बुुटवल– प्रदेशको अस्थायी मुकाम बुुटवल। लुम्बिनी प्रदेशको सबैभन्दा भरोसाको उपचार गर्ने अस्पताल यहिँ छ। प्रदेशको अस्थायी मुकाम भएकाले मुख्यमन्त्री, मन्त्री, सांसद र अन्य उच्च ओहोदाका व्यक्तिहरु यहिँ छन्। त्यतिमात्रै होइन, संघीय सरकारका अर्थमन्त्री विष्णुु पौडेलको निर्वाचन क्षेत्र पनि यहि हो।
नेपालकै पुरानो मध्येको बुटवल उपमहानगर, जसको भौतिक पूर्वाधार र जनशक्ति प्रदेश संरचना भन्दा बलियो छ। तर, यहि बुुटवल कोरोनाको दोस्रो लहरमा भने फिक्का सावित बनेको छ। कोरोना संक्रमित बिरामीले अस्पतालको दैलौ त टेक्छन् तर उपचार नपाएर प्राण त्याग्न बाध्य छन्। ठूलावडाहरुकै नगरमा कोरोना संक्रमितको उपचारका बारेमा भने कोही कसैले पहल लिएको देखिँदैन।
अस्पतालका शैयाबाट जीवन बचाउन अपिल गरेका नागरिकको आँसुले न स्थानीय सरकार न प्रदेश न त संघीय सरकारलाई नै छोएको छ। न त राजनीतिक मुद्दाका लागि सडक तताउने विपक्षी दल र तिनका नेताहरुलाई नै। एक प्रकारले सबै रमिते बनेका छन्। बरु सत्ताको झिनाझुम्टी गर्न व्यस्त छन्। लुम्बिनी प्रदेशमा यतिखेर सत्तासिन र विपक्षी दलहरु सत्ता राजनीतिको झगडामा व्यस्त छन्।
वैशाख १९ गतेदेखि त लुम्बिनी प्रदेशको राजनीतिले देश तातिरहेको छ। त्यो भन्दा बढी कोरोनाले थलिएका छन्, जनता। तर, प्राथमिकतामा सरकार र विपक्षी दुवैका लागि राजनीतिक दाउपेच नै छ। पुनः मुख्यमन्त्री बनेका शंकर पोखरेल दैनिक मन्त्रिमण्डल विस्तारमा व्यस्त छन्। मुख्यमन्त्रीमा सपथ लिएको चौथो दिनसम्म आइपुुग्दा मन्त्रीमण्डललाई १० सदस्यीय बनाएका छन्। सत्ता कसरी टिकाउने उनको चिन्ता त्यता केन्द्रीत छ। मुख्यमन्त्रीको आँखै अगाडि छ लुम्बिनी प्रादेशिक अस्पताल। संक्रमित बिरामी उपचार नपाएर रोइरहेका छन्। लुम्बिनी प्रादेशिक अस्पतालको कारुणिक अवस्थाबारे भने प्रदेश सरकारका मुख्यमन्त्री बेखबर जस्तै बनेका छन्।
नवलपरासी सुनवलका कोरोना संक्रमित एक वृद्ध अस्पतालमा शैया नपाएपछि अस्पताल बाहिरै पल्टिरहेका छन्। श्वासप्रश्वासमा समस्या छ। तुरुन्तै आइसियूूमा राख्नुपर्ने स्थिति छ। तर, बेड छैन।
बुटवलका ३५ वर्षिय एक कोरोना संक्रमित युुवा बेड खोज्दै अस्पतालमा भौंतारिहेका छन्। उनी भन्छन्, ‘आफ्नो सत्ता बचाउन जे पनि गर्ने नेताहरु कम्तीमा अस्पताल आएर जनता बचाइदिए हुन्थ्यो।’
यी त केहि प्रतिनिधि पात्र मात्र हुन्। लुम्बिनी प्रादेशिक अस्पतालको फिभर क्लिनिक र आकस्मिक कक्षमा पुुग्दा बिरामीको कारुणिक कथामात्रै छ। ‘कोभिड बिरामीलाई असरल्ल राखेर उपचार गर्नुपरेको छ,’ फिभर क्लिनिकका स्वास्थ्यकर्मी इन्द्र राईले भने, ‘स्थिति विजोग छ, हामी समेत असुरक्षित भएर सेवामा खटिएका छौं।’
आइसियूूमा राख्नुपर्ने बिरामी अस्पतालको भुुइँमा पल्टिरहेका छन्। पिपिई लगाएका नर्सहरु आत्तिएका बिरामी नजिक आउँछन्, अक्सिजन लगाइदिन्छन्। स्वास्थ्यकर्मीहरु चाहेर पनि यी विरामीलाई उपचार गर्न सक्दैनन्। ‘बिरामी छटपटिएको हामीले हेरेर बस्न त कहाँ सक्छौं, बचाउन पाए हुन्छ भन्ने लाग्छ,’ लुम्बिनी प्रादेशिक अस्पताल बुुटवलका वरिष्ठ फिजिसियन तथा कोभिड फोकल पर्सन डा. नन्दु पाठकले भने, ‘अस्पतालमा विजोग छ, बेड छैन, अक्सिजन छैन।’ उनका अनुसार कोरोना विशेष अस्पतालमा कसैको मृत्यु भएमात्रै बेड खाली हुने अवस्था छ।
लुम्बिनीको कोरोना विशेष अस्पतालमा १५ बेड आइसियूू, ३२ एचडियूू र ७ वटा फिभर क्लिनिक बेड छन्। यी सबै शैयाहरु भरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनालले बताए। ‘अस्पतालले थेग्नै नसकेपछि इमर्जेन्सीमा पनि कोभिड बिरामी राखिएको छ,’ मेसु खनालले भने, ‘बिरामी आत्तिँदै आउँछन्, भुुइँसमेत खाली छैन।’ कोरोना संक्रमण तिव्र रुपमा फैलिएको तर पूर्वाधार निर्माण भने चाहेर पनि बृद्धि गर्न नसक्ने उनको भनाइ छ। ‘विरामी भर्नाका लागि दैनिक सयौं फोन आउँछन्,’ उनले भने, ‘अब केहि उपाय नै छैन, सकभर व्यवस्थापन गरेकै छौं।’
प्रदेश सरकारले कोभिड बिरामीकै उपचारका लागि भनेर विशेष मानेको भैरहवास्थित भिम अस्पतालमा पनि अवस्था उस्तै छ। भिम अस्पतालका सूचना अधिकारी नारायण पोखरेलका अनुसार अस्पतालको ५ वटा आइसियूू र २७ बेड एचडियूू रहेकोमा सबै भरिएका छन्। भिम अस्पतालमा पनि बिरामीको चाप अत्यधिक भएपछि इमर्जेन्सी वार्डमा समेत संक्रमित बिरामी राखिएको सूचना अधिकारी पोखरेलले बताए। ‘बिरामीहरु भुुइँमै छन्, कोही गल्लीमै छटपटाइरहेका छन्,’ उनले नेपाल समयसँग टेलिफोनमा भने, ‘स्थिति भयावह छ।’
लुम्बिनी प्रदेशमा बुधबार अपरान्ह ४ बजेसम्म १४ हजार ३ सय २६जना सक्रिय कोरोना संक्रमित पुष्टि भएका छन्।
आइसियू बेड नपाएर मर्छन् बिरामी
प्रदेशका १२ वटै जिल्लाको आशा र भरोसाको अस्पतालका रुपमा लुम्बिनी प्रादेशिक अस्पताललाई लिइन्छ। तर, अस्पतालले बिरामी थेग्न नसक्दा स्वास्थ्ययकर्मीकै अगाडि भकाभक बिरामी मरिरहेका छन्। अस्पताल ल्याएर पनि अक्सिजनयुक्त बेडमा राख्न नपाउँदा संक्रमितले प्राण त्याग्नुपरेको छ। एक साताअघि (वैशाख १५) मा देवदह नगरपालिका–६ की ४९ वर्षीया महिलाको फिभर क्लिनिकमै मृत्यु भयो। आइसियूू कक्षमा लैजान बेड जोहो गर्दा कतै नपाएपछि ती महिलाले ज्यान गुमाइन्। उनी देवदह नगरपालिकाका एक वडाध्यक्षकी श्रीमती थिइन्।
देवदहका मेयर हिरा खत्रीले उपचारको अभावमा संक्रमित महिलाको मृत्यूु भएको बताए। उनी भन्छन्, ‘प्रदेश सरकारले एक वर्षको बीचमा एउटा बेड पनि थप्न सकेको रहेनछ,’ उनले भने, ‘आफ्नै आँखा अगाडि एक सहकर्मीको श्रीमतीको ज्यान जाँदा हामी मुकदर्शक बन्यौं।’
त्यसो त प्रादेशिक अस्पतालमा उपचार नपाएर मर्नेहरुको संख्या अरु पनि छ। अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले कोरोना विशेष अस्पतालमा बेड खाली नभएकाले फिभर क्लिनिकमै राखेर उपचार गरिएको बताए।
वैशाख १७ गते बुटवल उपमहानगरपालिका–११ का ८३ वर्षीय पुरुषले आईसीयू बेड नपाएर अस्पतालको आकस्मिक कक्षमै प्राण त्यागे। २४ घण्टासम्म आकस्मिक कक्षमा राखेर उपचार गरेर अन्तिम समयसम्म पनि आईसीयू बेड नपाउँदा उनको मृत्यु एको थियो। यसका साथै अन्य कैयौं बिरामी अस्पतालको गेटबाटै फर्केर घर पुुग्दा नपुुग्दै मर्नुपरेको छ।
मंगलबार राति र बुुधबार विहान पनि तीन पुुरुष र एक महिलाले आइसियू बेड नपाएकै कारण मर्नुपरेको छ। बुटवल उपमहानगरपालिका–१२ का ४७ वर्षीय पुरुष, कन्चन गाउँपालिका–४की २७ वर्षीय महिला, बुटवल–९ की ५४ वर्षीया महिला र तिलोत्तमा नगरपालिका–४ की ४० वर्षीया महिलाको मृत्यु भएको अस्पतालका सूूचना अधिकारी डा. विष्णु गौतमले बताए। उनी भन्छन्, ‘अस्पतालले थेग्नै सकेको छैन, चाहेर पनि बचाउन सकिएको छैन।’
प्रदेश सरकार नियन्त्रणमै जुटेको छ : मन्त्री चौधरी
लुम्बिनी प्रदेश सरकारले भने कोभिड नियन्त्रणमा अस्पतालहरुलाई प्रशस्त सहयोग गरेको दावी गरेको छ। सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले अस्पतालका लागि छुट्टै अनुदान र सिमाबाट आएकाहरुलाई होल्ड गर्नका लागि अनुदान दिने मन्त्रिपरिषदले निर्णय गरेको जानकारी दिए। सरकारले दोस्रो लहर शुरु भएसँगै चार वटा कोरोना विशेष अस्पताललाई १ करोड ७५ लाख रुपैयाँ अनुदान दिने र भर्खर फेरि जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रलाई पनि बजेट दिने निर्णय गरेको मन्त्री चौधरीले बताए।
उनका अनुुसार बुुधबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो। सिमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्ने गरी रकम उपलब्ध गराइएको उनले बताए।
उनले सरकारले कोभिडको उपचारका लागि जनशक्ति अभाव पूर्ति गर्न करिब ६ सय जनाको कोभिड विशेष दरबन्दी थप गर्ने निर्णय गरेर कार्यान्वयनमा लगेको समेत बताए। उनले दोस्रो लहरको संक्रमण दर बढी भएकाले एक्कासि समस्या देखिएको बताए।