काठमाडौं– पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तान सरकारले समयमै ध्यान नदिएको भए पाकिस्तानको अवस्था पनि भारतकै जस्तो हुने बताएका छन्। ‘समयमै स्वास्थ्य क्षमता र सेवा विस्तार नगरेको भए पाकिस्तानको हालत पनि भारतकै जस्तो हुन्थ्यो,’शुक्रबार खानले भनेका छन्।
उनले भारतमा कोरोेना भाइरसको संक्रमणले उग्र रुप लिएको भन्दै पाकिस्तानमाथि भने अल्लाहले कृपा गरेका कारण दुर्गति भोग्नु नपरेको बताए। ‘महामारीबाट बच्न सबैले मास्क लगाऔं, अहिले जुन अवस्था भारतमा छ, त्यस्तो अवस्था नआओस्,’ उनले भनेका छन्, ‘भारतमा अक्सिजन र बेडको अभाव र सडकमा छटपटिएर मृत्युवरण गरिरहेका छन्। यसबाट हामीले सिक्नुपर्छ।’
उनले कोरोनाको दोस्रो लहरसम्म पुग्दा अल्लाहले पाकिस्तानलाई साथ दिएको बताएका छन्। ‘कोरोनाको तेस्रो लहर अति घातक छ, हामीले स्वास्थ्य क्षमता दोब्बर नगरेको भए भारतकै जस्तो नाजुक अवस्था हुन्थ्यो। आउने दुई साता हाम्रो लागि निकै चुनौतिपूर्ण छन्। सबैले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरौं,’ उनले भनेका छन्।
भारतमा पछिल्लो २४ घण्टामा ४ लाख १४ हजार जना भाइरसका नयाँ संक्रमित फेला परेका छन् भने ३ हजार ९ सय १५ जनाको मृत्यु भएको छ।