काठमाडौं- नेपाली कांग्रेसले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि देशव्यापी सचेतना अभियान सञ्चालन गर्ने भएको छ। सभापति शेरबहादुर देउवाले शुक्रबार पत्रकार सम्मेलन गर्दै कोरोना रोकथाम र नियन्त्रणका लागि देशभरका पार्टी संरचनालाई सचेतना अभियानमा खटाउने बताएका हुन्।
‘अनिवार्य मास्क लगाउने, साबुनपानीले हात धुने र दुरी कायम गराउन सचेतना अभियान सञ्चालन गर्न देशभरका पार्टी संरचनालाई क्रियाशील गराइने छ,’ उनले भने।
यस्तै कांग्रेसले निषेधाज्ञाका कारण आर्थिक समस्यामा परेकाहरूलाई सहयोग अभियान संचालन गर्नेसमेत बताएको छ।
विदेशी देशहरुसँग खोप उपलब्ध गराउन आग्रह गरिसकिएको बताउँदै देउवाले अमेरिकाले नेपाललाई खोप दिने निर्णय गरेको बताए। उनले अमेरिकाको निर्णयको स्वागतसमेत गरेका छन्। उनले अन्य देशहरुलाई समेत खोप उपलब्ध गराउन आग्रह गरेका छन्।