काठमाडौं– सत्तारुढ दल नेकपा (एमाले) र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुबीच बूढानीलकण्ठमा छलफल जारी छ।
कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा जारी दुई दलका शीर्ष नेताहरुको छलफलमा एमालेका तर्फबाट अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली, उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा र अर्थमन्त्री विष्णु पौडेल सहभागी छन्।
त्यसैगरी कांग्रेसका तर्फबाट सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधी, महामन्त्रीद्वय डा. शशांक कोइराला र पूर्णबहादुर खड्का तथा सहमहामन्त्री डा. प्रकाशशरण महत छन्।
प्रधानमन्त्री ओलीले यही वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएका बेला भएको भेटलाई महत्वका साथ हेरिएको छ। कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत लिनबाट रोक्न माओवादी, जसपाको उपेन्द्र यादव पक्ष र एमालेकै माधव नेपाल पक्षसँग छलफल गरिरहेको छ। कांग्रेसको पदाधिकारी बैठकले ओलीलाई विश्वासको मत नदिने निर्णय गरिसकेको छ।
जेठ ६ गते तय गरिएको बागमती प्रदेशतर्फको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचनमा एमालेले रामबहादुर थापालाई उम्मेद्वार बनाउने निर्णय गरेको छ भने विपक्षी गठबन्धनले डा. खिमलाल देवकोटालाई अघि सार्ने भएको छ। आजको भेटमा यसबारे पनि छलफल हुने बताइएको छ।