्नो फाँटमा परेको जम्मा २ धुर जग्गामा बनेको एउटा कोठामा बुवा, आमा, श्रीमति र छोराछोरीसहितको ६ जनाको परिवार बस्छन्। लकडाउन भए पनि सम्पन्नलाई फलफूल, तरकारी एवं खाद्यान्नको चिन्ता छैन। विभिन्न संघ-संस्था एवं मनकारी व्यक्तिहरूले विपन्न एवं सुकुम्बासीलाई राहत वितरण गरिरहेकाले उनीहरूलाई पनि समस्या नभएको दासको भनाइ छ। बजारमा घर भए पनि बहालमा बस्ने भए पनि सानोतीनो व्यवसाय गरेर अनि सबैथोक किनेर खाने वर्गको आर्थिक स्थिति लकडाउनमा नाजुक भएको छ। 

‘आम्दानी निश्चित नभएका हामीजस्ता वर्ग चाहिँ लडकाउनमा बढी पिल्सिएका छौं, सानोतिनो व्यापारकै भरमा सहरमा टिकेका छौं,अहिले त्यो पनि बन्द छ’ उनले भने, ‘बजारमा घर भएर के गर्नु, एउटा कोठामा ६ जना सुत्छौं, सबथोक किनेर खानु पर्छ। छोराछोरीलाई पढाउनै पर्‍यो। हात पसारेर माग्न पनि सकिदैन, व्यापार पनि छैन्।’

बिक्री कम भएकाले आम्दानीको टुङ्गो नभएका साना व्यापारीहरू लकडाउनको अवधि लम्बिदै जाँदा आत्तिएका छन्। दासझै बजारका साना चिया, नास्ता र होटेल व्यवसायी पनि तनावमा छन्। यो लकडाउनलाई थप नलम्ब्याउने गरी सरकारले संक्रमित, कोरोना लक्षण देखिएका र उनीहरूको सम्पर्कमा आएकाको तीव्र पहिचान र उपचार गर्नुपर्ने तथा खोपको व्यवस्था गर्नुपर्ने अरबिन्दकी आमा चण्डिका दासले बताइन्। 

नानीमैया कटवाल/रासस

प्रतिक्रिया दिनुहोस्
थप समाचार
लेखकबाट थप
ताजा अपडेट